वैदेशिक रोजगारीमा जाने युवा जोन्सन एण्ड जोन्सन खोप माग्दै सडकमा, सरकार भन्छ स्टक छैन

काठमाडौँ – वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका युवाहरु एक मात्रा लगाए हुने कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सन खोप माग गर्दै प्रदर्शनमा उत्रिएका छन् ।

अस्पतालले खोप लगाउनका लागि दिएको टोनकसहित युवाहरुले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

उनीहरुले आफूहरुलाई तोकिएको समयमा अर्थात उडान नछुट्ने तथा काममा समयमा पुग्ने गरि एक मात्रा लगाए हुने जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था गर्नु पर्ने माग गरेका छन् ।

अरु खोप लगाउँदा दोस्रो मात्राका लागि लामो समय पर्खिनु पर्ने र त्यसो गर्दा आफूहरुको रोजगारी गुम्ने अवस्था आउने उनीहरुले बताएका छन् । यस्तै आफूहरु रोजगारीका लागि जाने गन्तव्य देशले जोन्सन एण्ड जोन्सन खोप नै लगाएको हुनु पर्ने बताउँदा पनि सो खोप नपाएको उनीहरुको भनाई छ ।

आन्दोलित युवाहरुले आफूहरु विगत ३–४ दिनदेखि कहिले टेकु, कहिले प्रहरी अस्पताल त कहिले त्रिवि शिक्षण अस्पताल खोपका लागि धाइरहेको बताएका छन् । यसरी धाउँदा पनि टोकन दिएर तोकिएको खोप आफूहरुले लगाउन नपाएका कारण आन्दोलन गर्नु पर्ने बाध्यता आएको उनीहरुले बताएका छन् ।

युवाहरु आन्दोलित भएपछि माइतीघर मण्डला पुगेका स्वाथ्य कार्यालय काठमाडौँका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले अहिले जोन्सन एण्ड जोन्सन खोप नरहेको र अरु उपलब्ध खोप (एस्ट्राजेनेका र भेरोसेल) लगाउन सकिने बताए ।

तर आफूहरुका लागि जाने देशले जोन्सन एण्ड जोन्सन नै लगाउनु पर्ने भनेकाले समस्यामा परेको वैदेशिक रोजगारीका लागि कतार जाने तयारीमा रहेको मोरङका राजेश भण्डारीले बताएका छन् ।

उनले भने, ‘स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर बेलुका (४ बजे) थप जानकारी दिने बताउनु भएको छ । जोन्सन एण्ड जोन्सन खोप कतै जिल्लामा भएको भए सो ल्याएर दिन सकिने वा बाहिरबाट ल्याउनका लागि कति समय लाग्छ भन्नेबारे जानकारी गराउने बताउनु भएको छ ।’

अमेरिकाले नेपाललाई जोन्सन एण्ड जोन्सन खोपको १५ लाख भन्दा केही बढी मात्रा उपलब्ध गराएको थियो । सो खोप अहिले स्टकमा नरहेको स्वास्थ्य मन्त्रालय बताउँछ ।

तर वैदेशिक रोजगारीमा जाने युवाहरुलाई गन्तव्य देशले जोन्सन एण्ड जोन्सन नै लगाउन भनेकाले समस्या भएको छ । झण्डै दुई सय युवा अहिले सो खोप नपाएर अलपत्र अवस्थामा छन् ।

भदौ १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्