तीज गीत

जब ज्योति मगरलाई आमाको यादले पिरोल्यो…

उनको स्वभाव खासै घोत्लिएर गीत बुन्ने, कम्पोजिसन गर्ने छैन, उनलाई जतिबेला मुड आउँछ, त्यतिबेला शब्द सिर्जना हुन्छ। हिन्दु महिलाहरुको महान चाड ‘तीज’ आउनै लागेको छ।

अवस्था सामान्य हुन्थ्यो भने ज्योति मगरलाई म्युजिक भिडियोमा नाच्न र गीतमा स्वर भर्न नै भ्याइनभ्याई हुन्थ्यो। गएको वर्षदेखि यो वर्षसम्म विश्वव्यापि महामारी ‘कोभिड–१९’ ले एकतमासमा चलिरहेको जीवनको गतिलाई सुस्त बनाइदिएको छ। त्यसैको प्रभावले ज्योति पनि धेरै व्यस्त छैनन्।

काँडाघारीको निवासमा बस्दैगर्दा उनलाई रोल्पामा बसेकी आमाको स्मरण आउँछ। ‘झल्यास्स’ हैन, छाती नै पोल्ने गरी। पहिलो लकडाउनमा आमासँगै लुटपुटिएकी मगर कर्मथलो फर्केको धेरै भयो।

आमालाई भेटै नहुने त हैन तर धित मर्नेगरी भेट्न जान पाएकी छैनन्। आमाको यादमा मनमा छाल उर्लेर आयो, त्यसपछि आफ्ना मनका भावहरुलाई उनले कापीमा उतार्छिन्, ‘माइतीको मया बरिलै!’

शनिबार विवाहपछि माइती जान नपाएकी एउटी चेलीको मुटु दुखेको कथा समेटेर ज्योति मगरले गीत सार्वजनिक गरिन्। उनकै शब्द, संगीतमा बनेको यो गीतको भिडियो पनि मार्मिक छ। उनी आफैँ भिडियोमा अभिनय गर्दै देखिएकी छन्।

‘कोरोनाले गर्दाखेरि धेरै लामो समय आमासँग टाढा बसियो, यसपालि पनि कोरोनाले गर्दा तिज मनाउने वातावरण पनि छैन। माहोल नै अर्कै भएर म अलि भावुक भए अनि गीत रचेको हुँ,’ ज्योतिले गीत लेख्दाको सम्झना सुनाइन्, ‘गीत यति राम्रो बन्ला भन्ने चाहिँ लागेको थिएन।’

साँगीतिक क्षेत्रमा आएको कयौँ वर्ष भईसक्यो, अहिलेसम्म सयौँ गीतसँग जोडिएकी ज्योतिलाई लेखेर कम्पोज गरिसकेपछि पनि यति राम्रो लाग्यो, मोबाइलमा बजाएर नै सुन्ने गरिन्।

‘आफूले गाएको गीत कुनै कुनै मात्र सुन्थे, तर यो गीत मैले मोबाइलमा बजाएर सुत्ने गर्छु,’ उनले भनिन्, ‘अरु रोम्यान्टिक गीतहरु त ‘रेकर्डिङ, मिक्सिङ, मास्टरिङ, भिडियो एडिट हुँदासम्म मात्रै सुन्ने हो। गीत सार्वजनिक भएपछि सुन्दिनथे।’ ज्योतिले आमालाई सम्झेर लेखेको गाएको गीत उनकी आमाले भने सुनेकी छैनन् भन्छिन् ज्योति, ‘कल्ले सुनाइदियो होला र !’

यो गीत ज्योतिको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको छ। १५ हजार सस्क्राइबर भएको उनको च्यानलमा यो गीतलाई झण्डै ५० हजार मानिसहरुले हरेका छन्। अहिलेसम्म ज्योतिको यो च्यानलमा ३ ओटा मात्र गीत अपलोड भएका छन्। यसभन्दा अगाडि अपलोड ज्योतिको ‘हट’ अवतार प्रस्तुत भएका गीतको भ्यूज ५० लाख र ५५ लाखको हाराहारीमा छ।

ज्योतिलाई गीतहरुमा आउने भ्यूज अनि प्रतिक्रियाहरुको अनुभव यस्तो छ, ‘पहिला पहिला अरु गीत गर्दाखेरी जसरी भ्यूज जान्थ्यो, विवाद हुन्थ्यो, तँछाडमछाड गर्ने गाली गर्नेको घुइँचो हुन्थ्यो, त्यो अहिले पक्कै पनि छैन। तर जतिले सुन्नुभएको छ, मनपराइदिनु भएको छ।’

ज्योति खुसी छिन्, जुन भावमा गीत लेखिएको थियो, भिडियो बनाइएको थियो, त्यो अनुसार सुन्नेहेर्नेले प्रतिक्रिया दिइरहेका छन्। उनका वरपर ‘ज्योतिले यस्तो गीत पनि निकालेछ’ भन्नेहरु पनि छन्। एक दर्शकले ‘ज्योतिको सप्राइजवाला सिर्जनाले मन छोयो’ भनेर लेखेका छन्।

तर विरह, वेदनाको भावमा बनेको यो गीत ज्योतिको पहिलो प्रस्तुति होइन।

‘मैले पहिलो एल्बममा नै विरहका गीत थियो, ‘बरु मलाई रुखो बचन लाउ’, दोस्रो एल्बमको ‘जहाँ गए नि ठक्कर खाएर’ को भिडियो पनि गरेको छु। अनि यस प्रकारका गीतहरु गाउँदा खासै राम्रो प्रतिक्रियाहरु आएन,’ ज्योति भन्छिन्, ‘अनि मैले व्यावसायिक रुपमा ‘रोम्यान्टिक’ गीतहरु गर्न थालेको हो। त्यही नै दर्शकलाई मन पर्‍यो, मैले त्यही चिजलाई निरन्तरता दिए। बिस्तारै त्यस्तै गीतहरुमात्रै अफर आउन थाल्यो।’

आफूलाई गर्न पर्छ जस्तो लागेको कुरालाई उनले गरिरहने तर कुन कुरा दर्शक, श्रोतालाई मन पर्छ भन्ने कुरा नै हो। यो भन्दा अगाडि उनले गाएको ‘मैले त टिपन सकिन खाइन बरीलै’, ‘जान्न बाबा जान्न म त तिम्रो ज्वाईको घर जस्ता’ थुपै गीतहरु छन्।

मगरको ‘माइतीको मया बरीलै’ गीतको भिडियोलाई स्मृति तिमल्सिनाले निर्देशन गरेकी हुन्। अजय रेग्मी खिचेको यो भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका छन्। गीतमा ज्योतिसँगै रितिका कुँवर, शेर बहादुर डाँगी क्षेत्री र गंगा मगरको अभिनय रहेको छ।

भदौ १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्