नजाँची कोलेस्ट्रोल बढेको थाहै हुँदैन, एकैपटक हृदयाघातसम्म हुनसक्छ

डा. प्रकाश राज रेग्मी।

काठमाडौँ– रगतमा कोलेस्ट्रोल हुनु सामान्य कुरा हो। तर यसको मात्रा बढ्नु भनेको शरीरमा समस्या निम्तिनु हो।

शरीरमा अतिरिक्त कोलेस्ट्रोल जम्मा भएमा वा रगतमा कोलेस्ट्रोलको मात्रा उच्च भएमा यसले मुटु सम्बन्धी गम्भीर समस्या निम्त्याउने गर्छ। यसबाट हृदयाघातको सम्भावनासमेत बढ्ने गर्छ। यसको नियन्त्रणका लागि विभिन्न उपाय अवलम्बन गर्नुपर्छ।

यसै सन्दर्भमा हामीले हृदयाघातका लक्षण, कारण तथा समाधानका बारेमा मुटु रोग विशेषज्ञ डा.प्रकाश राज रेग्मीसँग कुराकानी गरेका छौँः

१) कोलेस्ट्रोल भनेको के हो? यो कसरी हुन्छ?

– कोलेस्ट्रोल भनेको हामी सबैले सुनेको कुरा हो। तर धेरैले कोलेस्ट्रोलबारे बुझ्नुभएको छैन। धेरैको दिमागमा के परेको छ भन्दा कोलेस्ट्रोल भनेको मुटुको लागि एकदम खतरनाक चिज हो, कोलेस्ट्रोल बढ्यो भने मान्छेलाई हार्ट अटयाक हुन्छ भन्ने खालको कुरा सुन्नुभएको छ। केही हदसम्म यो सही पनि हो तर कतिपय कुरामा यसलाई गहिरिएर बुझ्नुपर्छ। कहिलेकाहीँ हामी गलत पनि हुन्छौँ।

जस्तो कोलेस्ट्रोल भनेको चिल्लो पदार्थ हो। चिल्लो पदार्थहरु घिउ, बोसो, मासु, अन्डाको भित्रको पहेँलो भाग लगायत सबैमा कोलेस्ट्रोल हुन्छ।

२) कति प्रकारका हुन्छन् कोलेस्ट्रोल?

– कोलेस्ट्रोल पनि २–३ किसिमका हुन्छन्। एक किसिमको कोलेस्ट्रोल भनेको गुड कोलेस्ट्रोल हो। यो शरीरमा धेरै भएको राम्रो हुन्छ।

गुड कोलेस्ट्रोल भनेको राम्रो कोलेस्ट्रोल हो। राम्रो कोलेस्ट्रोल ओखर, बदाम, त्यस्तै प्रकारले बिँयाहरु भयो, सुर्यमूखीको बिँयाहरु तथा माछामा गुड कोलेष्ट्रोल पाइन्छ।

यस्तै मान्छेले व्यायाम गर्दाखेरि गुड कोलेस्ट्रोल बढ्न सक्छ। यसलाई शरीरमा बढाउनुपर्छ। यो बढायो भने हृदयघात हुने सम्भावना कम हुन्छ।

त्यस्तै अर्को ब्याड कोलेस्ट्रोल हो। यो त्यस्तो किसिमको कोलेस्ट्रोल हो, जुन हाम्रो रगतमा बढ्यो भने त्यसले मुटुको रक्तनलीभित्र गएर तथा शरीरका रक्तनली जहाँ–जहाँ छन् त्यहाँ गएर जम्छ।

तर गुड कोलेस्ट्रोलले चाहिँ जमेको ब्याड कोलेस्ट्रोललाई हाम्रो शरीरबाट निकाल्छ। ब्याड कोलेस्ट्रोल शरीरको रक्तनलीभित्र जम्छ, गुड कोलेस्ट्रोलले चाहिँ जमेको ब्याड कोलेस्ट्रोललाई हाम्रो शरीरबाट निकालेर सफा गर्छ।

 

ब्याड कोलेस्ट्रोल धेरैजसो चिल्लो पदार्थ विशेषगरी बोसो, धेरै घिउ खायो भने पनि ब्याड कोलेस्ट्रोल बढ्न सक्छ।

सबैभन्दा नराम्रो त हामीले तेल तथा घिउलाई पनि तताएर, त्यो तताएको चिल्लोमा धेरै पकायौँ भने त्यसमा ब्याड कोलेस्ट्रोल आउँछ। त्यसैले ब्याड कोलेस्ट्रोल शरीरमा जतिसक्दो कम भएको राम्रो। यो धेरै भएपछि खतरा हुन्छ।

– त्यस्तै अर्को कोलेस्ट्रोल ट्रान्स फ्याट हो। यो ट्रान्स फ्याट भनेको ब्याड कोलेस्ट्रोल भन्दा पनि अझै ब्याड। यो चाहिँ धेरै तताएको चिल्लोबाट निक्लन्छ, एउटा कुरा।

अर्को कुरा, हाम्रो यो उद्योगहरुबाट जुन तयारी खानाहरु बन्छ, प्याकेटमा राखेको वाला, चाउचाउ भयो, विस्कुट भयो, चिजबल्सहरु भयो, दालमोटहरु भयो, यी खानेकुराहरुमा जुन चिल्लो मिसाइएको हुन्छ यसमा चाहिँ धेरै ट्रान्स फ्याट हुन्छ।

यसले ब्याड कोलेस्ट्रोललाई पनि बढाउँछ र यो ट्रान्स फ्याट आफैँ पनि हानिकारक छ। मुटुमा मात्र हैन कि यसले हाम्रो कलेजोमा, दिमागमा, हाम्रो पेटमा, धेरैतिर नराम्रो असर गर्छ।

र यस्तो खालको ब्याड कोलेस्ट्रोल र ट्रान्स फ्याटले हृदयघात, मस्तिष्क घात, क्यान्सर, सुगरजस्ता रोगहरु निम्त्याउँछ।

त्यसैले के बुझौँ त भन्दाखेरि गुड कोलेस्ट्रोल शरीरलाई चाहिन्छ, ब्याड कोलेस्ट्रोल शरीरलाई जति कम भयो त्यति राम्रो र यो ट्रान्स फ्याट त शरीरमा हुनु नै भएन।

त्यसको अतिरिक्त पनि हाम्रो शरीरमा ट्राइग्लाइसेराइड भन्ने एक किसिमको कोलेस्ट्रोल हुन्छ। यो ट्राइग्लाइसेराइड भनेको एक किसिमको तेल हो। तेलबाट नै यो शरीरमा आउँछ। र अर्को कुरा शरीरमा यो गुलियो खानेकुराबाट पनि आउँछ।

चिनी, मैदा, कार्बोहाइड्र‍ेड डाइट लगायतबाट आउँछ। धेरै मान्छेहरुलाई यो कुरा थाहा हुँदैन। र यो चाहिँ त्यति धेरै खतरनाक हुँदैन, यसले मुटुलाई खासै धेरै असर पार्दैन।

त्यसैले यसलाई समराइज गरेर छोटकरीमा भन्ने हो भने कोलेस्ट्रोल धेरै किसिमका छन् शरीरमा। गुड, ब्याड, ट्रान्स फ्याट र ट्राइग्लाइसेराइड।

यो सबैको आफ्नो आफ्नो भूमिका छ। गुड कोलेस्ट्रोललाई बढाउनेतिर लाग्नुपर्छ। त्यही किसिमको खाना खाने, व्यायाम गर्ने र सबैभन्दा राम्रो गुड कोलेस्ट्रोल बढाउनको लागि एक्सरसाइज गर्ने।

हरियो सागपात, फलफूल, गेडागुडी, माछा खायो भने चाहिँ गुड कोलेस्ट्रोल हुन्छ। ब्याड कोलेस्ट्रोल चिल्लो, बोसो र ट्राइग्लाइसेराइड गुलियोबाट आउँछ।

चिल्लो हुनेबित्तिकै यसले शरीरमा उर्जा दिन थाल्छ। यसले धेरै क्यालोरी दिन्छ। धेरै उर्जा दिएपछि हामीलाई काम गर्न सजिलो हुन्छ। शरीरमा धेरै चिल्लो पर्‍यो तर त्यो खर्च भएन भने हाम्रो शरीरमा बोसो लाग्छ।

शरीरमा बोसो लागेपछि त्यो बोसोले हार्टअट्याक, स्ट्रोक, डायबेटिज, ब्लड प्रेसर गराउने हुन्छ।

हामीलाई शरीरमा जति चाहिने हो क्यालोरी त्यसको एक तिहाइ मात्रै आउनुपर्छ चिल्लोबाट। कुनै व्यक्तिलाई १८ सय क्यालोरी चाहिन्छ एकदिनमा भने उसलाई ६०० क्यालोरी मात्रै चिल्लो पदार्थबाट आउनुपर्छ।

तर हामीले यति धेरै चिल्लो खाएका हुन्छौँ कि ६०० हैन कि झण्डै १८०० क्यालोरी नै हामीलाई आएको हुन्छ।

नचाहिने जति सबै विशेषगरी सबैभन्दा पहिला पेटमा जम्मा हुन्छ। त्यसपछि अरु भित्रभित्र जम्मा हुन्छ र त्यसले हानी गर्छ।

त्यसैले चिल्लो पदार्थ जतिसक्दो कम खानु राम्रो हुन्छ। र त्यसमा पनि गुड कोलेस्ट्रोल खानुपर्छ।

वनस्पति तेलहरु पनि गुड कोलेस्ट्रोलको स्रोत हो। तर चिल्लो वनस्पति तेलहरुलाई पनि धेरै तताउने बित्तिकै ट्रान्स फ्याटमा चेन्ज हुन्छ।

एउटा सिद्धान्त के छ भने चिल्लोलाई जतिसक्दो कम तताएर प्रयोग गर्नुपर्छ। जति चिल्लोलाई बढी ततायो त्यो चिल्लो बिग्रन्छ र त्यो ब्याड कोलेस्ट्रोलमा चेन्ज हुन्छ र त्यो ट्रान्स फ्याट हुन्छ।

चिल्लोलाई नतताइ प्रयोग गर्नु भयो भने कम हानी गर्छ। चिल्लोलाई धेरै तताएर प्रयोग गर्नुभयो भने बढी हानी गर्छ। चिल्लो त चिल्लो नै हो।

अब घिउकै कुरा गरुम् न। मैले त के भन्छु– एक चम्चा घिउ सबले खानुस् भन्छु। मुटुको रोगीले पनि एक चम्चा घिउ खाएर खास फरक पर्दैन यदी व्यायाम गर्नुहुन्छ भने।

तर त्यही घिउलाई बेस्करी तताएर खायो भने फेरि त्यसले हानी गर्न सक्छ। त्यही एक चम्चाको सट्टा ५ पल्ट दिनमा घिउ खान थाल्यो भने फेरि त्यसले हानी गर्न सक्छ। त्यसैले सन्तुलित मात्रामा हामीले चिल्लोको प्रयोग गर्दाखेरि शरीरलाई खास हानी हुँदैन।

र त्यो पनि हामीले स्वस्थ प्रकारको, राम्रो प्रकारको चिल्लो प्रयोग गर्नुपर्छ। धेरै तताएको चिल्लो प्रयोग गर्नु हुँदैन। र फ्याक्ट्रिबाट बनेर आएका तयारी खानामा भएको चिल्लो त हामीले प्रयोग गर्नै हुँदैन।

मुटुको लागि यो धेरै नै हानिकारक छ। चिल्लोलाई घटाउनु छ शरीरबाट भने जतिसक्दो धेरै व्यायाम गर्नुपर्छ। हरियो सागपातले, फलफूलले, गेडागुडीले र व्यायामले शरीरमा भएको कोलेस्ट्रोललाई तथा बोसोलाई घटाउन मद्दत गर्छ।

३) यसका लक्षणहरु के—के हुन्?

– कोलेस्ट्रोलको केही पनि लक्षण हुँदैन। मान्छेलाई थाहा नै हुँदैन कोलेस्ट्रोल भएको। तर कोलेस्ट्रोल धेरै बढेको रहेछ भने उसलाई हृदयघात हुने सम्भावना धेरै हुन्छ।

त्यसैले रगमा कति कोलेस्ट्रोल छ भनेर जाँच्नु आवश्यक हुन्छ। वर्षमा एकपल्ट त मानिसले जाँच्नैपर्छ। २०–२५ वर्षको उमेर पार गरिसकेपछि त झन् जाँच्नै पर्छ।

र जो मान्छेको परिवारमा हार्ट अट्याक भएको छ, जसलाई हृ दयघातको जोखिम बढी छ, जस्तै मोटो मान्छेहरु भयो, सुर्ती, जाँड, रक्सी खाने मान्छे भयो, यस्ता खालकाहरुले चाहिँ कम्तिमा पनि ६ महिनामा एकपल्ट जचाउँनु पर्छ।

अर्को कुरा आँखीभौँ र परेलीमाथिको भागमा सेतो सेतो दाग, पहेँलो दाग बसेको हुन्छ धेरै जनाको। त्यस्तो खालको दाग यदी छ भने त्यो कोलेस्ट्रोल बढेको हुन्छ।

त्यस्तै प्रकारले पेटमा धेरै बोसो लाग्या छ, घाँटीको पछाडि बोसो लाग्या छ, चिउँडोमा धेरै बोसो लागेर ‘डबल चिन’ भाको छ भने पनि कोलेस्ट्रोल भएको हुन्छ। त्यसैले यी मान्छेको मोटामोटी रुपमा जीउडाल हेरेर भए पनि बढेको थाहा पाउन सकिन्छ।

लक्षणहरु थाहा हुँदैन, जबसम्म हृदयघात गराउँदैन। तर कसैकसैलाई चाहिँ दुब्लो पातलो मान्छेलाई पनि कोलेस्ट्रोल देखिन सक्छ। यो वंशानुगत कारणले गर्दा हो।

जेनेटिक रुपमा नै त्यस्तो किसिमको जीनहरु हुन्छ, त्यस्तो मानिसहरुले कोलेस्ट्रोललाई पचाउनै सक्दैन। भनेपछि अलिअलि चिल्लो खाएपनि उसको शरीरमा कोलेस्ट्रोल बढेको हुन्छ। त्यस्तो मानिसहरुलाई धेरै जोखिम हुन्छ।

त्यो रगत जाँचेपछि मात्र थाहा हुन्छ। रगत जाँचेपछि दुब्लो, पातलो मान्छेको, जवान मान्छेको पनि एकदमै अस्वभाविक रुपमा धेरै नै कोलेष्ट्रोल बढ्छ। त्यसो हुनाले समयमै जचाउनुपर्छ हैन भने हृदयघात हुन्छ।

४) कसरी घटाउन सकिन्छ कोलेस्ट्रोल?

– एउटा त खानपिन भयो। चिल्लो खान कम गर्नुपर्‍यो, हरियो सागसब्जी, फलफूल, गेडागुडी खानुपर्‍यो।

अर्को कुरा व्यायाम गर्नुपर्‍यो, व्यायामले पनि कोलेस्ट्रोललाई घटाउन मद्दत गर्छ। मोटोपन घटाउनु पर्‍यो, मोटोपन घट्यो भने पनि शरीरको बोसो काटिन्छ, कोलेस्ट्रोल घट्छ।

त्यसपछि चुरोट खाने मान्छेहरुमा पनि चुरोट छोड्यो भने पनि कोलेस्ट्रोल घट्छ।

त्यस्तै अर्को थाइराइड भएका व्यक्तिहरुको पनि कोलेस्ट्रोल बढ्छ, त्यसैले थाइराइडको उपचार गर्‍यो भने कोलेस्ट्रोल घट्छ।

र यी सबै कुरा गर्दा पनि भएन भने औषधि खानुपर्छ। कोलेस्ट्रोल घटाउने औषधि पाइन्छ, औषधि खायो भने पनि यसलाई नियन्त्रणमा राख्न सकिन्छ।

औषधि चाहिँ मानिसको केस हेरेर हुन्छ। कस्तो रोग छ, कस्तो जीउडाल छ, शरीरमा उसको अरु रोगको स्थिति के छ, जोखिम कत्तिको छ, त्यो हेरेर कोलेस्ट्रोलको औषधि खुवाउने कि नखुवाउने, खाएपनि कुन मात्रामा खुवाउने डाक्टरले निर्धारण गर्छ।

त्यसैले कोलेस्ट्रोलको औषधि खानेबारेमा, डोजको बारेमा एकदम स्पष्ट निर्देशिका छ, विशेषरी मुटु रोग विशेषज्ञलाई थाहा हुन्छ यो कुरा।

रगतमा कति कोलेस्ट्रोल छ, त्यो हेरेर हिजोआज कोलेस्ट्रोलको उपचार गरिँदैन। कसैलाई रगतमा कोलेस्ट्रोलको मात्रा नर्मल छ, सामान्य छ भनेपनि उसलाई कोलेस्ट्रोलको औषधि खानुपर्ने हुन्छ। त्यो मान्छे हेरिकन, केस हेरिकन हुन्छ।

भदौ १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्