मुखमा रामराम बगलीमा छुरा

पचासौँ वर्षदेखि हिजोअस्तिसम्म एउटै दलमा बसेर मिलीजुली मोजमस्ती गर्दै आएका र पटक पटक सरकार प्रधान हुने मौकासमेत पाएका बालकोटे र कोटेश्वरे कामरेडले दल छुट्याएर अलग हुनासाथ एकअर्काको खुबी र क्षमताबारे सार्वजनिक जानकारी गराउँदै भोट दिएर जिताउने अनि सधैँभरि उहाँहरूको भलो चिताउने जनताको अगाडि आफ्नै सुन्दर भविष्यका अवसर बिताउने काम गरे भनेर कुरा काट्ने अबुझहरूलाई के भन्न सकिन्छ र? दल छुट्टिएर अलग–अलग दलको अध्यक्ष भएपछि एकअर्काको खुबीबारे जनतालाई जानकारी गराएको र एकअर्काको विरुद्धमा यति ठूलो स्वरमा कराएको सुन्दा ज्यादै योग्य र जनवादी नेतालाई भोट हालिएछ अनि यस्ता सक्षम नेतालाई यत्रो वर्षसम्म कर तिरेर पालिएछ भनेर जनता खुसी भएका छन्।

झण्डै एक वर्षदेखि एकअर्काको गल्ती कमजोरी केलाउने र जानेसम्मका छुद्र गाली गलौजमा जिब्रो खेलाउने गर्दै आएर दल टुक्रेपछि अझ विस्तृत र तल्लो स्तरमै ओर्लिएर दोषारोपण गरेको भनेर आरोप लगाउनेहरूले कुरो बुझेर मात्रै बोल्ने गरेमा राम्रो हुन्थ्यो होला। उहाँहरूको वास्तविक क्षमता उहाँहरूबाहेक अरुलाई थाहा हुने कुरै भएन। यति लामो समयसम्म संगत गर्दा पनि एकअर्कालाई भित्रैदेखि नचिने संगत गर्नुको अर्थै पनि भएन। अहिले उहाँहरूले छुट्टाछुट्टै मञ्चबाट बोलेको र एकअर्काबारे खोलेको रहस्यले सबैभन्दा सन्तुष्टिचाहिँ जनतालाई भएको छ।

आफूले अमूल्य भोट दिएर र दुई तिहाइको सुविधा लिएर सरकारमा बस्दा पनि वर्षौंको कुण्ठा पिएर अनि भागबण्डाद्वारा मुख सिएर चुपचाप नबसी यसरी एकअर्काको बखान गरेर जनतालाई मनोरञ्जन गराउन सक्नुलाई जनताले ठूलो कार्य ठानेका अनि जति नै ठूलो पदमा पुगे पनि गाली शिरोमणिको उपाधिका लागि दुवै जना शतप्रतिशत योग्य भएको मानेका छन्। मुखमा रामराम बगलीमा छुरा गर्नुभन्दा यसरी सिधा कुरा गर्र्नु ज्यादै राम्रो हो भन्ने जनताको धारणा रहेको छ।

जनताको अपार भोट पाएको र एकलौटी सरकार बनाएर खाएको करिब दुई वर्षदेखि खानपिनको मात्रा नमिलेर सबैतिर छरपष्ट हुनेगरी निकालिएको जात्रा बढ्दै गएर तेस्रो वर्ष सकिनासाथ दल नै चोइटिएर एकबाट दुई र दुईबाट तीनसम्म हुँदा सबैभन्दा ठूलो दलको एकता पनि गयो, सरकार पनि गयो, सबैले खाइपाइ आएको अतिरिक्त अदृश्य सरकारी सुविधा पनि गयो अनि सबैभन्दा नाफाचाहिँ जनतालाई भयो। एउटा दललाई भोट दिएर जिताएकोमा अर्को चुनाव आउनुअघि नै तीन भोटसरह तीन–तीनवटा दल पाउनु भनेको सानो नाफा होइन नि ! एउटा बलियो एकीकृत दलबाट तीनवटा दल हुनेसम्मको विकासक्रममा कुर्सीको तानातान र त्यसैमा केन्द्रित भएर शब्दबाण हानाहानबाहेक कुनै पनि नेताले जानाजान देश र जनताबारे एक शब्दसम्म खर्च गर्ने कष्ट नगरेकोमा यस्ता नचाहिने कुरा गरेर समय नष्ट नगर्नु नेताहरूको महानता हो भन्ने जनताले राम्ररी बुझेका छन्।

अहिले कोटेश्वरे कामरेड र स्वघोषित महान् नेतासमेत रहेका खुमलटारे कामरेडले बालकोटे कमरेडको बखानमा खर्चेका ज्यादै वजनदार गाली पुराण र बालकोटे कमरेडले दुवैजनाको साथै खासगरी कोटेश्वरे कामरेडबारे चर्चेका वाक्य सुन्दा उहाँहरू तीनैजना बराबरका नेता त यो जगतमै रहेनछन् भन्ने जनतालाई पक्का भएकाले आउँदो चुनावमा यी तीनै जनाले सबैलाई नराम्रो धक्का दिएर दुई तिहाइ भन्दा पनि शतप्रतिशत भोटै आफ्नो पोल्टामा अटाउने र अरु सबैलाई डाँडा कटाउने अवस्था देखिन्छ। यो पनि मुखमा रामराम बगलीमा छुरा नगरी बोलेको परिणाम हुनुपर्छ।

आफ्नै दलको अध्यक्ष र सरकार प्रधानको रिसले नाम, साइनो, कार्यदिशा, सिद्धान्त आदि केही पनि नमिल्ने दलको नेतालाई जबरजस्ती कुर्सीमा बसालेको र बालुवाटारमा पसालेको दलालीस्वरुप आउने भागबण्डामा कसरी ज्यादा से ज्यादा फाइदा उठाउने भनेर मुख्य–मुख्य नेताहरूले गहिरिएर विचार गर्न नभ्याउँदै अरु भएजति सबै सानातिनाले मन्त्री पदको पगरी पहिरिएर छाड्ने सोच र दाबी एकैचोटि पेस गरिदिएको हुनाले शीर्ष नेताहरूलाई अप्ठ्यारो भएजस्तो बुझिन्छ।

हुन पनि कुरा सोह्रैआना ठीक हो। शीर्ष नेताहरूलाई सानो ठूलो जत्रो भए पनि एउटा समूहको अध्यक्ष हुनै पर्ने र त्यसको आडमा सबै सुखसुविधा छुनैपर्ने बाध्यता भएर अनेक छल गर्दै दल टुक्र्याएर मीठो फल खाने उद्देश्य पूर्तिमा सहयोग गरेपछि त्यसको बदलामा खोजेको र आफूले रोजेको मन्त्री पद पाउनु त नैसर्गिक अधिकारभित्रै पर्ने विषय हो। पहिले बालकोटे कामरेडका हितैषी भएर भरपुर फाइदा लुट्दै र उनको इशारामा अनैतिक र आपराधिक जुनसुकै कर्मका लागि पनि जुट्दै आएको देख्नेहरूलाई नै अचम्म लाग्नेगरी मन्त्री खानकै लागि अचानक विरोधी खेमामा भोट हाल्ने काम धर्म र चर्चा बटुल्न मात्रै गरिएको त पक्का पनि होइन होला।

जनताको हित गर्छु भन्ने प्रण र वाचा गर्दै चुनावमा जित भएपछि जनता सनता भाँडमा जाओस् आफूलाई चाहिँ छानेको मन्त्रालयको कुर्सी आओस् अनि पाँच वर्ष जनताले चकित खाओस् भन्ने व्यवहार शतप्रतिशत माननीयहरूबाट पाउनुमा मुखमा रामराम बगलीमा छुरा हुँदै नहुनुलाई जनताले अहोभाग्य नै मानेका छन्।

सबै अति इच्छुक छन्,सबै अति योग्य छन् भनेपछि शीर्ष नेताहरूलाई पनि गाह्रो पर्नु र यसैले उनीहरूको निद्रा हर्नु स्वाभाविक हो। यसरी सबैजना दोधारमा रहनुभन्दा जति माननीय मन्त्री खान इच्छुक छन् त्यतिवटा मन्त्रालय बनाएर र सबैको भावनामा कदर जनाएर काम गरिदिए त टण्टै खलास भइहाल्छ नि! राजनीतिमा लाज, घीन, शरमजस्ता अति प्रिय लाग्ने शब्दको सानदार प्रयोग सबैबाट ब्यापक रूपमा भइरहेको र यो व्यवसाय अति फाइदामा गइरहेका बेला यो प्रयोग पनि किन बाँकी राख्नु ?

चुनावको समयमा मतदाताको औकात र गच्छेअनुसार दालभात, मासुभात, रक्सी मासु, नगद दिएपछि र त्यसबाट मतदाताको मुख सिएपछि पाँच वर्षलाई ढुक्क हुन पाइहालिन्छ। त्यही भएर माननीयहरूलाई जनताको तर्फबाट केही डर नभएकाले आफ्नो क्षमतामाथि पूरा भर छ। उही शीर्ष तहका नेतालाई बुझाएर उम्मेदवारको टिकट किन्न पुग्ने र जनताबाट भोट छिन्न पुग्ने नगद त कुनै पनि हालत र तरिकाबाट जुटाउनै पर्ने बाध्यताले गर्दा दल त के जे पनि फुटाउनै पर्‍यो। गत चुनावमा खर्च भएको नगद पनि ब्याजसहित उठाउन नसके घाटाको व्यापार भइहाल्यो।

समानुपातिक वा मनोनीतहरूले पाँच वर्ष चुपचाप लागेर बसेजस्तो देखिए पनि भित्रभित्र आफ्नो व्यापार व्यवसायलाई फाइदा गराउने कदम चालेर र यसैको आडमा नयाँ–नयाँ काम थालेर लगानीको दशौँ भाग कमाइसकेको कसैले पत्तो पनि पाउँदैन भनेर माननीयहरू नै गाइँगुइँ हल्ला गर्छन् रे ! यसमा मुखमा रामराम बगलीमा छुरा भएको छ कि छैन भन्ने गाँठी कुरो त उहाँहरूलाई नै थाहा होला।

संसदबाट बन्ने भनेर संविधानमा लेखिएको र सबै प्रजातान्त्रिक देशमा देखिएको अभ्यास भनेर व्याख्या गरेजस्तो गरे पनि अध्यादेशबाट सरकार बनेको दुई महिना हुन लागिसक्दा पनि मन्त्रीमण्डल पूरा हुन सकेन भन्नेहरूले कुरै बुझेका छैनन्। गठबन्धनमा भएका सबै माननीय अति योग्यमध्येका पनि योग्यतम् भएकाले क–कसलाई छान्ने र क–कसको भनाइलाई मान्ने भनेर शीर्ष नेताहरूले गहन सोचविचार गरिरहेकालाई अलमलमा परेको भन्ने आरोप लागेर मात्रै त्यस्तो भएजस्तो देखिएको हो।

सबै अति इच्छुक छन्,सबै अति योग्य छन् भनेपछि शीर्ष नेताहरूलाई पनि गाह्रो पर्नु र यसैले उनीहरूको निद्रा हर्नु स्वाभाविक हो। यसरी सबैजना दोधारमा रहनुभन्दा जति माननीय मन्त्री खान इच्छुक छन् त्यतिवटा मन्त्रालय बनाएर र सबैको भावनामा कदर जनाएर काम गरिदिए त टण्टै खलास भइहाल्छ नि! राजनीतिमा लाज, घीन, शरमजस्ता अति प्रिय लाग्ने शब्दको सानदार प्रयोग सबैबाट ब्यापक रूपमा भइरहेको र यो व्यवसाय अति फाइदामा गइरहेका बेला यो प्रयोग पनि किन बाँकी राख्नु ?

उम्मेदवारहरूको संख्याअनुसार मन्त्रालय फुटाउने र नयाँ मन्त्रालय थप्न सहमति जुटाउने काम हुँदै आएको अनि प्रदेशतिर पनि क्रमशः ब्यापकता पाएको देखिएकै छ। अब एकचोटि भएजति सबै उम्मेदवारको मागअनुसार भाग पुर्‍याउने व्यवस्था हुन सके ज्यादै प्रजातान्त्रिक काम भएको भनेर संसारभरिबाट एकैचोटि बधाई पाइने र गठबन्धनको फल सबैले मिलिजुली खाइने व्यवस्था अविलम्ब गरिहाल्न ढिलो गर्न त हुँदै भएन।

यति भएपछि सरकार प्रधान र गठबन्धनका अरू शीर्ष नेताको गौरवपूर्ण गाथाले देश र जनताको माथा अझ उच्च हुने निश्चित छ। सधैझैँ मालदार मन्त्रालयमा सबैको दाबी हो भने गठबन्धनमा भएका दललाई भाग पुग्नेगरी समय मिलाएर र बाँडचुँड गर्ने भरोसा दिलाएर भए पनि मिलाए भैगयो नि! नियम, विधि, पद्धति र सिद्धान्तजस्ता सुन्दा मज्जा लाग्ने मिठा शब्द पालना नगरी सबैथोक मिचियो र आफ्ना आसेपासेबाहेक अरूलाई नगद सुँघ्नै नपाउने गरी थिचियो भनेर ठूलो मिहिनेतसाथ गठबन्धन सरकार बन्ने अवस्था सिर्जना भएपछि आफूले पनि त्यसै नगरे मुखमा रामराम बगलीमा छुरा गरेको दोष खेपेर आसेपासेलाई कसरी मुख देखाउनु ?

सरकार प्रधानको कुर्सी हात पारेर ढुक्कसित बस्न नपाउँदै र दिल्लीबाट राम्रोसित बधाई पनि नआउँदै दार्चुलामा महाकालीको तुइनबाट पारि तरेर मित्रराष्ट्रतर्पm जान लागेको युवकलाई उताका सीमा सुरक्षा बलले डोरी फुस्काएर महाकालीमा खसालेको र अब यसरी महाकाली तर्न पाइन्न भन्ने नजिर बसालेको कुरा पत्ता लगाउन बनेको समितिले जाँचबुझ छानबिन आदि पूरा गरी प्रतिवेदन तयार गरेर पनि त्यसलाई लेख्न महिना दिनसम्म नभ्याएको अनि प्रकाशमा नल्याएको देख्दा ठूलै महाकाव्य नै लेख्न लागेको हो कि भन्ने सबैको सोच थियो।

छानबिन समितिका ब्यक्ति र सहयोगी प्लेन, गाडी, हेलिकप्टर र पैदल गरी सबैखाले साधन प्रयोग गरेर वारिपारि सबैतिर गएर महिनौँको मिहिन र विस्तृत छानबिनपछि मित्रराष्ट्रपट्टि तुइनबाट खसेको अनि प्रत्यक्षदर्शीहरू वारिपट्टि बसेको हुनाले यताको समितिले उता लाचारीपूर्वक हेर्नेबाहेक अरू केही गर्न नमिल्ने रहस्य पत्ता लगाएर सरकारी भत्ता पचाउने र सरकारको कुर्सी बचाउने कार्यमा भरपुर सहयोग पुर्‍याउने काम मात्रै भयो भन्ने विरोधीको आरोपमा खासै दम देखिएन।

उताकै कम्फोर्टलाई ध्यान दिन नसके ज्यान फालेर लाग्दा पनि सत्ता जोगाउन सकिन्न भन्ने धारणाले गर्दा गठबन्धनका शीर्ष नेताबाट यसबारे खासै चासो राखेको पाइएन भन्ने मूर्खहरूलाई शीर्ष नेताहरूको बाध्यता बुझिदिन अनुरोध गर्नुबाहेक के नै गर्न सकिन्छ र ? मन्त्रालय तहको समिति बनाएर र दोषीलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएर नाटक गर्नुभन्दा त्यहीँको स्थानीय तहलाई छानबिनको जिम्मा दिएर १० लाख क्षतिपूर्ति पठाइदिएको भए आफ्नो कमिशन कटाएर बेलैमा क्षतिपूर्ति दिने अनि छानबिनको अवधि एकैदिनमा घटाएर योभन्दा धेरै गतिलो र असरदार काम हुन सक्थ्यो होला भन्ने जनताको भनाइ सुन्ने फुर्सद कसलाई होला र ? कुर्सीको सवालका अगाडि तुइनको दुहाइ र दुर्गमका जनताको रुवाइबारे कुरा गर्नु अनि यसभित्र मुखमा रामराम बगलीमा छुरा भएको हुन सक्छ भनेर सोच्नु जनताको नजरमा मूर्खता नै ठहरिन्छ।

उतापट्टिको सीमा सुरक्षा बललाई तुइन सञ्चालकले चित्तबुझ्दो खर्चपानीको व्यवस्था गर्न अटेरी गरेको हुनाले तुइन फुस्काएको कुरामा विश्वस्त हुँदै प्रतिवेदनले कूटनीतिक तहबाट समाधान गर्नका लागि सरकारले नै सबै सीमानाकामा रहेका सीमा सुरक्षा बलका जिम्मेवार व्यक्तिलाई निश्चित रेट र निश्चित डेट तोकेर नगदको भेट चढाउने अनि यो विषय उहाँहरूको अति सहयोगी मित्रराष्ट्रका महानुभावमार्फत अगाडि बढाउने गरेमा समाधान हुन सक्थ्यो कि ?

ठुल्ठूला कुर्सीमा बस्नेहरूले बोल्न नमिल्ने गरी मुख सिलाएर आलटाल गर्दै क्षतिपूर्ति मात्रै दिलाएर काम चलाउनु र बल्लबल्ल फेला पारेको कुर्सी हल्लिने वा उस्तै परे खुस्किने डरले मित्रराष्ट्रसित बोल्न नसकेर नौ नारी गलाउने गर्नेले जनताका अगाडि कसरी मुख देखाएर ठूला कुरा गर्दै कुर्लने अनि औकातभन्दा बढी उर्लने गर्न सकेका होलान् ? भनेर बुझ्न नसकेका जनता यिनै अति सक्षम किसिमको बनोट भएजस्तो देखिने नेताहरूलाई अत्यधिक भोट दिएर छनोट गर्न आतुर भएर बसेका र यिनैलाई जिताउन कम्मर कसेका देखिन्छन्।

यति नगरे आफ्नो अमूल्य मतपत्र बेचेर पाएको नगण्य नगद र एकछाक खाएको मासुभात र रक्सीले सराप्ला भन्ने डर पनि होला। दुर्गमको एउटा जाबो सामान्य नागरिकलाई सीमा सुरक्षा बलका जवानले जानाजान महाकालीमा खसालेर मारेको घटना खासै त्यति महत्वपूर्ण नभएकाले सबै दलका शीर्ष नेताहरू, वरिष्ठ नेता आदिका साथै युवा तथा विद्यार्थी संगठनले पनि चाल नपाएर हो कि कुनै विरोध नगरेको हुनाले दिल्लीबाट कुनै गाल पर्ने कुरै आएन। अहिले सबैलाई कुर्सीको सवाल परेको हुनाले यस्ता महत्वहीन विषयमा बबाल मच्चाउने कसैले पनि जरुरी नसम्झनुलाई मुखमा रामराम बगलीमा छुरा गरेको हुँदै होइन भन्नु ठीकै हो।

जसोतसो पाएको र अनेक गरेर जोगाएको कुर्सीको मजा आफ्ना सबैजसो आसेपासेलाई भोगाएको अनि कुर्सी हात नपर्दा चिन्ताले रोगाएको केन्द्रको रोग प्रदेशमा पनि मजाले फैलिएको र आफ्नै व्यवहारले सबै तहका नेताको अनुहारमा कालो पोतिएर मैलिएको देख्दा यो संक्रमण द्रुत गतिमा स्थानीय तहसम्म पुग्ने निश्चित छ।

कोरोनाभन्दा चाँडो सर्ने र सानो–ठूलो जुन तहको भए पनि कुर्सी नपाए भुतुक्क भएर मर्ने अनि जनताका लागि यी सबै काम गर्ने भनेर जति हल्ला चलाउन खोजे पनि भनाइ र गराइमा आकाश–पातालको अन्तर देखेर यो पुरानो तन्तर मन्तरले भविष्यमा त्यति काम दिँदैन कि भन्ने अलि उपबुज्रुकजस्ता जनताको सोच रहेजस्तो बुझिन्छ।

त्यही भएर सधैँभरि मुखमा रामराम बगलीमा छुराको सिद्धान्तले काम दिएन र जनताले यसलाई सहज रूपमा लिएन भने पनि अति योग्य र सक्षम नेतालाई खासै फरक पर्ला अनि यही कारणले उहाँहरूको एउटा रौँसमेत पनि झर्ला र साविक अनुसार खाइपाइ आएको नगदी खुराक अरू कसैले हर्ला भन्ने कुनै सुराक अहिलेसम्म नदेखिएकाले मुखमा रामराम बगलीमा छुरा यसरी नै चलिरहन्छ अनि सक्नेको लागि नगद यसैगरी चौतर्फी रूपमा फलिरहन्छ भन्नेमा जनता विश्वस्त छन्।

भदौ १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्