पूर्वगृहसचिव गोविन्द कुसुमले ल्याए आफ्ना रोचक संस्मरणहरुको किताब

काठमाडौँ – पूर्वसचिव गोविन्दप्रसाद कुसुमले ‘प्रशासनभित्रको प्रशासन’ नामक संस्मरणात्मक कृति सार्वजनिक गरेका छन्।

सांग्रिला बुक्सले प्रकाशन गरेको पुस्कतलाई पूर्व महान्यायधिवक्ता डा. युवराज संग्रौला र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त सावित्री थापा गुरुङले सार्वजनिक गरेका हुन्।

शाखा अधिकृतदेखि महावाणिज्यदूत र सचिव हुँदै संवैधानिक निकायमा पदाधिकारी भएर प्रशासनिक र कुटनीतिक क्षेत्रमा ३६ बर्ष बिताएका कुसुमले आफ्नो जागिरे जीवनमा बेहोरेका तितामिठा अनुभवलाई पुस्तकमा उतारेका छन्।

पुस्तकमाथि टिप्पणी गर्दै डा. संग्रौलाले कूटनीति लगायतका अन्य समस्या समाधान गर्न नसक्नुका कारण, विचौलियाबाट प्रभावित राजनीतिक नेतृत्व तथा त्यसले कर्मचारीतन्त्रलाई पारेको समस्या र अन्तरकर्मचारी सम्बन्धका बारेमा पुस्तकले आफ्नो ध्यान आकर्षित गरेको बताए।

उनले पुस्तक प्रशासनका थुप्रै पाटोको अनुसन्धानका लागि उपयोगी हुने बताए। सामान्यतया स्समरणात्मक कृतिमा आत्म प्रशंसाको मात्रा धेरै हुने भए पनि कुसुमको पृस्तकमा त्यो नभएको उल्लेख गरे।

उनले भने, ‘यो किताब छोटो शैलीमा लेखिएको छ। अटोबायोग्राफीमा आत्मप्रशंसा हुन्छ। तर यो किताबमा त्यस्तो आत्म प्रशंसा छैन।’

डा. संग्रौलाले नेपाल, भारत र चीनको सम्बन्धमा नेता बिचौलिया भएपछि देश र प्रशासनले कस्तो नियति भोग्नुपर्छ भन्ने कुरा पस्तकले उजागर गरेको टिप्पणी गरे।

त्यस्तै उनले नेपालको कर्मचारी प्रशासनमा रहेका व्यक्तिहरु गैरसरकारी संस्थाका बारेमा बोल्न नचाहने अवस्थामा कुसुमले त्यसलाई नेपाली राजनीति र समाज बिग्रनुको एउटा कारणका रुपमा उल्लेख गर्नु प्रशंसनीय भएको बताए।

पुस्तकमाथि टिप्पणी गर्दै गुरुङले प्रशासनको एक कालखण्डको इतिहासलाई लेखकले इमान्दारिताका साथ लिपिवद्ध गरेको बताइन्। उनले प्रशासकले लेखेको भए पनि पठनका हिसाबले निकै सरस भाषामा पुस्तक आएको पनि उल्लेख गरिन्।

उनले पूर्वप्रशासकको अनुभव मिश्रित पुस्तक प्रशानसका रहेका, प्रशासनमा आउन चाहने, नेता, कार्यकर्ता लगायत सर्वसाधारणका लागि पनि नेपालको प्रशासन बुझ्न निकै उपयोगी सामग्री हुने ठोकुवा गरिन्।

डायरी लेख्ने आफ्नो बानीका कारण समय र घटनाहरु उतार्न सजिलो भएको बताउँदै लेखक कुसुमले आफूले यो पुस्तक मार्फत अनुभव हस्तान्तरणको जिम्मेवारी निभाएको बताए।

प्रशासकले इतिहास लिपिवद्ध नगर्नाले अनुभवहरु केवल फलानाले भनेको र फलानाको पालामा भएकोमा सिमित भएकाले आफूले यो जमर्को गरेको उनको भनाइ थियो। छत्तिस बर्षको अनुभव लेख्न चार महिना लागे पनि यो आफ्नो अनुभवको सानो अंशमात्र उनले कार्यक्रमम बताए।

भदौ १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्