अफगानिस्तान संकट

बाइडेनले पुनः गरे अफगानिस्तानबाट सैनिक फिर्तीको बचाउ

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्ने निर्णयको फेरि बचाउ गरेका छन् ।

२० वर्ष लामो युद्ध अन्त्य गर्दै अमेरिकी सैनिक अगस्ट ३१ को समय सीमा अघि सोमबार पूर्णरुपमा स्वदेश फर्किएका थिए ।

अमेरिकीसहितका नेटो सैनिक फिर्ता हुने निर्णयसँगै अफगानिस्तानको सत्तामा तालिबान फर्किएको छ । मध्य अगस्टमा तालिबानले काबुल नियन्त्रणमा लिएको हो ।

अमेरिकी राष्ट्रपति बाइडेनले अफगानिस्तानमा लामो समय बस्ने कुनै विकल्प नरहेको बताएका छन् । अफगानिस्तानमा अमेरिकी सैनिकको २० वर्षे उपस्थिति अन्त्य भएको भोलिपल्ट मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो निर्णयको बचाउ गरेका हुन् ।

उनले आफ्ना सैनिकले एक लाख २० हजार भन्दा बढीको उद्धारका लागि विमानको व्यवस्थापन गरेकोमा प्रशंसा गरे ।

अमेरिकी सैनिक फिर्ता हुँदै गर्दा तालिबानका लडाकुहरुले उत्सव मनाएका थिए । उनीहरुले त्यसलाई आफ्नो विजयका रुपमा परिभाषित गरेका थिए ।

सन् २००१ को सेप्टेम्बर ११ मा अल कायदाले गरेको आक्रमणपछि अमेरिकाले अफगानिस्तानमा सैन्य अभियान थालेको थियो । त्यसपछि अफगानिस्तानको सत्ताबाट तालिबान हटेको थियो र फेरि अमेरिका बाहिरिने भएसँगै सत्तामा फर्किएको हो ।

अमेरिकी सैनिक फिर्तीको प्रक्रिया र त्यसले निम्त्याएको अस्तव्यस्ततालाई लिएर बाइडेनको अमेरिकामै र अन्तर्राष्ट्रिय स्तरमा आलोचना भइरहेको छ ।

अमेरिकी सैनिककाे अन्तिम समूह काबुलबाट फिर्ता हुने क्रममा।

अनपेक्षित रुपमा अफगानी सुरक्षा बल ‘कोल्याप्स’ हुँदा सहज रुपमा तालिबानले सत्ता कब्जा गरेको हो र त्यसको आलोचना पनि बाइडेनले खेपिरहेका छन् ।

तालिबानले ११ दिन भित्र अफगानिस्तानमा नियन्त्रण कायम गर्न सफल भएको हो । उसले अगस्ट १५ मा काबुलमा नियन्त्रण कायम गरेको थियो ।

बाइडेनले उद्धार प्रक्रियाका लागि काबुल विमानस्थलको सुरक्षा व्यवस्था मिलाउन झण्डै ६ हजार सैनिक पठाएका थिए ।

अमेरिकी सैनिकको नियन्त्रणमा रहेको विमानस्थलबाट अमेरिकी तथा सहयोगी देशका नागरिक, कूटनीतिज्ञसहित सहयोगी एवम् देश छोड्न चाहने अफगानको पनि उद्धार गरिएको हो । तर अझै पनि तालिबानको त्रासमा देश छोड्न चाहने धेरै अफगानीहरु छुटेका छन् ।

मंगलबारको सम्बोधनको क्रममा बाइडेनले सैनिकको प्रशंसा गर्दै देश फर्किन चाहने र अझै पनि अफगानिस्तानमै रहेका झण्डै २०० अमेरिकीहरुको उद्धारका लागि प्रयास जारी राख्ने बताएका छन् ।

गएको बिहीबार काबुल स्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको गेटमा भएको आइएस–के को आत्मघाती आक्रमणमा १३ अमेरिकी सैनिकसहित कम्तीमा १७० जनाको ज्यान गएको थियो ।

त्यसपछि अमेरिकाले गरेको ड्रोन आक्रमणमा दुई योजनाकार मारिएको दाबी गरिएको थियो ।

तर आइतबार विमानस्थल नजिकै अमेरिकाले आक्रमणकारीलाई निशाना बनाएर गरेको ड्रोन आक्रमणमा एकै परिवारका १० जनाको ज्यान गएको छ । त्यसलाई लिएर अमेरिकाको आलोचना भएको छ ।

अमेरिकाले घटनाको छानबिन भइरहेको र सर्वसाधारणको मृत्यु निशाना बनाइएका आक्रमणकारीको गाडीमा रहेको बिस्फोटक पदार्थका कारण भएको हुन सक्ने दाबी गरेको छ ।

भदौ १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्