अफगानिस्तान संकट

तालिबानसँगको वार्तामा बेलायत, भारतले पनि गर्‍यो छलफल

काबुल विमानस्थलमा तालिबान लडाकु । अमेरिकी सैनिक फिर्ता भएसँगै विमानस्थल तालिबानको नियन्त्रणमा छ । तस्बिर : रोयटर्स

अफगानिस्तानमा रहेका आफ्ना नागरिक तथा अफगानहरुको उद्धारको व्यवस्था मिलाउने सम्बन्धमा बेलायतले तालिबानसँग वार्ता थालेको छ।

बेलायती अधिकारी र तालिबानका शीर्ष सदस्यबिच वार्ता कुराकानी भइरहेको बेलायती प्रधानमन्त्री कार्यालयले जनाएको छ । वार्ता कतारको दोहामा भइरहेको हो ।

अफगानिस्तानमा अझै पनि १५०–२५० जना योग्य व्यक्ति र उनीहरुका परिवार रहेको बेलायती रक्षा मत्रीले सांसदहरुलाई जानकारी गराएको बिबिसीले उल्लेख गरेको छ ।

तालिबानले देश छोड्न चाहने योग्य व्यक्तिहरुलाई जान दिने बताएको छ।

यसैबिच भारत र तालिबानबिच पनि दोहामा वार्ता भएको छ । भारतको विदेश मन्त्रालयले त्यसको पुष्टि गरेको छ । अफगानिस्तानमा रहेका भारतीयको सुरक्षित उद्धारका सम्बन्धमा कुराकानी भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

यस्तै आतंकवादलाई लिएर पनि भारतले चिन्ता व्यक्त गरेको उल्लेख छ । तालिबानले भारतको चिन्ताको समाधान गरिने आश्वाशन दिएको जनाइएको छ ।

भारतका राजदूत दीपक मित्तल र तालिबानको राजनीतिक कार्यालयका प्रमुख शेर मोहम्मद अब्बास स्टानिकजईबिच वार्ता भएको हो ।

अमेरिकी सैनिक सोमबार फिर्ता भएसँगै अफगानिस्तान पूर्ण रुपमा तालिबानको नियन्त्रणमा गएको छ ।

भदौ १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्