काठमाडौँ – विद्यार्थीहरुले अनलाइन कक्षाबाट छुटकारा पाउन थालेका छन् । विद्यालयहरुले बिस्तारै भौतिक रुपमै कक्षा सञ्चालन गर्न थालेका छन् ।

मंगलबारदेखि काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरुले भौतिक रुपमा कक्षा सञ्चालन गर्न थालेका हुन् ।

कोरोना भाइरसको महामारीको दोस्रो लहर सुरु भएसँगै विद्यालयहरु फेरि बन्द भएर अनलाइन कक्षामा गएका थिए । संक्रमण रोकिएको छैन, तर केही कम हुने क्रम भने छ । यहिबिचमा विद्यालयहरु खुल्न थालेका हुन् ।

गएको वैशाख १६ देखि निषेधाज्ञा लागु भएसँगै विद्यालय बन्द भएका थिए । सरोकारवालासँगको बैठकपछि नगर शिक्षा समितिको बैठक राखेर भौतिक उपस्थितिमा विद्यालय खुलाउने निर्णय गरिएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव विजयप्रसाद आचार्यले जानकारी दिएका छन् ।

भौतिक रुपमा कक्षा सञ्चालन गर्ने विद्यालयहरुले आफै स्वास्थ्य सुरक्षाको विश्वसनीय वातावरण बनाउनु पर्ने छ।