अमेरिकामा बाढी तथा टोर्नाडोका कारण कम्तीमा ४१ जनाको मृत्यु

जलवायुजन्य संकटसँग जुध्नका लागि ऐतिहासिक लगानीको खाँचो रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

अमेरिकाको उत्तर–पूर्वी क्षेत्र आइडा आँधीसँगै भीषण बाढी तथा टोर्नाडोबाट गुज्रिरहेका बेला राष्ट्रपति बाइडेनले जलवायुजन्य जोखिम न्यूनिकरण र त्यससँग जुध्नका लागि ठूलो लगानी आवश्यक पर्ने बताएका हुन् ।

भलबाढी तथा टोर्नाडोका कारण अमेरिकाको उत्तर पूर्वी क्षेत्रमा कम्तीमा ४१ जनाको ज्यान गएको छ ।

राष्ट्रपति बाइडेनले अमेरिकाले पछिल्लो समय सघन रुपमै जलवायुजन्य विपत्ति र विनासको सामना गरिरहेको र यसलार्य जीवन र मृत्युको विषयका रुपमा लिइनु पर्ने उल्लेख गरे ।

पछिल्लो केही दिनमा न्यूयोर्क सिटी र न्यू जर्सीमा भीषण वर्षा भएको छ । त्यहाँका केही बासिन्दाहरु बाढीका कारण घरको बेसमेन्ट तथा कारमा फसेका छन् ।

न्यू जर्सीमा कम्तीमा २३ जनाको ज्यान गएको छ । यस्तै न्यूयोर्क सिटीमा कम्तीमा १४ जनाको ज्यान गएको उल्लेख छ । यस्तै पेन्सिलभेनियाको फिलाडेलफिया नजिकै तीनजना तथा केनटिकटमा एकजनाको ज्यान गएको छ ।

आँधीमा जलवायु परिवर्तनको प्रभाव स्पष्ट भइसकेको छैन । तर समुद्री सतहको तापक्रम बढ्दा आँधीलाई थप शक्तिशाली बनाउन भने सहयोग पुगेको छ ।

भदौ १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्