मुटु रोग विशेषज्ञ डा.प्रकाश राज रेग्मीसँगको अन्तर्वार्ता

उच्च रक्तचाप घटाउन मुटुरोग विशेषज्ञका यी सुझाव

शरीरमा रगतको दबाब १२०/८० एमएम एचजीभन्दा बढी भएपछि उच्च रक्तचापको समस्या भएको मानिन्छ। रक्तचाप उच्च भएपछि हृदयघात, स्ट्रोक, मिर्गौला फेल लगायतका विभिन्न समस्या निम्तिन सक्छन्।

उच्च रक्तचाप भएपछि थकान महसुस हुने, टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, छाती भारी हुने, आँखा धमिलो हुनेजस्ता लक्षण देखापर्ने चिकित्सक बताउँछन्।

यसै सन्दर्भमा हामीले उच्च रक्तचापका लक्षण, कारण तथा समाधानका बारेमा मुटु रोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीसँग कुराकानी गरेका छौँः

१) उच्च रक्तचाप भनेको के हो? यो कसरी हुन्छ?

— उच्च रक्तचाप भनेको संसारको सबैभन्दा धेरै मान्छेलाई हुने रोग हो। अहिले कस्तो स्थिति छ भने, संसारमा ठूला–ठूला सहरहरुमा त झन्डै—झन्डै ४०/५० प्रतिशत वयस्कलाई अर्थात १८ वर्षभन्दा माथिका ४० देखि ५० प्रतिशत मान्छेहरुलाई ब्लड प्रेसरको रोग छ।

हाम्रो नेपालकै कुरा गर्ने हो भनेपनि शहर बजारमा झण्डै–झण्डै तीन जनामा एकजनालाई, ३० देखि ३५ प्रतिशतसम्म वयस्कहरु (१८ वर्षभन्दा माथि)लाई ब्लड प्रेसर भएको देखिन्छ।

ब्लड प्रेसरको कारणले गर्दाखेरि मान्छेलाई हृदयघात हुने, मस्तिष्कघात हुने, अन्धोपन हुने, किड्नी फेल हुने हुन्छ।

ब्लड प्रेसर आफैँमा चाहिँ यो मृत्युको कारण होइन। ब्लड प्रेसरले मान्छेलाई मृत्यु गराउने होइन, तर यसको कारणले जुन कम्प्लिकेसन हुन्छ, जुन खतराहरु उत्पन्न गराउँछ त्यसबाट मान्छे मर्छ।

ब्लड प्रेसरबाट हृदयघात हुन्छ, ब्लड प्रेसरबाट हार्ट फेल हुन्छ, यसबाटै मस्तिष्कघात हुन्छ, अनि मान्छेको मृत्यु हुन्छ। ब्लड प्रेसरको कम्प्लिकेसन चाहिँ हाम्रो लागि खतरा हो।

ब्लड प्रेसरको बारेमा बुझ्नका लागि हामीले पहिला मुटुको बारेमा बुझ्न जरुरी छ। मुटुले रगत फाल्छ। रगत फाल्दाखेरि रक्तनलीबाट रगत सञ्चालित हुन्छ, अनि मुटुले पम्प गर्दाखेरिको रगत रक्तनलीमा जोडसँग जान्छ।

जोडसँग जाँदाखेरि रगतले रक्तनलीको भित्तामा जुन प्रेसर दिन्छ, त्यसलाई ब्लड प्रेसर भनिन्छ।

एउटा माथिल्लो ब्लड प्रेसर भन्ने हुन्छ, अर्को तल्लो ब्लड पेसर। सिस्टोलिक र डायलोस्टिक ब्लड प्रेसर।

ब्लड प्रेसरभन्दा जहिले पनि १२० का मुनि ८० भनिन्छ नी। एउटामाथिको अनि अर्को तलको।

पम्प गर्दा खेरि जुन चाप धेरै हुन्छ त्यो माथिको हो। अनि फेरि फुक्दा मुटु त एकछिन रेष्ट गर्छ। रेष्टगर्दा घट्छ त्यो घटेको चाहिँ तलको हो।

अब नर्मल मान्छेमा ब्लड प्रेसर १३० का मुनि ८० सम्म ठीक हो। यो ब्लड प्रेसर एकदमै नर्मल हो।

तर १३० का मुनि ८० भन्दामाथि गयो, १४०, १५० त्यस्तै तलको ८० बाट ९०, ९५, १००। यसरी ब्लड प्रेसर बढेपछि मान्छेलाई उच्च रक्तचाप भयो भनेर हामीले भन्छौँ।

२) यसका लक्षणहरु?

—उच्च रक्तचाप हुँदाखेरि मान्छेलाई कुनै लक्षण नहुन सक्छ। यसको सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने उच्च रक्तचापको लक्षण हुँदैन।

९० प्रतिशतलाई लक्षण हुँदैन, करिब १० प्रतिशतलाई हुन सक्छ। त्यो लक्षणहरु भनेको टाउको दुख्ने, चक्कर लाग्ने, छाती भारी हुने यस्ता खालका लक्षण हुन्छन्।

मुख्य लक्षण भनेको टाउको दुख्ने लक्षण हो। त्यसैले ब्लड प्रेसर हुँदाखेरि लक्षण हुनैपर्छ भन्ने छैन, नहुन पनि सक्छ। धेरैजसो अवस्थामा लक्षण हुँदैन। लक्षण नभए पनि ब्लड प्रेसरले ठूलो नकारात्मक असर गर्न सक्छ।

उच्च रक्तचापको लक्षण हुँदैन यो सबैभन्दा महत्वपूर्ण कुरा हो, सामान्यतया यसलाई साइलेन्ट किलर भनिन्छ। यो साइलेन्ट किलर भनेको सुसुप्त हत्यारा हो।

लक्षण छैन तर मान्छे एकाएक ढल्छ। भनेपछि ब्लड प्रेसरले धेरै जसो अवस्थामा कुनैपनि लक्षण नदेखाइकन मान्छेलाई मृत्युको मुखमा पुर्याउँछ।

यसको सबैभन्दा खतरनाक पक्ष त्यो। हामी मान्छेलाई के लाग्छ भने ब्लड प्रेसर हुँदाखेरि पनि लक्षण नहुने हुँदा हामीले उपचार गर्न त्यति ध्यान दिँदैनौँ। अनि उपचार नगर्दा बढेको ब्लड प्रेसरले भित्रभित्रै असर गरेको हुन्छ।

मुटुलाई असर गर्छ, किड्नीलाई असर गर्छ, आँखालाई असर गर्छ, दिमागलाई असर गर्छ र त्यो जब लक्षण देखिन थाल्छनी ढिलो भइसकेको हुन्छ।

त्यसैले उच्च रक्तचाप समयमै पत्ता लगाउन त्यसको परीक्षण गरेर पत्ता लगाउन र त्यसको उपचार गराउन आवश्यक हुन्छ।

३) यसका कारणहरु?

—उच्च रक्तचाप पनि मोटामोटी दुई किसिमको हुन्छ।

प्राइमरी हाइपर्टेनसन– यसको सम्बन्ध जीवनशैलीसँग छ। यसको कारण भन्ने हुँदैन तर यसको थुप्रै कारक तत्व हुन्छ। आहार, विहार तथा वंशानुगतमा भरपर्छ।

यदि ब्लड प्रेसरका रोगी छन्, ९० प्रतिशतका रोगीहरुलाई कारण नै नभाको किसिमको ब्लड प्रेसर हुन्छ।

यो विशेषगरी २५—३० वर्ष कटेपछि आउँछ। जिवनशैलीलाई सुधार्यो भने ब्लड प्रेसर कम हुन्छ।

— अर्को ब्लड प्रेसर छ– द्वितिय ब्लड पेसर अर्थात सेकेन्डरी हाइपर्टेनसनः यसको पछाडि ठ्याक्कै कारण हुन्छ।

कस्तो कारण हुन्छ भने किड्नीमा रोग हुन्छ। किडनीमा रोग लाग्यो, ब्लड प्रेसर ह्वातै बढ्छ। कि त रक्तनलीको रोग हुन्छ। रक्तनली साँघुरो भयो, त्यो कारणले पनि ब्लड प्रेसर हुन्छ। कि त हर्मोनको रोग हुन्छ। शरीरमा हर्मोनको गडबडी भयो भने पनि ब्लड प्रेसर हुन्छ। ट्युमरले गर्दापनि ब्लड प्रेसर हुन्छ।

— द्वितिय उच्च रक्तचाप धेरै जसो कलिलो उमेरमा हुन्छ। १८ वर्षभन्दा कमको उमेरमा हुन्छ। भनेपछि १८ वर्षभन्दा कम उमेरका व्यक्तिहरुलाई ब्लड प्रेसर एकदमै बढेको छ भने हामीले के सोच्नुपर्छ भने यसलाई कतै किड्नी पो बिग्रेको छ कि, भित्र ट्युमर पो भाको छ की। नशा पो सुकेको छ कि। र यो कारण यदि हामीले पत्ता लगाउन सकियो भने ब्लड प्रेसर पूर्णरुपमा ठीक हुन्छ।

त्यसैले एउटा द्वितिय उच्च रक्तचाप। यसको कारण हुन्छ तर कारण खोज्नुपर्छ। सानो उमेरमा हुन्छ। र यसमा ब्लड प्रेसर एकदमै हाइ हुन्छ। जस्तो १८०, २०० सम्म पुग्छ।

र अर्को कारण नै नभएको एसेससीयल हाइपर्टेन्सन। धेरैजसो अलि पाको उमेरकोलाई हुने। जीवनशैलीसँग सम्बन्धित हुने, ब्लड प्रेसर अलिअलि गरेर बढ्ने। एकैचोटि ह्वात्तै नहुने। जीवनशैलीलाई सुधार्यो भने ठीक भएर जाने।

ब्लड प्रेसर बढाउँछ नुनले। नेपालीहरुले चाहिँ जति नुन खानु पर्ने हो त्यो भन्दा डबल नुन खान्छन्। नेपालीहरुलाई ब्लड प्रेसर हुनुको कारण पछाडि त्यो पनि एउटा कारण हो। र अर्को मानसिक तनाव पनि हो।

४) कसरी नियन्त्रण गर्नुपर्छ?

— नुनमा नियन्त्रण गर्ने, चिल्लो नियन्त्रण गर्ने। मोटो मान्छे छ भने अलिकति दुब्लाउने। यसले पनि ब्लड प्रेसर घटाउँछ।

व्यायाम गर्ने। मधुमेह भएका मानिसहरु छन् भने त्यसलाई कन्ट्रोल गर्नुपर्‍यो। जसलाई मधुमेह छ उसलाई त अलिअलि बढेको ब्लड प्रेसरले पनि धेरै गाह्रो पार्छ।

त्यसैले डायबेटिज भएको मान्छे र नभएको मान्छेलाई उपचारमा फरक छ। मधुमेह भएका मानिसलाई ब्लड प्रेसर अझ धेरै कम गर्नुपर्छ। किड्नीको रोग लागेकोलाई पनि यो जतिसक्दो कम गरेको राम्रो।

त्यसैले हामीले ब्लड प्रेसरको बारेमा के बुझ्यौँ त भन्दा यसको लक्षण हुँदैन। लक्षण नभए पनि यदि ब्लड प्रेसर छ १३० का मुनि ८० छ भने उपचार छ।

उपचारको शिलशिलामा पहिला हामीले जीवनशैली सुधार्नुपर्छ। खानपान, व्यायाम, चुरोट, सूर्ति छोड्ने, मोटोपन घटाउने, तनाव व्यवस्थापन गराउने।

यी कुराहरु गर्दाखेरि पनि ब्लड प्रेसर ठाउँमा आएन भने औषधी खानुपर्छ। र औषधीको सम्बन्धमा पनि धेरै भ्रमहरु छ– एकपटक औषधी खाएपछि छोड्न हुँदैन, जिन्दगीभर औषधी खानुपर्छ, साइड इफेक्ट गर्छ, यसले किडनी विगार्छ, यसले लिभर बगार्छ भन्ने खालका।

यसका कयौँ भ्रमहरु छन्। ब्लड प्रेसरको औषधी सुरु गरिसकेपछि छाड्न हुँदैन भन्ने कुराहरु पनि गलत छ।

कयौँ मान्छेहरुको प्रेसरको औषधी छुटाउन सकिन्छ। हिजोआज धेरै प्रभावकारी पद्धतिहरु छन्। जीवनशैलीलाई राम्रो सुधार गर्नुपर्‍यो।

जो मान्छेको जीवनशैली खराब छ, मनपरी खान्छ, मनपरी गर्छ, चुरोट तान्छ, रक्सि धेरै खान्छ, तनाव धेरै छ, ब्लड प्रेसर बढ्यो, उसलाई औषधीमा केही समय राख्यो, उसको जीवनशैली पनि सुधार्‍यो, चुरोट छोड्यो, व्यायाम गर्‍यो, ज्ञानी भयो, निन्द्रा लाग्यो भने त्यस्तो मान्छेलाई ब्लड प्रेसर घटेर नर्मल भयो भने औषधी छुटाउन सकिन्छ।

त्यसैले ब्लड प्रेसरको औषधी उचित समयमा गएर डाक्टरको सल्लाहबाट त्यसलाई छुटाउन पनि सकिन्छ।

अर्को कुरा ब्लड प्रेसरको औषधीले साइड इफेक्ट गर्छ भन्ने कुरा पनि गलत हो। साइड इफेक्ट त जेले पनि गर्छ। तर त्यस्तो खराब नै गर्ने साइड इफेक्ट हैन यो। कतिलाई ब्लड प्रेसरको औषधीले खुट्टा सुन्निने गर्छ। एक किसिमको औषधीले खुट्टा सुन्निने गर्छ।

तर त्यो औषधीले गर्दा भएको रहेछ भने छोड्ने वित्तिकै फेरि सुन्निन कम हुन्छ। त्यसले कुनै नराम्रो असर राख्दैन। यसले किड्नी बिर्गाछ भन्ने कुरा पनि होइन। ब्लड प्रेसरको औषधीले त किड्नीलाई बचाउँछ।

त्यसैले प्रेसरको औषधीले शरीरका कुनै पनि अंगलाई असर गर्दैन। त्यसैले यो भ्रमबाट पनि हामी मुक्त हुनुपर्छ।

अर्को कुरा बानी पर्छ। बानी पर्छ भनेर औषधी नखाने भन्ने कुरा आउँदैन। मान्छेलाई ब्लड प्रेसरको रोग छ। औषधी गरेन भने उसलाई हृदयघात हुने, मस्तिष्कघात हुने, मान्छेको मृत्यु नै हुने सम्भावना बढी हुन्छ।

भने एक चक्की औषधी खाएर त्यो ठीक हुन्छ भने औषधी खाएर के नै हुन्छ र। एक दुई चक्की औषधी खाएर मान्छेको जिन्दगी बाँच्छ भने त तयो त राम्रै कुरा हो नी।

त्यसैले हामीले कुन रुपमा लिनुपर्छ त भन्दाखेरि औषधी उपचारप्रति नकारात्मक धारणा राख्नु हुँदैन। औषधीले राम्रै गर्छ नराम्रो गर्दैन, औषधीको साथसाथमा जीवनशैली पनि सुधार्नुपर्छ। खानपानमा हामीले ध्यान दिनुपर्छ।

व्यायाम गर्नुपर्छ, मानसिक तनाव लिनु हुँदैन, रातभरि बसेर टिभि हेर्ने, मोबाइल हेर्ने, राति ढिलोसम्म बस्ने, अनि बिहान फेरि ढिलोसम्म सुत्ने, त्यस्तो लाइफस्टाइल गर्नु हुँदैन।

टाइममा सुत्ने, टाइममा उठ्ने, निन्द्रा पुर्‍याउनुपर्छ, अरुसँग झगडा गर्नु हुँदैन, बोली, वचन व्यवहार राम्रो गर्नुपर्छ, त्यस्तो भयो भने त मान्छेको ब्लड प्रेसर घटिहाल्छ।

उसले औषधी नै खानुपर्दैन। त्यसैले जीवनशैलीलाई सुधार्नु पर्‍यो। अनि त्यसपछि चाहिन्छ भने औषधी खानुपर्‍यो। औषधी खान्न भनेर ढिपि लिनु भएन।

डाक्टरको सल्लाह अनुसार चल्नुपर्‍यो। लक्षण नै छैन भने पनि जचाएर उपचार गर्नुपर्‍यो। र तपाईं यदि २० वर्षको उमेर कट्नुभएको छ भने वर्षमा एकपल्ट ब्लड प्रेसर जाँच्नैपर्छ।

यदि वंशमा ब्लड प्रेसरको रोग छ, घरमा ब्लड प्रेसर भएर मान्छेलाई हृदयघात भाको छ, स्ट्रोक भाको छ परिवारमा कसैलाई भने त्यस्ता परिवारका व्यक्तिहरुले तीन महिनामा ब्लड प्रेसर नाप्नुपर्छ।

अहिले त आफ्नै घरमा ब्लड प्रेसर नाप्ने मेसिन राखेर आफूले त्यसलाई कुनै गाह्रो छैन। तालिम लिएर ब्लड प्रेसर आफ्नो पनि नाप्ने, परिवारका अन्य सदस्यहरुको पनि नाप्ने, गरेर घरमा नै ब्लड प्रेसर नाप्ने यो एउटा परिस्थति हामीले सिर्जना गर्नुपर्छ।

त्यसैले ब्लड प्रेसर चाहिँ आजको दिनमा एकदमै ठूलो समस्या हो। सुन्दाखेरि, हेर्दाखेरि, मामुली समस्या जस्तो लाग्छ थर यो मामुली समस्याले चाहिँ ठूलो दुर्घटना निम्त्याउँछ।

आज जति मानिसहरुको एकाएक मृत्यु भएको हामीहरु देख्छौँ, एकदमै योङ उमेरमा नै हामीले मान्छेहरु मरिरहेका देखेका छौँ। र कतिलाई प्यारालाइसिस भएर हामीले ढलेको देखेका छौँ।

यसको चाहिँ मुख्य कारण नै के हो त भन्दाखेरि ब्लड प्रेसर हो। त्यसैले यसप्रति हामी एकदम सावधानी रहनुपर्छ।

सावधान भयौँ भने हामी यसबाट बच्न सक्छौँ, हाम्रो अध्ययनले के देखाएको छ भने– समाजमा जति व्यक्तिहरु हुनुहुन्छ त्यसको आधा ब्लड प्रेसर भएका व्यक्तिहरुमध्य आधा व्यक्तिहरुलाई ब्लड प्रेसर छ भन्ने कुरो थाहा हुँदैन।

जसलाई ब्लड प्रेसर छ भन्ने थाहा छ नी त्यसको आधा मान्छेहरुले ब्लड प्रेसरको औषधी गरिराख्या हुँदैन। जसले औषधी गरिराख्या हुन्छ त्यो औषधी गरिराखेका मानिसहरु मध्ये पनि ५० प्रतिशतले औषधी खाएपनि अपुरो हुन्छ डोज।

झण्डै ९० प्रतिशत ब्लड प्रेसरका रोगीहरुको या त उपचार नै भएको छैन या त उपचार भएपनि ब्लड प्रेसर कन्ट्रोल भएकोछैन।

ब्लड प्रेसर राम्रोसँग कन्ट्रोल भएको भनेको १०० मा दश जनाको हुन्छ। हम्रो समाजमा किन यतिका धेरै हृदयघात, स्ट्रोक, योङ मानिसहरु किन मरिरहेका छन् भन्दा हाम्रो समाजमा जतिलाई ब्लड प्रेसर छ उहाँहरुले या त उपचार गर्‍या छैन या त उपचार गरेपनि त्यो उपचार डोज पूरा नगरी उसले आवश्यक मात्रामा औषधी खाएको छैन। हामीले यो कुरा बुझ्नुपर्‍यो र हामी सावधान हुनुपर्‍यो।

लक्षण नभए पनि यदि ब्लड प्रेसर छ भने औषधी गर्नुपर्‍यो। तपाईले नियमित रुपमा ब्लड प्रेसर जाँच्नु पर्‍यो। र जीवनशैलीमा ध्यान दिनुपर्‍यो खानपान एउटा पक्ष हो।

कतिपय मानिसहरुले अनार खायो भने ब्लड प्रेसर बढ्छ भन्नुहुन्छ। तर त्यसो होइन। अनारले ब्लड प्रेसर बढाउँदैन। अनारले ब्लड प्रेसर घटाउँछ। जुनसुकै फलफूलले पनि ब्लड प्रेसर घटाउँछ किनभने फलफूलमा पोटासियम हुन्छ। यो पोटासियमले ब्लड प्रेसर घटाउँछ।

त्यसैले हामीले प्रसस्त फलफूल खानुस् भनेको कारण त्यो। हरियो सागपातले पनि ब्लड प्रेसर घटाउँछ। त्यसैले ब्लड प्रेसर घटाउने खाना हामीले प्रशस्त खानुपर्छ। ब्लड प्रेसर बढाउने खाना भनेको धेरै चिल्लो, नुनिलो र तयारी खाने कुरा हो।

भदौ १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्