अफगानिस्तान संकट

तालिबान ‘निर्दयी समूह’, परिवर्तन हुने छन् वा छैनन् अस्पष्टः अमेरिकी सैनिक जनरल

फाइल तस्बिर

अमेरिकाका शीर्ष सैनिक जनरलले तालिबान ‘निर्दयी समूह’ रहेको बताउँदै उनीहरुमा परिवर्तन आएको वा आउने छ भन्ने स्पष्ट नरहेको उल्लेख गरेका छन् ।

सैनिक जनरल मार्की मिलीले तर भविष्यमा प्रतिआतंकवादी अभियानमा इस्लामिक बिद्रोही समूहसँग सहकार्यको सम्भावना भने रहेको बताएका छन् ।

अमेरिकी सैनिकको अन्तिम समूह मंगलबार अफगानिस्तानबाट फिर्ता भएको थियो । योसँगै अफगानिस्तानमा अमेरिकाको २० वर्ष लामो सैन्य अभियान समाप्त भएको थियो ।

अहिले तालिबानको नियन्त्रणमा रहेको अफगानिस्तानलाई लिएर आशंका, डर र त्रासको अवस्था छ । तालिबानले चाँडै नै नयाँ सरकारको घोषणा गर्ने तयारी गरेको छ ।

अमेरिकी सैनिकको फिर्ती प्रक्रिया जारी रहेका बेला तालिबानले अगस्ट १५ मा काबुल नियन्त्रणमा लिएको थियो ।

अमेरिकी सैनिकको अन्तिम समूह फिर्ता भएपछिको पहिलो सार्वजनिक टिप्पणी जनरल मिलीले रक्षा मन्त्री लोइड अस्टिनको उपस्थितिमा दिएका हुन् । सैनिक फिर्तीको क्रममा देखिएको अस्तव्यस्ततालाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनको तीव्र आलोचना हुँदै आएको छ ।

अमेरिकाले लगानी तथा तालिबान दिएको अफगान सुरक्षा बल अप्रत्याशित रुपमा ‘कोल्याप्स’ हुँदा तालिबानले सहज रुपमा अफगानिस्तानमा नियन्त्रण कायम गरेको हो ।

बुधबार भएको पत्रकार सम्मेलनमा सैनिक जनरल मिली र रक्षा मन्त्री अस्टिनले सैनिकहरुले उद्धार अभियानका क्रममा गरेको कामको प्रशंसा गरे । यस्तै उनीहरुले अफगानिस्तानमा सेवा गरेका सैनिकहरुको पनि प्रशंसा गरेका छन् ।

अफगानिस्तानबाट जोखिममा रहेका व्यक्तिहरुको उद्धारका लागि तालिबानसँग सहकार्यको प्रयास भइरहेको मन्त्री अस्टिनले बताएका छन् ।

भविष्यमा इस्लामिक स्टेट–के विरुद्धको अभियानमा तालिबानसँग सहकार्य हुन सक्ने सैनिक जनरल मिलीले बताएका छन् । गएको बिहीबार आइएस–के ले गरेको आक्रमणमा १३ अमेरिकी सैनिकसहित कम्तीमा १७० जनाको ज्यान गएको थियो ।

भदौ १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्