‘हामीले मणिपाल किनेका हैनौँ, मणिपालको सत प्रतिशत सेयरमात्र किनेका हौँ’

मनिपाल अस्पताल। फाइल तस्बिर।

काठमाडौँ – गत बिहीबार समाचार बाहिरियो ‘मणिपाल बिक्री।’भारतको मणिपाल समूहको लगानीमा रहेको ‘मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप लिमिटेड’ सरकारी सम्झौताविपरीत बिक्री गरिएको भन्दै चर्को आलोचना भइरहेको छ।

मणिपाल समूहले २९ वर्षदेखि मेडिकल कलेज र शिक्षण अस्पताल सञ्चालन गर्दै आए पनि मणिपाल समूहले पोखराकै बतास अर्गनाइजेसनका आनन्दराज बतास र अटोवेजका नारायण पौडेलसँग ‘सेयर पर्चेज एग्रिमेन्ट’ गरेको छ।

बतास र पौडेल मिलेर बनाएको ‘बपो होल्डिङ्स’ नामक कम्पनीसँग समूहले एग्रिमेन्ट गरेको हो।

के हो मणिपाल खरिद–बिक्री प्रक्रिया?

सरकारसँग भएको सम्झौताविपरीत सरकारलाई थाहा नदिई बिक्री गरेको भन्दै मणिपाललाई सरकारीकरण गरिनुपर्नेसमेत भन्न थालिएको छ। सन् १९९२ मा नेपाल सरकार र मणिपाल समूहबीच सम्झौता भएको थियो, अस्पताल सञ्चालन गरिएको ४९ वर्षपछि सरकारलाई हस्तान्तरण गर्ने भनेर।

सरकार र समूहबीच सम्झौता भएको २ वर्ष अर्थात् १९९४ मा मणिपाल सञ्चालनमा आएको थियो। तर, सम्झौतापत्रमा भने बिक्री गर्न नपाइने भन्ने कुरा उल्लेख गरिएको छैन। १६० रोपनी जग्गामा ४९ वर्षका लागि भाडामा उपलब्ध गराइएको सम्झौतापत्रका उल्लेख छ, जसमा ३ सय ५० शय्याको अस्पताल सञ्चालन गर्नुपर्ने थियो।

१६० रोपनी जग्गा मणिपाल समूहले भाडामा लिए पनि ४० रोपनी जग्गा खरिद गरेको थियो। जसमा अस्पतालको मुख्य भवन पर्छ। जसको लालपुर्जा मणिपालकै नाममा छ।

मणिपालसँग गरिएको सम्झौतामा करार अवधि नसकिएसम्म बन्द गर्न चाहेमा वा भाडामा दिन नपाउने भए पनि सेयर खरिद तथा बिक्री गर्नका लागि कुनै पनि कानुन बाधक नबन्ने बतासले बताए।

उनले भने, ‘सेयर मात्र बिक्री गर्न खोजिएको हो। उक्त सेयर खरिद बिक्री गर्न कुनै पनि कानुन बाधक बन्न सक्दैन। मणिपाल अस्पतालको सेयर आधा वा शतप्रतिशत खरिद–बिक्री गर्न पाइँदैन भन्ने अर्थ लाग्छ। कानुनी रूपमा पनि स्पष्ट हुन आउँछ।’

मणिपाल समूहले खरिद गरेको जग्गाबाहेक अन्य संरचना सम्झौताअनुसार नै सरकारको हुने उनले बताए।

उनले भने, ‘लिजमा भएको सम्पत्ति कसरी बेच्न पाइन्छ भन्ने ठूलो आवाज आइरहेको छ। सत्य कुरा त्यही हो। ४० रोपनी जग्गा अस्पतालकै नाममा छ। १६० रोपनी सरकारको नाममा छ। ४९ वर्षपछि हस्तान्तरण हुन्छ। त्यसमा कुनै शंका छैन। तर, ४९ वर्षपछि पनि कलेजलाई आवश्यक परे त्यो बेलाको भाडा मूल्यांकन गरेर थप गरिनेछ।’ आफूहरूले कम्पनी भन्दा पनि सेयर किनेको बतासको भनाइ छ।

उनी भन्छन्, ‘स्पष्ट गरिनुपर्ने कुरा के हो भने हामीले शतप्रतिशत सेयर लिएका हौँ। कम्पनी नै किनेको भन्नुभन्दा सेयर किनेको हो। यो सेयर किनबेच हो। यस्तै किनबेच हामीबीच पनि भएको हो।’

फाइल तस्बिर

पोखरावासीको चासो

१६० रोपनी जग्गा सरकारको भए पनि ४० रोपनी जग्गा मणिपालकै हो भन्ने कुरा विश्वास गर्न सबैलाई गाह्रो भइरहेको छ। मणिपालको नामको जग्गामा शंका–उपशंका उत्पन्न हुँदै गर्दा सुरुमा पनि आफूलाई पत्याउनै गाह्रो भएको बतासले बताए।

‘४० रोपनी मणिपालको नाम हो भन्ने कुरा कसैलाई थाहा छैन। यो कुरा हामीले भन्दा पनि कसैले पत्याउँदैन किनभने अस्पताल सञ्चालन भएदेखि नै बुझिँदै आएको एउटा कुरा थियो तर अहिले आएर मणिपालको ४० रोपनी जग्गा आफ्नै नाममा छ भन्दा यहाँका बासिन्दा अचम्भित भएका छन्’, उनले भने, ‘हुन त सुरुमा मैले पनि पत्याएको थिइनँ। पछि मात्र लालपुर्जा, एग्रिमेन्टलगायत कागजात हेरेपछि मात्रै थाहा भयो। मलाई जस्तै तर सबैलाई त्यही लागिरहेको छ, ४० रोपनी जग्गा मणिपालको होइन। यो झुटो कुरा हो। तर यो कुरा कानुन अनि लालपुर्जाले बोल्छ।’

आफूहरू दुवै जना मिलेर सम्झौताअनुसार नै अगाडि बढेको उनले उल्लेख गरे। बतास र पौडेलले सुटुक्क खरिद गरेको आरोप खेप्दै गर्दा सरकारी जानकारीबिना खरिद–बिक्री गर्न नमिल्ने बतास बताउँछन्।

‘सरकारी जानकारीबिना कुनै कम्पनीको स्वामित्व फेरबदल गर्न मिल्दैन, यो सबैलाई थाहा भएकै कुरा हो। सेयर किनबेचको कुरा गर्ने हो भने सरकारबाट अनुमति लिएर गर्नुपर्छ भन्ने कानुनी व्यवस्था छैन। र, त्यस्तो अभ्यास पनि भएको छैन’, उनले भने, ‘हल्ला एउटा कुरा हो, कानुन अर्को कुरा हो। हामीले सेयर किनेको हो। कानुनी भाषामा भन्नुपर्दा मणिपालको शतप्रतिशत सेयर किनेको हो।’

खरिद भए पनि ५ वर्षसम्म ‘मणिपाल’ नै

अस्पतालको मुख्य भवनबाहेक अन्य भवन निश्चित अवधिपछि सरकारलाई हस्तान्तरण गरिनेछ। यो सबै कुरा बुझेरै बतास र पौडेलले खरिद गरेका हुन्।

तर, आफूहरूले खरिद गरे पनि ५ वर्षसम्म मणिपाल शिक्षण अस्पतालकै नाममा चल्ने बतास बताउँछन्।

उनी भन्छन्, ‘अस्पतालको व्यवस्थापन तथा सञ्चालन ५ वर्षका लागि मणिपाल समूहले गर्ने गरेर सम्झौता भएको छ। यसबापत मणिपाल समूहलाई ब्रान्ड रोयल्टीसमेत तिर्ने सम्झौता हामीबीच भएको छ। ५ वर्षको अवधि सकिएपछि के गर्ने त्यसबारे त्यही बेला थाहा हुन्छ। आवश्यकताअनुसार सम्झौता फेरि थप्न पनि सकिन्छ।’

मणिपाल शिक्षण अस्पताल ३ अर्बभन्दा बढी रूपैयाँमा खरिद सम्झौता भइसके पनि मणिपाल समूहसँग ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ भएकाले खरिद प्रक्रिया टुंगो लागेपछि मात्रै यसबारे विस्तृतमा जानकारी दिने बतासले बताए।

मणिपाल मेडिकल कलेजमा अहिले एमबिबिएस, पिजी र नर्सिङका कक्षा सञ्चालित छन्। अस्पतालले एमबिबिएस अध्ययनका लागि वार्षिक सय जना विद्यार्थी भर्ना गर्न अनुमति पाउँदै आएको छ। गण्डकी प्रदेशको सुविधा सम्पन्न यो अस्पतालमा बेड संख्या ७५० छ।

 

तत्कालीन शिक्षा तथा संस्कृति मन्त्रालयका सचिव ईश्वरप्रसाद उपाध्याय र मणिपाल समूहका अध्यक्ष रामदास एम पाईबीच भएको सम्झौतापत्रमा गरिएको हस्ताक्षर।

भदौ १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्