कोरोनाको उच्च जोखिम भएका देशका खेलाडीलाई म्यान युनाइटेडले ‘रिलिज नगर्ने’, काभानीलाई उरुग्वेले बोलाएन

म्यानचेस्टर युनाइटेडले कोरोना महामारीको उच्च जोखिम ‘रेड लिस्ट’मा रहेका देशका खेलाडीलाई विश्वकप छनोटका लागि ‘रिलिज’ नगर्ने घोषणा गरेपछि उरुग्वेले एडिन्सन काभानीबिनै राष्ट्रिय टोलीको घोषणा गरेको छ।

उरुग्वेले सेप्टेम्बरको पहिलो साता विश्वकप फुटबलअन्तर्गत दक्षिण अम‍िरकी महादेशको छनोटका ३ खेल खेल्दै छ। बोलिभिया, पेरू र इक्वेडरसँग उरूग्वेले खेल्दै छ।

महत्वपूर्ण खेलाडीलाई छाड्दा क्लबको खेल प्रभावित हुने म्यान युनाइटेडको आशय थियो। विश्वकप खेलेर आएपछि पनि इङ्ल्यान्डमा १० दिन क्‍वारेन्टिनमा बस्नुपर्ने भएकाले काभानीले राष्ट्रिय टोलीका लागि खेलेको अवस्थामा क्लबका केही खेल गुमाउने निश्चित थियो। सन् २००८ यता सिनियर राष्‍ट्रिय टोलीमा रहेका काभानीले उरुग्वेका लागि एक सय २३ खेल खेल्दै ५३ गोल गरेका छन्। उनी टोलीका अनुभवी खेलाडीमध्येका एक हुन्।

यता स्पेनिस क्लबहरूले पनि विश्वकप छनोटलगत्तै आयोजना हुने ला लिगा खेलहरु स्थगित गर्न आग्रह गरेको छ। खासगरी दक्षिण अमिरिकी देशका खेलाडीहरु उपलब्ध नहुने भएकाले ती खेलहरु सार्नका लागि उनिहरुले ला लिगा आयोजकलाई आग्रह गरेका हुन्।

इङ्लिस क्लब टोट्टनहामले अर्जेन्टिनाका दुई खेलाडीहरु जियोभानी लो से‍ल्सो र क्रिस्टियन रोमेरोलाई ‘रिलिज’ गरेको छ। अर्जेन्टिनाले भेनेजुएला, ब्राजिल र बोलिभियासँग खेल्दै छ। यी सबै देश कोरोना महामारीको हिसाबले रेड लिस्टमा छन्।

भदौ १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्