अफगानिस्तान संकट

काबुलमा अमेरिकाले गर्‍यो ड्रोन आक्रमण, निशानामा ‘आइएस–के’का सम्भावित आक्रमणकारी

काबुल विमानस्थलमा अहिले पनि अमेरिकी सैनिकको नियन्त्रण छ । तर उनीहरु अगस्ट ३१ मा फर्किँदै छन् । तस्बिर : गेट्टी इमेज

अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा ड्रोन आक्रमण गरेको छ । अर्को गम्भीर र घातक आतंकवादी आक्रमण रोक्नका लागि ड्रोन प्रहार गरिएको अमेरिकी सैनिक अधिकारीले बताएका छन् ।

इस्लामिक स्टेटको अफगान समूह आइएस–के का कम्तीमा एक व्यक्ति सवार सवारी साधनलाई निशाना बनाएर ड्रोन आक्रमण गरिएको अमेरिकी सेन्ट्रल कमाण्डले जनाएको छ । ती व्यक्ति सम्भावित आक्रमणकारी रहेको अमेरिकी दाबी छ ।

यसैबिच अमेरिकाले गरेको ड्रोन आक्रमणमा एकै परिवारका ९ सदस्य मारिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । मारिनेमा ६ बालबालिका रहेको बताइएको छ ।

अमेरिकी सेन्ट्रल कमाण्डका प्रवक्ताले ड्रोन आक्रमणका कारण सर्वसाधारणको ज्यान गएको हुन सक्ने बताएका छन् । आफूहरुले गरेको आक्रमण भन्दा पनि निशाना बनाइएको आइएस–के को सवारी साधानमा रहेको विस्फोटक पदार्थका कारण भएको बिस्फोटले क्षति भएको हुन सक्ने भनाई छ ।

अमेरिकाले यसअघि फेरि पनि गम्भीर आतंकवादी आक्रमणको जोखिम रहेको भन्दै चेतावनी दिएको थियो ।

गएको बिहीबार काबुल स्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको गेट नजिकै भिडभाडमा आत्मघाती बम आक्रमण हुँदा १३ अमेरिकी सैनिकसहित कम्तीमा १७० जनाको ज्यान गएको थियो । सो आक्रमणको जिम्मा आइएस–के ले लिएको थियो ।

आइएस–के बाट थप आक्रमणको जोखिम रहेको अमेरिकाले बताउँदै आएको छ । जोखिम रहे पनि अन्तिम समयसम्म उद्धारको काम भने जारी राख्ने अमेरिकाले बताएको छ ।

सोही अनुसार अहिले पनि उद्धारको काम चलिरहेको छ । अगस्ट ३१ सम्ममा सबै विदेशी सैनिक फिर्ता हुने यसअघि सहमति अनुसार नै काम भइरहेको जनाइएको छ ।

अगस्ट १५ मा अफगानिस्तान तालिबानको कब्जामा गएको थियो । त्यसयता विभिन्न देशले आफ्ना सैनिक, कूटनीतिक कर्मचारी, नागरिक तथा सहयोगी अफगानहरुको उद्धार गर्दै आएका छन् । तर अझै पनि देश छोड्न चाहने, जोखिममा रहेका धेरै अफगानीहरु भने छुट्ने भएका छन् ।

भदौ १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्