नेकपा (एकीकृत समाजवादी ) का वरिष्ठ नेता झलनाथ खनालसँग अन्तर्वार्ता

‘अब जबज हाम्रो मार्गदर्शक सिद्धान्त बन्न सक्दैन’

Live

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनाल हालै मात्रै भारतको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गरेर फर्किएका छन्। उनले दिल्लीको उपचार यात्रा सुरु गरेपछि नेपालमा उनको पार्टी नेकपा एमाले चर्को अन्तर्द्वन्द्वका कारण टुक्रियो। परिणाममा नेकपा (एकीकृत समाजवादी) पार्टी जन्मियो।

एमालेको अन्तर्द्वन्द्वमा प्रत्यक्ष संलग्न खनालले आफू दिल्लीबाटै समाजवादी पार्टीको पक्षमा उभिएको सन्देश दिए। खनालसँग उनको स्वास्थ्य, एमाले विभाजनको कारण, त्यसले पुर्‍याएको क्षति, समाजवादी पार्टीको आगामी बाटोसँगै उहाँकै व्यक्तिगत राजनीतिक जीवनबारे कुराकानी गरेका छौँ। प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीः

० तपाईं नयाँदिल्लीमा पुगेर मिर्गौला प्रत्यारोपण गरेर हालै फर्कनुभएको छ। उपचार अनुभव कस्तो रह्यो र अहिले स्वास्थ्य कस्तो छ?

– मैले मेरो जीवनमा अहिलेसम्म ६ वटा सर्जरी गरेँ। योभन्दा अघिका सर्जरी पनि निकै जटिल थिए। तर, यो तीभन्दा पनि जटिल सर्जरी थियो। सर्जरीपछि मैले नयाँ अनुभव लिइरहेको छु। मैले दोस्रो जीवन पाएको छु। अहिले मेरो स्वास्थ्य सुधारोन्मुख नै छ। मेरो स्वास्थ्यमा सुधार आउनेमा म आशावादी छु। अहिले औषधि खाइरहेको छु। सबै कुरामा विचार गर्नुपर्ने भयो। संक्रमणबाट जोगिन आवश्यक छ। मेरो उपचार अनुभव कठिन अनि सुखद पनि भयो। कठिन यो मानेमा कि मलाई जटिल रोग देखापर्‍यो।

सुखद यो मानेमा कि मैले समयमै डाक्टहरूको साथ पाएँ र उपचार पाएँ। म १६ जुनमा दिल्लीतिर प्रस्थान गर्दै गर्दा आफू मर्दै गएको र देश पनि अत्यन्तै अप्ठ्यारोबाट गुज्रिरहेको अनुभव गरेको थिएँ। संसद् मूर्छित अवस्थामा पुगेको, सांसद पद पनि हत्या भएको, संविधानमाथिको बलमिच्याइँले लोकतन्त्र मर्ने हो कि भन्ने आशंका जन्मिएको थियो। स्वास्थ्यमा समस्या आएपछि म दिल्ली जानुपूर्व नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना भएको थिएँ। उपचार सुरु भयो। तर, मेरो स्वास्थ्य प्रतिदिन बिग्रिरहेको थियो। मलाई निरन्तर टाउको दुख्ने, ज्वरो आउने, उच्चरक्तचाप हुने, श्वासप्रश्वासमा कठिनाइ, वान्ता हुनेजस्ता समस्या देखिरहेका थिए। शरीरमा पानी भरिँदै गएको थियो। मेरो मिर्गौलाले काम गर्न सकेको थिएन। म चिन्तित थिएँ। त्यो बेला मेरा पार्टीका केही युवा साथीहरू भेट्न आउनुभयो। मेरो स्वास्थ्यबारे गहन छलफल भयो। नर्भिकका डाक्टले पनि चिन्ता देखाउनुभयो। मलाई भारत जान सल्लाह दिनुभयो। युवा साथीहरूको पनि त्यसमा जोड रह्यो। भारतको एपोलो अस्पतालमा जानुपर्ने उहाँहरूको सल्लाह थियो। हामी सरकारसँग कुरा गर्छौं भन्नुभयो।

भोलिपल्ट तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले तपाईं भारत उपचार गर्न जानुहोस् सरकारले तपाईंको उपचारको प्रबन्ध गर्छ भन्नुभयो। म अस्पतालबाटै दिल्ली गएँ। त्योभन्दा अगाडि मैले पनि एपोलो अस्पतालका डाक्टरसँग सम्पर्क गरिसकेको थिएँ। म पुग्दा डाक्टरको टिम तयार भइसकेको थियो। १६ र १७ जुनमा मेरो गहन जाँच भयो। १८ तारिखमा डायलासिस सुरु भयो। तर, यसले काम गरेन। एक दिन ठीक हुने अर्को दिन स्वास्थ्य बिग्रने भयो। मिर्गौला प्रत्यारोपण नै गर्नुपर्ने भयो। भारतबाटै परिवारका सदस्यहरूसँग सम्पर्क गरेँ। रक्त सम्बन्धबाट मात्रै मिर्गौला लिन पाइने रहेछ। मैले परिवारभित्र दाताको खोजी गरेँ। बुवाआमापट्टि पाइएन। मेरो श्रीमतीको दिदीको छोरीले मिर्गौला दिन तयार भइन्। उनको रक्त समूह पनि मिल्ने भयो। उनी तत्काल दिल्ली पुगिन्। त्यो मेरो जीवनका निम्ति सबैभन्दा महत्वपूर्ण कुरा थियो। धेरै कागजपत्र मिलाएँ। मिर्गौला प्रत्यारोपण गर्न सफल भएँ।

० तपाईंको स्वास्थ्य अवस्था त्यति जटिल भइसकेको रहेछ तर अन्तिम समयसम्म त्यसलाई लुकाउने कोसिस गर्नुभयो भन्ने आरोप लागेको छ? यसमा के भन्नुहुन्छ?

– मैले मेरो स्वास्थ्यबारे सूचना लुकाइएको भन्ने कुरा कुप्रचार मात्रै हुन्। यसमा म केही पनि टिप्पणी गर्न चाहन्नँ। नेपालको पत्रकारिता अझै जिम्मेवार हुन सकेको छैन। केही मानिसले आफ्नो स्वार्थपूर्तिका लागि पत्रकारिता गरिरहेका छन्। त्यसमा म दुःख व्यक्त गर्न चाहन्छु। मेरो स्वास्थ्यलाई लिएर कुनै पनि पत्रकारले सम्पर्क गरेन। मैले पनि वक्तव्य दिएर मिर्गौला फेर्दै छु भनेर हिँड्ने कुरा पनि भएन। यो निजी मामिला हो। म अस्पताल गएँ त्यसपछि मात्रै धेरै कुरा थाहा भयो। झण्डै ढिलो भएको भन्नुभयो डाक्टहरूले। तर, अब हामी तपाईँलाई बचाउँछौँ भन्नुभयो। मेरो लागि त्यो नै सबैभन्दा ठूलो कुरा थियो। मैले त्यो बेला अरु सोच्ने कुरा थिएन। म सबै डाक्टरप्रति अनुरागी छु।

० तपाईंको उपचार खर्च विवादित बन्यो। सरकारको खर्चमा विदेशमा उपचार गर्न कानुनले रोक लगाएको छ। तपाईं आफैं आर्थिक रूपमा सम्पन्न नेता हुनुहुन्छ भनिन्छ। विवाद भएपछि म उपचार खर्च लिन्नँ भन्न किन सक्नुभएन?

– मलाई सम्पन्न नेता कसले भनेको हो? तपाईं आफैँले कि अरूले ? के अर्थमा ? म त्यो जान्न चाहन्छु। म कुनै व्यापारी होइन। म उद्योगपति होइन। म कुनै ठेकेदार पनि होइन। म जतिबेलादेखि जान्ने भएँ, त्यतिबेलादेखि राजनीति सुरु गरेको हुँ। यो देशको सेवा गरेर जीवन बिताएँ। र, मसँग सांसद हुँदा लिएको पारिश्रमिक मात्रै थियो। तर, म जतिबेला बिरामी परेँ त्यो बेला त मेरो सांसद पदसमेत हत्या गरिएको थियो। मेरै पार्टीका नेता केपी शर्मा ओलीको निरंकुश शासनका कारण संसद हत्या गरिएको थियो।

मसँग आम्दानी केही थिएन। मेरो पैतृक सम्पत्तिका नाममा ७० रोपनी जग्गा इलामको गाउँमा पाएको थिएँ। मैले अंश लिएको पनि थिएन। त्योमध्ये ५५ रोपनी म प्रधानमन्त्री भएका बेला सीटीभिटी स्थापनाका गर्नका लागि सरकारलाई दिएँ। त्यसपछि त्यो चौरमा कुनै आम्दानीको स्रोत छैन। म आर्थिक रूपमा सम्पन्न छैन। आफूलाई सामाजिक, राजनीतिक र नैतिकरूपले म अरुभन्दा धेरै धनी ठान्छु।

मजस्ता हजारौँ नेपाली नागरिकलाई राज्यले उपचार गर्नुपर्छ। राज्य विस्तारै आर्थिक रूपमा सम्पन्न हुनुपर्छ। सम्पन्न राज्यले मात्रै सबै नागरिकको उपचार गर्न सक्छ। शिक्षा र स्वास्थ्य सेवा निःशुल्क गर्नुपर्छ। अनि मात्रै हामी समाजवादतर्फ जान्छौँ। जो मान्छेले झलनाथले आफै उपचार गर्न पथ्र्यो भन्ने तर्क गरे, यो तर्कको अर्थ विगतमै झलनाथ मर्नुपर्थ्यो भन्ने निष्कर्ष हो। यो अत्यन्तै गैरजिम्मेवार तर्क हो। त्यस्ता कुरामा राज्यले दृढतापूर्वक जवाफ दिनुपर्छ।

० मुलुकमा पछिल्लो पटक विकसित राजनीतिक संकटतर्फ जाऔँ। तपाईं नेपालमै भएका बेला नेकपा एमालेको विभाजन निश्चितजस्तै थियो। केही दिनपछि त्यसले औपचारिक रूप लियो। तपाईंको बुझाइमा विभाजनको मुख्य कारण के हो?

– हामीले ०३२ सालमा दक्षिणपन्थी अवसरवादविरुद्ध विद्रोह गर्दै कोअर्डिनेसन केन्द्र, नेकपा माले हुँदै नेकपा एमाले निर्माण गरेको हो। एमालेले नवौँ महाधिवेशनसम्म आइपुग्दा नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने र मुलुकको लोकतन्त्रलाई अघि बढाउने काममा असाधारण योगदान पुर्‍याएको छ। त्यसमा सबै कमरेडहरूको सामूहिक मिहिनेत परेको छ। योगदान छ। जसमा मेरो आफ्नो पनि महत्वपूर्ण योगदान छ। तर, नवौँ महाधिवेशनबाट केपी ओली पार्टी नेतृत्वमा आउनुभयो। यो नेतृत्व जड नेतृत्वको रूपमा देखा पर्‍यो।

नितान्त गतिहीन नेतृत्व हो यो। गुटवादी भावनाले ग्रस्त भएको नेतृत्व हो यो। अहंकारी भावनाले ग्रस्त भएका नेतृत्व हो। व्यक्तिवादी भावले ग्रस्त भएको नेतृत्व हो। यसले पार्टीका क्रान्तिकारी दिशा र नीति लागू गर्न दिएन। दक्षिणपन्थीतिर धकल्ने काम मात्रै गरेको छ। नवौँ महाधिवेशनले निकाले निष्कर्ष र निर्णय कार्यान्वयन भएन। समाजवादका आधार निर्माण गर्नेतर्फ लाग्न दिएनन् ओलीले। ओली सरकारमा पुगेपछि दलाल पुँजीवादको घेरामा बसेर काम गर्न थाल्नुभयो। ठुल्ठूला गफ मात्रै हाँक्नुभयो। पार्टीका नीति र कार्यक्रम सबै बिर्सनुभयो। पार्टीको घोषणापत्र लत्याउनुभयो। पार्टीसँग सल्लाह नगरी सरकारको नीति, कार्यक्रम र बजेट ल्याउनुभयो। पुँजीवादी ढाँचाबाट उहाँ अघि बढ्नुभयो।

समाजवादीको स पनि अटाउनु भएन। पार्टीले सरकारलाई सञ्चालन गर्ने मान्यताबाट उहाँ च्यूत हुनुभयो। यसले पार्टीको विचार रोकियो। पार्टीलाई क्रान्तिकारी हुनबाट रोक्नुभयो। पहिले पुनर्गठन गर्ने भनेका थियौँ पार्टीलाई। त्यसका लागि राष्ट्रिय सम्मेलन पनि गरेका थियौँ। तर, ओलीले झन् झन् देशलाई घातक हुने काम गर्नुभयो। दुई दुई पटक संसद् विघटन गर्नुभयो। त्यसपछि हामीसँग विद्रोहबाहेक विकल्प रहेन। मैले दक्षिणपन्थी अवसरवादीको भड्काउको विरोध गरेँ। गुटवादको विरोध गरेँ। मदन भण्डारीजस्ता प्रतिष्ठित नेताको नाममा राष्ट्रव्यापी रूपमा ओलीले गुट गठन गर्नुभयो। हामीले क्रान्तिकारी धारलाई बिर्सन मिलेन। एमालेलाई विभाजन हुनुमा ९९ प्रतिशत केपी ओली जिम्मेवार हुनुहुन्छ। १ प्रतिशत हामी अरू नेताले बाँडेर लिन्छौँ। म पनि एउटा हिस्सा हुँ। मैले उनको दक्षिणपन्थी धारको चर्को विरोध गर्न सकिनँ होला। तर, एमाले जुन हालतमा पुगेको हो त्यसको सोल जिम्मेवारी केपी ओली नै लिनुपर्छ।

० यो समग्र परिस्थिति उत्पन्न हुनुमा ओलीजी मात्रै दोषी हो त? आफ्नो पनि गल्तीको समीक्षा तपाईंहरूले गर्नुपर्ने होइन र? पार्टी निर्देशन उल्लंघन गरी विपक्षीलाई मत दिएर सरकारमा पठाउनुभयो। यो गम्भीर गल्ती होइन?

– यसलाई तपाईंले गम्भीर गल्ती भन्नुहुन्छ? इतिहासलाई उल्ट्याउन सक्नुहुन्छ। कुभिण्डो पारेर राख्न सक्नुहुन्छ? दुई तिहाइ पाएको थियो। दुई तिहाइलाई भुस बनाउने काम केपी ओलीले गरेको हो। एकीकृत पार्टीलाई ध्वस्त बनाउने काम ओलीले गर्नुभयो। समाजवादको आधार भत्काउने काम पनि उहाँले गर्नुभयो। संविधान मिच्ने, संसद्लाई अकालमै विघटन गर्ने आपराधिक काम पनि उनैले गरे। एकपछि अर्को असंवैधानिक काम गर्ने मान्छे जेलमा जान्छ तर संविधान उल्लंघन गर्ने ओली प्रधानमन्त्रीको कुर्सीमा बसिरहे।

त्यो पनि अनेक जालझेल गरेर। देशमा निरंकुशताको सम्भावना बढेर गयो, संविधान नै समाप्त हुने खतरा बढेर गयो। गणतन्त्र र लोकतन्त्रमाथि खतरा उत्पन्न भयो। त्यस्तो अवस्थामा हामीले सबै वामपन्थी र लोकतान्त्रिक शक्ति एक ठाउँमा भएको हो। संसद् विघटन गर्ने र संविधान ध्वस्त पार्ने काम कम्युनिस्ट पार्टीको नेताले गरे। यो घोर प्रतिगामी काम हो। त्यसकारण हामीले अरुसँग मिलेर भए पनि प्रतिक्रान्तिविरुद्ध लड्ने काम गरेका हौँ। केपी ओली सरकार ढालेकोमा हामीलाई कुनै चिन्ता छैन। त्यो ढालेर हामीले ठीक गर्‍यौँ। संविधानको रक्षा गर्‍यौँ। संसदको रक्षा गर्‍यौँ। आज देश अलि शान्तिपूर्वक अगाडि बढ्न थालेको छ।

० तपाईंले एमाले फुटाउन नचाहेको भने पनि तपाईंका समूहमा रहेका १० जना स्थायी कमिटी सदस्यहरू तपाईंहरूले पार्टी विभाजनमा हतारो गरेको एउटा गम्भीर आरोप लगाउँदै अन्ततः ओलीसँगै मिल्नुभयो। त्यसबाट पनि तपाईंहरूले पार्टी मिलाउने भन्दा टुक्र्याउन चाहेको पुष्टि भयो। यो स्वीकार्न किन हिच्किचाहट?

– पार्टीलाई फुटाउने काम केपी ओलीले गर्नुभएको हो। ओलीका गलत नीति र सिद्धान्त, कार्यशैली र कार्यशैलीका कारण एमाले फुट्यो। पार्टी फुट्नुमा अरुको भूमिका छैन। हामी निःसन्देह पार्टी एकता चाहन्थ्यौँ। अहिले पनि म पार्टी एकता चाहन्छु। अहिले पनि एमालेलाई विधिपूर्वक अघि बढाउन चाहन्छु। तर, अवसरवादसँग एकता सम्भव छैन। जहाँसम्म हाम्रो समूह छाडेका साथीको प्रश्न छ, उहाँहरूले एकता प्रयास गर्नुभएको हो। त्यो आवश्यक नै थियो। पार्टी एकता वैचारिक र राजनीतिक एकता हुन्छ है भनेर उहाँहरूलाई मैले सुरुदेखि नै भनेको थिएँ।

प्राविधिक कुराबाट एकता सम्भव हुन्न। उहाँहरू वैचारिक र राजनीतिक एकता प्राप्त गर्ने कुरामा जुन योजनासाथ अघि बढ्नुपर्ने थियो त्यसरी अघि बढ्न सक्नु भएन। उहाँहरूलाई त्यसरी अघि बढाउने काम पनि भएन। त्यसैले १० बुँदे जुन सहमति भयो त्यो प्राविधिक मात्रै थियो। मैले दिल्लीबाट जारी गरेको वक्तव्यमै भनेको थिएँ, सर्वोच्च अदालतको ऐतिहासिक फैसलामार्फत देशमा जुन परिवर्तन भएको छ, त्यसमा म दृढ समर्थन गर्छु। साथैसाथै पार्टी एकताका सन्दर्भमा १० बुँदे सहमति सकारात्मक भए पनि प्राविधिक एकता मात्रै हो।

यो प्राविधिक एकतालाई वैचारिक, राजनीतिक एकतालाई रूपन्तरण गर्न सकियो भने मात्रै पार्टी वास्तविक रूपमा एकता हुन सक्छ। नत्र प्राविधिक एकताले मात्रै एकता हुन सक्दैन। म धोका दिए भन्ने भाषा बोल्न चाहन्नँ। ती साथीहरूले जे प्रयत्न गर्नुभयो त्यो आंशिक हो। हाम्रा समूहका रहेका साथीहरूले एकता गर्दा वैचारिक र राजनीतिक एकतलाई जोड दिनुपर्ने थियो, प्राविधिक मात्रै भयो। केपी ओलीले दुई दुई पटक असंवैधानिक रूपमा संसद विघटन गर्नुभयो। खै उहाँले आत्मलोचना गरेको? खै जनतासामु माफी मागेको? अति प्रतिक्रान्ति र क्रान्तिबीच यति सहजै एकता हुन सक्छ। व्यक्तिगत रूपमा कसैको आलोचना गर्दिनँ। तर, जुन प्रकारको प्रवृत्ति देखा पर्‍यो त्यसले पार्टीको एकतालाई समृद्धितर्फ लग्न सकेन। त्यसैले पार्टीमा विद्रोह भयो।

० वामदेव गौतमले अझै आफ्नो गतन्व्य स्पष्ट पार्नुभएको छैन। सहअध्यक्ष नदिएकाले तपाईंहरूसँग खुल्न सक्नुभएको छैन भनिएको छ। वास्तविकता के हो?

– मैले सानैदेखि वामदेव गौतमलाई चिन्छु। उहाँले आफ्नो जुन छवि बनाउनुभएको छ, त्यो आफैँ बचाउन सक्नुहुन्छ। अरुले बचाउनुहुन्न। कुन ऐतिहासिक घडीमा के भूमिका खेल्ने हो त्यो आफैँले जान्नुपर्छ। अहिले पार्टीमा विद्रोह सुरु भइरहँदा वामदेवको भूमिका के? उहाँले कुनै कुरा मागेर हिँड्ने हो? कि पहलकदमी लिएर अग्रगामी भूमिका खेल्ने हो? यो उहाँले निर्णय गर्ने कुरा हो। त्यसकारण वामदेव गौतम मात्रै होइन, सबै नेताले आत्मनिर्णय गर्नुपर्छ। मुलुक र आन्दोलन संकटमा परेका बेला हरेक व्यक्तिको परीक्षण हुन्छ। त्यसमा उत्तीर्ण नहुने व्यक्ति इतिहासमा पछि पर्छन्।

० नेपालमा कम्युनिस्ट पार्टीहरूलाई एक बनाउनुपर्छ भन्ने अभियान सुरु भयो भन्नुहुन्थ्यो। आज एमालेलाई पनि बचाउन सक्नुभएन। अलिकति हीनताबोध भएको छैन ?

– विल्कुलै हीनताबोध भएको छैन। हामीले सुरुदेखि नै मूलतः दक्षिणपन्थी अवसरवादविरुद्ध लड्दै आएका हौँ। यो पार्टी बनाएका हौँ। यदि, पार्टीमा वैचारिक, राजनीतिक र सैद्धान्तिक काम भएन भने अवसरवादले जहिले पनि टाउको उठाउँछ। कि दक्षिणपन्थी अवसरवाद कि उग्र वामपन्थी अवसरवादले टाउको उठाउँछ। अहिले केपी ओलीको दक्षिणपन्थी अवसरवादले टाउको उठाउँछ। यसविरुद्ध लड्नै पर्ने भयो। संघर्ष गर्नै पर्ने भयो। र, यो अवसरवादका कारण विद्रोह गर्नै पर्ने भयो। विद्रोह भनेको पार्टी विभाजन होइन, विद्रोह भनेको विनाश होइन। अहिले हामी नवनिर्माणको विद्रोह गर्दै छौँ। पुरानो जडलाई हटाउने र जीवन्त, क्रान्तिकारी, लेलिनवादी माक्र्सवादी धारालाई अघि बढाउने र फेरि पनि कम्युनिस्ट आन्दोलनलाई अझै अनन्त बनाउने हो।

० नेपालमा टुक्रिँदै गएका यति धेरै कम्युनिस्ट पार्टीको भीड छ। उनीहरूबाट कुनै त्यस्तो आशावादी काम देखिएको छैन। अब नेकपा (एकीकृत समाजवादी) पार्टीबाट के अपेक्षा गर्ने जनताले? तपाईंहरूको स्पष्ट उद्देश्य के हो?

– हामीले नेकपा एमाले निर्माण गरेर जनवादी क्रान्ति सम्पन्न गरेका छौँ। सामन्तवाद उन्मूलन गरेका छौँ। यो भूमिकालाई कसैले नर्कान सक्दैन। यो क्रान्ति सम्पन्न भइसकेपछि अब समाजवादतर्फ अघि बढेका छौँ। यसका कार्यक्रमलाई अघि बढाउने काम एमालेले गर्छ भनेका थियौँ। त्यसले सकेन। अब नेपाली मोडलको समाजवादी मोडलमा रूपान्तरण गर्ने हो। हाम्रा सबैखाले नीति के हुन्छन्? यसमा गहन छलफल गर्ने। विदेशी नीति पनि समेटिनेछ।

० जनताको बहुदलीय जनवाद, जबज त्याग्नुभयो कि बाँकी छ?

– हाम्रो पार्टीको पाँचौँ महाधिवेशनमा कमरेड मदनभण्डारीको अगुवाइमा अघि सारिएको हो। कार्यक्रमको अवधारणा जनवादी क्रान्ति सम्पन्न भएपछि त्यो पनि सम्पन्न भयो। त्यसका केही सैद्धान्तिक अवधारणा पनि छन्। त्यसलाई हामीले वर्तमान संविधानमा समावेश गरिसकेका छौँ। वर्तमान संविधानले अगाडिको बाटोमा मार्गदर्शन गर्छ। अब जबज हाम्रो मार्गदर्शक सिद्धान्त बन्न सक्दैन। अब हामी माक्र्सवाद लेलिनवादलाई मार्गदर्शक सिद्धान्त बनाएर समाजवादको नयाँ बाटो निर्माण गर्नुपर्छ। नेपालमा समाजवाद निर्माण हुन्छ भन्ने नेपाल कम्युनिस्ट नेताहरूले नै लेख्नुपर्छ।

० सरकारतर्फ जाऊँ? दुई तिहाइको सरकारबाट आज नेपाल गठबन्धनको सरकारमा सीमित भएको छ। सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ? महामारी र विपद्बाट देश माथि उठ्न सकेको छैन। किन यस्तो कमजोर सरकार?

– ४०–४१ महिना एकीकृत ढंगले बनेको सरकारले धेरै काम गर्न सकेन। अहिले देखिएका सबै समस्या त्यहीँबाट उत्पन्न भएका छन्। यो सरकार भर्खरै बनेको छ। यसले पूर्णता प्राप्त गर्दै छ। अबको एक हप्तामा यसले पूर्णता पाउनेछ। संसद्ले पूर्ण अवधि काम गर्न पाउनेछ। यो सकारले नेपाली समाजलाई अग्रगामी बनाउन यो सरकारले कोसिस गर्छ।

० अब तपाईं पहिले जसरी भागदौड गर्न मिल्ने अवस्थामा पनि हुनुहुन्न। तपाईंको भावी राजनीतिबारे के सोचिरहनुभएको छ ?

– म अहिले स्वास्थ्य सुुधारकै प्रक्रियामा छु। नेकपा एमालेको नवौँ महाधिवेशनमा संविधान बनाउने प्रक्रियामा प्रस्ताव गरेका थियौँ। ७० वर्ष पुगेका व्यक्तिले कार्यकारी पदमा नबस्ने। त्यो महाधिवेशनबाट पारित भयो। आज कतिपय साथीले त्यो लागू गरेन। यो अनैतिक हो। राजनीतिमा नैतिकता भएन भने देशले लास्टै दुःख पाउँछ। म जे पनि गर्न सक्छु। राष्ट्रिय फोरमले दिन्छ। तर, मेरो महाधिवेशनले पारित गरेको कुरामा दृढतापूर्वक उभिन्छु।

० राष्ट्रपति हुने रहर अझै छ ?

– राजकीय पोस्टमा जानुहुन्न भन्दिनँ। सहभागी हुन सक्छु। देश र जनताको सेवा गर्न सकिन्छ। तर, अझै कम्युनिस्ट आन्दोलनलाई नयाँ गति दिनु छ। नयाँ कार्यनीति तयार गर्नु छ। २० वर्ष बाँच्न सक्छु। यो समय देशको उत्थानका निम्ति खर्च गर्छु। संविधान र कम्युनिस्ट आन्दोलन बचाउन लगानी गर्छु।

भदौ १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्