दोलखाका गाउँगाउँ पुगेर योजना सम्झौता

चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिकाले गाउँगाउँमा पुगेर योजना सम्झौता सुरु गरेको छ। उपभोक्ता समितिलाई सहज गराउन र समयमा काम सम्पन्न गराउने उद्देश्यले गाउँपालिकाले विकास शिविर योजना आयोजना गरी योजना सम्झौता सुरु भएको गाउँपालिकाले जनाएको छ।

०७८/७९ मा गाउँपालिकाबाट छनोट भएका योजना समयमै सम्पन्न गराउन र उपभोक्तालाई योजना सम्झौता गर्न पालिकासम्म आउनुपर्ने बाध्यतालाई गाउँमा सम्झौताको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष विनकुमार थामीले जानकारी दिए।

पालिकामा योजना सम्झौताका लागि विभिन्न वडाबाट एक दिनको बाटो खर्च गरेर पालिका आउनुपर्ने बाध्यता थियो। पालिकामा आउँदा सम्झौताका लागि कागजपत्र नपुग्ने र उपभोक्ताले दुःख पाउने गरेकामा टोलटोलमै गएर योजना सम्झौता गर्दा सहज हुने गरेको प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले बताए।

समृद्ध कालिञ्चोकका लागि विकास शिविर कालिञ्चोक–६ लापिलाङबाट बिहीबारदेखि सुरु गरिएको छ। प्रत्येक वडामा एक–एक दिन शिविर सञ्चालन गरिने र भदौ २७ गतेसम्म पालिको सबै वडामा योजना सम्झौताको काम सकिने योजना रहेको इन्जिनियर नारायण शिवाकोटीले जानकारी दिए। पालिकाको यस वर्ष करिब ३ सयभन्दा बढी योजना छ।

आफूहरू निर्वाचित भएर ल्याएको अन्तिम बजेट भएको र समयमै सक्नुपर्ने बाध्यतासमेत रहेको हुँदा समयमै काम सुरु गराउन लागिएको अध्यक्ष थामीले बताए।

पालिकाले समयमै योजना सक्न छुटै व्यवस्थासमेत बनाएको छ। समयमै योजना सम्झौता भए पनि भुक्तानीका लागि आर्थिक वर्षको अन्त्यसम्म पर्खने उपभोक्ताको बानीलाई सुधार गराउन एक लाखसम्मको योजना सम्झौता भएको मितिले एक महिनाभित्र र पाँच लाखसम्मको योजना तीन महिनाभित्र तथा १० लाखसम्मको योजना पाँच महिनाभित्र सम्पन्न गरी भुक्तानी लिनुपर्ने प्रावधान तय गरिएको छ।

भदौ १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्