नेपाल भर्सेज भारत: मेस्सीलाई पछ्याइरहेका क्षेत्री जो रोनाल्डो जसरी खेलिरहेका छन्

भारतीय टोलीका कप्तान सुनिल क्षेत्री। तस्बिर : बर्षा शाह/देश सञ्चार

‘एज इज जस्ट नम्बर। खेलाडीले जबसम्म खेल्न सक्छ, खेल्छ। त्यहाँ नयाँ र पुरानोको कुरा आउँदैन।’

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी गोलरक्षक तथा कप्तानसमेत रहेका किरणकुमार चेम्जोङको विकल्पमा अरु खेलाडीलाई मौका दिइन सक्ने प्रश्नबारे नेपाल-भारत मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलको पूर्वसन्ध्यामा बुधबार आयोजित प्रि म्याच कन्फ्रेन्समा  भन्दै थिए। उनको आशय थियो, किरणले त्यतिबेलासम्म खेल्छन् जतिबेलासम्म उनको विकल्प दिन सक्ने खेलाडी आउँदैनन्।

अन्तर्राष्ट्रिय फुटबलमा गोलकिपरहरुले ४०/४२ वर्षको उमेरसम्म खेलिरहेको देखिन्छ। किरण भर्खर ३१ वर्षका भए। उता भारतीय टोलीका कप्तान सुनिल क्षेत्री ३७ वर्षको उमेरमा पनि टोलीको अग्रपंक्तिमा खेलिरहेका छन्। यो उमेरमा अन्तर्राष्ट्रिय फुटबलमा अग्रपंक्ति सम्हाल्ने खेलाडी कमै देखिन्छन्। त्यसमा पनि सुनिल  टोलीको कप्तान पनि रहेका छन्। सुनिल र पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोबीच धेरै समानता छन्। दुवै स्ट्राइकर हुन्। दुवै ‘ओभर एज’मा पनि उत्तिकै लयमा छन्।

रोनाल्डो बुधबार राति आयरल्यान्डविरुद्ध गोल गरेर सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सर्वकालीन सर्वाधिक गोलकर्ता बनेका छन्। सन् २००३ मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेयता रोनाल्डोले एक सय ११ गोल गरेका छन्।  उनले इरानका अली दाइलाई छाडेर एक्लै अघि बढेका हुन्।

रोनाल्डोले एक सय ८० सिनियर अन्तर्राष्ट्रिय खेल खेलेका छन्। सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ताको सूचिमा क्षेत्री अर्जेन्टिनाका लियोनल मेस्सीलाई पछ्याइरहेका छन्। क्षेत्रीले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा एक सय १८ खेल खेल्दै ७४ गोल गरेका छन्। मेस्सीले एक सय ५१ खेलमा ७६ गोल गरेका छन्। क्षेत्री सन् २००५ यता भारतीय टोलीमा छन्।

नेपालविरुद्ध २ मैत्रीपूर्ण खेल खेलिरहँदा क्षेत्रीलाई आफ्नो गोल संख्या बढाउने अवसर हुने छ। नेपाली मुलका भारतीय क्षेत्रीले नेपालप्रति ‘ सफ्ट कर्नर’ रहे पनि मैदानमा त्यो बिर्सने गरेको बताउँछन्। क्षेत्रीका मामा र आमाले नेपालका लागि कुनै समय प्रतिनिधित्व गरेका थिए। भारतीय आर्मीमा काम गरेका बुवाका कारण क्षेत्री त्यहीँ हुर्किएका थिए। आफ्नो खेल रुचीमा आमा र मामाको प्रभाव बलियो रहेको क्षेत्रीको भनाई छ।

क्षेत्रीले हालसम्म नेपालविरुद्ध ५ गोल गरेका छन्। उनले पहिलोपटक सन् २००८ मा आयोजित साफ च्याम्पियनसिपमा नेपालविरुद्ध गोल  गरेका थिए। सन् २०१५ को मार्चमा घरेलु मैदानमा भएको विश्वकप छनाैट खेलमा क्षेत्रीले नेपालविरुद्ध २ गोल  गरेका थिए। त्यसयता उनले नेपालविरुद्ध गोल गर्न सकेका छैनन्।

क्षेत्रीले पछिल्ला ६ अन्तर्राष्ट्रिय खेलमध्ये एउटामा मात्र गोल गरेका छन्। उनले गत जुनमा भएको विश्वकप छनाैटअन्तर्गतको खेलमा बंगलादेशविरुद्ध २ गोल गरेका थिए। त्यसअघि उनले अन्तिमपटक सन् २०१९ को अगस्टमा ओमानविरुद्ध एक गोल गरेका थिए। आगामी महिना साफ च्याम्पियनसिप रहेकाले क्षेत्रीका लागि गोल संख्या बढाउने राम्रो अवसर रहेको छ। त्यसअघि बिहीबार र आइतबार हुने नेपालसँगका मैत्रिपूर्ण खेलका लागि क्षेत्री तयार देखिएका छन्।

भदौ १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्