सिनो खाँदै गिद्धहरु । तस्बिरः कृष्ण भुसाल

काठमाडौँ – तीव्र गतिमा घटेको संख्यामा निकै मन्द गतिमा सुधार हुने संकेत देखिएको थियो। लाखौँको संख्याबाट केही हजारमा सीमित भएका गिद्धको संरक्षणका लागि भइरहेका प्रयासले आश जगाएका थिए।

तर, गएको वैशाख ८ गते गम्भीर धक्का लाग्यो नेपालमा शिकारी प्रजातिका चरा गिद्धको संरक्षण अभियानमा ।

नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–४ जितपुरमा एकैसाथ ६७ गिद्ध मरे । अरु दुईवटा दुई दिनपछि मृत भेटिए । कारण थियो–विष प्रयोग गरेर मारिएका कुकुरको सिनो उनीहरुले खाएका थिए ।

शिकारी प्रजातिको पक्षी भए पनि गिद्धले आफै शिकार गर्दैन । मरेका जनावरको सिनो उसको आहारा हो, यहि हुनाले गिद्धलाई प्रकतिको कुचिकार अर्थात सफाईकर्मीका रुपमा पनि लिने गरिन्छ । तर अरुलाई नमार्ने, कालगतिले मरेका वा मारिएका जनावरको सिनो खाएर पेट भर्ने अनि प्रकृतिसँग मानव जातिलाई गुन लगाउने गिद्ध भने निशानामा पर्ने गरेको छ प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ।

गएको वैशाख ८ गते जितपुरमा भएको घटना त्यसकै पछिल्लो उदाहरण हो । स्थानीय बासिन्दाले सडकका कुकुर विष प्रयोग गरेर मारे । त्यसलाई खुला स्थानमा फाले, सिनो आएर गिद्धले खाए । विष उनीहरुलाई पनि लाग्यो । सिनो रहेको वरपर नै मरे । घटनास्थलमा ६ वटा कुकुरका कंकाल तथा दुईवटा मरेका कुकुर बोरामा भेटिएका थिए ।

सिनोमा प्रयोग भएको विषकै कारण गिद्ध मरेको पक्का हो । तर अहिलेसम्म ती कुकुरमा कुन प्रकारको विष प्रयोग भएको थियो वा गिद्ध मर्नुको यकिन कारण थाहा भएको छैन ।

मरेका गिद्धको नमूना खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा ल्याएर परीक्षण गरिएको थियो । तर चार समूहका किटनाशक औषधि सम्बन्धी मात्रै परीक्षण गर्ने क्षमता रहेको प्रयोगशालाबाट यकिन कारण भने खुल्न सकेन ।

गिद्ध संरक्षण प्रयासमा हातेमालो गर्दै आएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रवक्ता डा. नरेश सुवेदीले भने, ‘परासी जितपुरमा गिद्ध मर्नुको कारण सिनोमा प्रयोग भएको विष नै हो भन्नेमा कुनै दुविधा छैन । त्यहाँ घटना लगत्तै खटिनुभएका भेटेरेनरी डाक्टरहरुले पनि त्यही भन्नु भएको हो । तर राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको क्षमताले भ्याउने वा यहाँ परीक्षण हुन सक्ने खालको समूहको विष वा किटनाशक गिद्धले खाएको सिनोमा भेटिएको छैन ।’

प्राकृतिक वा रोगका कारण गिद्धहरु एकैठाउँमा एकै समयमा नमर्ने यो क्षेत्रमा लामो समयदेखि काम गर्दै आएकाहरु बताउँछन् । कोषका प्रवक्ता डा. सुवेदीले भने, ‘रोग भएको भए अरु चरामा पनि सर्ने थियो, अरु ठाउँका पनि मर्ने थिए । विषकै कारण हो । तर यहाँको सीमित क्षमताले भ्याएन, थप स्पष्ट हुन विस्तृत अध्ययनको खाँचो छ । नमूना विदेश लगेर सुविधा सम्पन्न प्रयोगशालामा परीक्षण गर्नु पर्ने देखिन्छ ।’

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग एवम् नेपाल पक्षी संरक्षण संघ (बिसिएन) सहितको समन्वयमा परासी जितपुरमा ठूलो संख्यामा एकपटक गिद्ध मर्नुको यकिन कारण खोज्नका लागि प्रयास भएको हो । अनुसन्धानको नेतृत्व मुख्य तालुकदार निकायका रुपमा डिभिजन वन कार्यालय परासीले लिएको छ ।

रामग्राम–४ जितपुरमा गएको वैशाख ८ मा मरेका गिद्धहरु । तस्बिरः देउबहादुर राना

डिभिजन वन कार्यालय परासीका अनुसन्धान अधिकृत जितेन्द्र सिंह खड्काका अनुसार गएको वैशाखमा भएको घटनाको कारण थाहा पाएर आउँदा दिनमा यस्ता दुर्घटना नहून् भन्नका लागि आफूहरु प्रयासरत रहे पनि सीमित क्षमताका कारण अप्ठ्यारो भएको छ ।

उनले भने, ‘सरकारी तहमा विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षणले केही स्पष्ट हुन सकेन । तत्काल विदेश नमूना पठाउन सक्ने अवस्था पनि रहेन र त्यसका लागि गर्नु पर्ने प्रक्रिया र अवरोधहरु छन् । तत्कालका लागि हामीले निजी क्षेत्रबाट परीक्षण गराउने प्रयास गरेका छौँ ।’

विधि विज्ञान प्रयोगशालाको परीक्षणले आफूहरुको अनुसन्धानलाई पूर्णता दिन सहयोग नगरेकाले काठमाडौँको थापाथलीमा रहेको इन्ट्रेपिड नेपाल र सेन्टर फर मोलिक्युलर डाएनामिक नेपाल थप परीक्षणका लागि पत्राचार गरिएको खड्काले बताए ।

डिभिजन वन कार्यालय परासीका अनुसन्धान अधिकृत खड्काले भने, ‘हामीले परीक्षणका लागि नमूनासहित पत्राचार गरेका छौँ । त्यहाँबाट रिपोर्ट आएको छैन ।’

आफूहरुले अनुसन्धानको क्रममा रामग्राम–४ का वडाध्यक्ष मदन यादवलाई घटनाबारे थप स्पष्ट पारिदिनका लागि आग्रह गरि पत्राचार गरेको तर त्यसको पनि जवाफ नआएको खड्काले बताए ।

जितपुरमा गिद्ध मरेपछि वडाध्यक्ष यादवले गाउँलेले विष प्रयोग गरेर कुकुर मारी गाउँ भन्दा पाँच सय मिटर परको खुला ठाउँमा फालेको बताएका थिए । सोही सिनो खाएर गिद्ध मरेको हुनाले आफूहरुले शंका लागेका केही व्यक्तिलाई निगरानीमा रोखको बताएका थिए । तर प्रयोगशालामा भएको परीक्षणमा पनि केही नदेखिने र वडाध्यक्षको तर्फबाट पनि जवाफ नआउँदा घटनाको अनुसन्धान निष्कर्षमा पुग्न नसकेको खड्काले बताए ।

के भएको थियो?

तस्बिरः देउबहादुर राना

विशेष गरी चितवन पश्चिमको क्षेत्र गिद्धको बढी चहलपहल भएको इलाका मानिन्छ । गिद्ध संरक्षणका प्रयासहरु पनि सोही क्षेत्रमा बढी केन्द्रित छन् ।

तर गएको वैशाख ८ गते नवलपरासी पश्चिमको रामग्राम–४ जितपुरको खुला चउरमा विभिन्न चार प्रजातिका ६७ वटा गिद्ध मरेको भेटिएका थिए । आडैमा ६ वटा कुकुरको कंकाल र अरु दुई कुकुरको सिनो बोरामा भेटिएको थियो ।

चरा संरक्षणको क्षेत्रमा काम गर्दै आएको नेपाल पक्षी संरक्षण संघका फिल्ड बायोलोजिस्ट सहितको टोली त्यहाँ पुगेको थियो । आफूहरुले गरेको प्रारम्भिक अध्ययनमा विष प्रयोग गरी मारिएका कुकुरको सिनो खाएका कारण गिद्ध ठूलो संख्यामा मरेको पाइएको पक्षी संरक्षण संघका गिद्ध संरक्षण अधिकृत अंकित विलास जोशीले बताए । तर यकिन कारण अध्ययन अनुसन्धान पूरा भएपछि मात्रै थाहा हुने उनको भनाइ छ ।

डिभिजन वन कार्यालय परासीका अनुसार वैशाख १० गते जितपुर नजिकै अरु दुई वटा गिद्ध मृत भेटिएका थिए । घाइते अवस्थामा भेटिएको एउटा गिद्धलाई भने उपचारपछि प्राकृतिक बासस्थानमा छोडिएको थियो ।

जितपुरमा मृत भेटिने गिद्धमा डंगर गिद्ध ३५, हिमाली गिद्ध ३१, राज गिद्ध दुई तथा सानो खैरो गिद्ध एउटा थिए । एउटा गिद्धलाई उपचारपछि प्राकृतिक बासस्थानमा छोडिएको थियो । यो घटना पछिल्लो समय नेपालको गिद्ध संरक्षण अभियानका लागि निकै घातक र गम्भीर धक्काका रुपमा रहेको छ ।

गिद्धको अवस्था के छ?

नारायणी नदी किनारमा गिद्धहरु । तस्बिरः अंकित विलास जोशी

विश्वभर गिद्धका २३ प्रजाति पाइन्छन् । दक्षिण एसियामा ९ प्रजातिका गिद्ध छन् र ती सबै अर्थात नौवटै प्रजाति नेपालमा पनि पाइन्छन् । नेपालमा पाइने मध्ये डंगर, सानो खैरो, लामो ढुंडे र सुन गिद्ध अति संकटापन्न अवस्थामा छन् ।

आइयुसिएनले यी प्रजातिका गिद्धलाई अति उक्त सूचीमा राखेको हो । अति संकटापन्न भन्नुको अर्थात ‘संरक्षका लागि तत्काल प्रयास नगरेमा अबको १० वर्षभित्र लोप हुने सम्भावना ५० प्रतिशत बढी हुन्छ’ भन्ने हो ।

यस्तै सेतो गिद्ध संकटापन्न सूचीमा छ भने हिमाली, राज र हाड फोर गिद्ध संकटको नजिक रहेका छन् । अर्थात नेपालमा पाइने सबै ९ प्रजातिका गिद्धहरु संकटकै अवस्थामा छन् ।

लामो ठुँडे गिद्द, राज गिद्ध र खैरो गिद्ध जाडो मौसममा बसाईँ सरेर नेपाल आउँछन् र बच्चा कोरलेर जान्छन् । अरु ६ प्रजातिका गिद्ध यहीँका रैथाने हुन् ।

गिद्ध संरक्षणको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका तथा अध्ययन अनुसन्धान गरिरहेका व्यक्तिहरुका अनुसार नेपालमा अहिले सबै प्रजातिका गिद्धको कुल संख्या २० हजार भन्दा कम रहेको अनुमान छ ।

‘तर सधैँ अवस्था यस्तो थिएन । सन् १९८० को दशकका नेपालमा १० देखि १६ लाखको संख्यामा गिद्ध रहेको अनुमान विभिन्न अध्ययनहरुमा गरिएका थिए’, गिद्ध संरक्षणको क्षेत्रमा विगत लामो समयदेखि काम गर्दै आएका कृष्णप्रसाद भुसालले भने, ‘त्यो बेला भारतमा करिब चार करोड जोडी गिद्ध रहेको मानिन्छ ।’

त्यसपछिको दशकमा गिद्धको संख्या अति तीव्र गतिमा घटेका थियो । संसारमा सजिलै देखिने चरा एक दशकको अवधिमा सबैभन्दा तीव्र गतिमा घटेर सन् १९९० को दशकमा आइपुग्दा लोप हुने अवस्थामा पुगेको थियो । याे अवधिमा नेपाल मात्रै नभएर दक्षिण एसियामा नै गिद्धको संख्यामा अप्रत्यासित र अप्राकृतिक रुपमा घटेको थियो ।

विभिन्न क्षेत्रबाट भएको अध्ययनले यसरी गिद्धको संख्या घट्नुमा घरपालुवा पशुचौपायाको उपचारमा प्रयोग हुने औषधि डाइक्लोफेनेक कारक रहेको खुलेको थियो । सुन्निएको वा दुखेको निको पार्नका लागि पशुलाई याे औषधि प्रयोग गरिन्छ। डाइक्लोफेनेक प्रयोग गरेर उपचार गरिएको पशु उपचारकै क्रममा वा सात दिन भित्रमा मरेमा र त्यसको सिनो गिद्धले खाएको अवस्थामा घातक हुन्छ । सिनोसँगै गएको डाइक्लोफेनेकको विषाक्तपनले गिद्धमा युरिक एसिड बढाइ अन्ततः मृगौलाले काम गर्न छोड्ने र केही दिनमै मर्ने गर्छन् ।

‘गिद्धले समूहमा खान्छन् । डाइक्लोफेनेक औषधि प्रयोग गरिएको पशुको सिनो खाएको अवस्थामा एकै समय धेरै गिद्ध मर्न सक्छन् र सन् १९९० दशकका नाटकीय रुपमा गिद्धको संख्या घट्नुमा पनि यही कारण रहेको मानिन्छ’, गिद्ध संरक्षणकर्मी भुसालले भने ।

३० मिलिलिटरको एक भाइल डाइक्लोफेनेक औषधि प्रयोग गरेको एउटा पशुको सिनोबाट ३५० देखि ८०० वटासम्म गिद्ध मर्न सक्छन् ।

नेपालमा सन् २००२ देखि २०११ सम्म पूर्व–पश्चिम राजमार्गमा गरिएको सर्वेक्षणमा डंगर गिद्ध ९१ प्रतिशत तथा सानो खैरो गिद्ध ९६ प्रतिशतले घटेको देखिएको नेपाल पक्षी संरक्षण संघका गिद्ध संरक्षण अधिकृत अंकित विलास जोशीले जानकारी दिए ।

गिद्धका लागि घातक देखिएको डाइक्लोफेनेक औषधिमाथि सन् २००६ मा औषधि व्यवस्था विभाग मार्फत प्रतिबन्ध लगाइएको थियो । त्यसको सट्टा सुरक्षित मानिएको मेलोक्सिक्याम औषधि पशु चौपायाको उपचारमा प्रयोग हुन थाल्यो । प्रतिबन्ध लागे पनि बजारमा गएको औषधि अवैध रुपमा बिक्री गरिने तथा प्रयोग हुने क्रम जारी रहेकाले त्यसपछिका वर्षमा पनि गिद्ध घट्ने क्रम जारी रहेको मानिन्छ । अहिले काठमाडौँ, ललितपुर र भक्तपुर बाहेक नेपालका ७४ जिल्ला डाइक्लोफेनेक औषधि मुक्त जिल्ला भएका छन् । ‘उपत्यकाका तीन जिल्लामा पनि डाइक्लोफेनेक औषधि छैन भन्ने अनुमान छ’, बिसिएनका गिद्ध संरक्षण अधिकृत जोशीले भने ।

डाइक्लोफेनेक औषधिमा लगाइएको प्रतिबन्ध तथा संरक्षणमा विभिन्न क्षेत्रबाट भएको प्रयासका कारण सन् २०१२ यता भने नेपालमा गिद्ध संरक्षमा केही आश लाग्दो नतिजा देखिन थालेको अनुभव भएको बताउँछन् संरक्षणकर्मी भुसाल । ‘सन् २०१२ यता केही आश लाग्दा काम भएका छन् । संरक्षण प्रयासको प्रतिफल स्वरुप संख्या केही बढेको देखिएको थियो । तर गएको वैशाखमा परासीको जितपुरमा भएको घटनाले लामो समय लगाएर प्राप्त उपलब्धीमा गम्भीर धक्का दिएको छ ।’

संरक्षण प्रयासमा स्थानीय नागरिकको सहभागिताले राम्रो नतिजा ल्याए पनि अझै धेरै बुझाउन र अप्रत्यक्ष रुपमा गिद्धलाई हानी गर्ने बानीहरुमा सुधारको खाँचो जितपुरको घटनाले औल्याएको उनी बताउँछन् ।

पर्यावरणीय चक्र तथा खाद्य चक्रको सन्तुलन बनाइ राख्न गिद्धको भूमिका रहँदै आएकाले यो कुरा बुझाउँदै संरक्षणमा सहकार्यको जोड यो क्षेत्रमा लागेकाहरुले दिने गरेका छन् ।

संरक्षणका लागि के भइरहेको छ?

गुँडमा डंगर गद्धको जोडी । तस्बिर: कृष्ण भुसाल

सानो असावधानीले ठूलो संख्यामा एकैचोटी मर्ने भएपनि गिद्ध हुर्किन भने निकै कठिन छ । प्रायः प्रजातिका गिद्धले एक सिजनमा एउटा मात्रै फुल पार्ने गर्छन् । जीवनभरका लागि जोडी बनाउने ठानिएका गिद्धका भालेपाथीले मिलेर गुँड बनाउने तथा बचेरा हुर्काउने गर्छन् ।

असोज महिनादेखि गुँड बनाउन थाल्ने गिद्धलाई बचेरा हुर्काउन भने जेठसम्मको समय लाग्छ । गिद्धमाथि विद्यावारिधि गरेका हिमाली प्रकृतिका कार्यक्रम निर्देशक डा. तुलसी सुवेदीका अनुसार औषतमा ३५/४० वर्षको आयु हुने गिद्ध वयस्क भएर जोडी खोज्न चार–वर्षका हुनु पर्छ । ‘जोडी बनाएपछि गिद्ध छुट्दैनन् । उनीहरुले गुँड पनि प्रायः एकै ठाउँमा बनाउँछन् । सकेसम्म उही गुँड प्रयोग गर्छन्’, डा. सुवेदीले भने, ‘बासस्थानमा बाहिरी अवरोध वा गुँड लगाएको ठाउँमा बचेरा हुर्काउन नसकेको अवस्थामा उनीहरुले गुँड सार्दै जान्छन् ।’

गिद्धको संरक्षण तथा अध्ययनमा लाग्दै आएका कृष्ण भुसालका अनुसार नेपालमा गिद्धले पहरासँगै सिमल, साज, साल, पिपल, आँप, सल्लासहितका १३ प्रजातिका रुखमा गुँड लगाएको पाइएको छ । नेपाल पक्षी संरक्षण संघले पछिल्लोपटक गरेको सर्वेक्षणमा देशभर पाँच सयको हाराहारीमा गिद्धका गुँड भेटिएका थिए ।

भुसाल, जोशी (अंकित विलास) तथा डा. सुवेदीका अनुसार गिद्धको बचेरा सफल रुपमा हुर्काउने दर औसतमा ७० प्रतिशतको हाराहारीमा रहेको छ ।

यसरी बचेरा हुर्काउन निकै लामो समय लाग्ने र सहज नहुने गिद्धको संरक्षणका लागि पछिल्लो दशकमा समुदायमा आधारित प्रयासहरु भइरहेका छन् । नेपालमा चरा सम्बन्धी अध्ययन तथा संरक्षण अभियानको सुरुवाति चरणदेखि सक्रिय रहँदै आएका चराविद डा. हेमसागर बरालका अनुसार गिद्ध संरक्षण तथा अध्ययनका क्षेत्रमा नेपालमा अरु चराहरुको तुलनामा धेरै काम भएको छ ।

उनले भने, ‘त्यस अनुसार उपलब्धी पनि भएका छन् । सबैभन्दा ठूलो कुरा जनस्तरसम्म सचेतना लैजाने काममा प्रगति भएको छ । यस्तै अध्ययन अनुसन्धान पनि भएका छन् । तर सचेतनाको आकार अझै बढाउनु पर्ने छ । गएको वैशाखमा परासीको जितपुरमा भएका जस्ता घटनाहरुले लामो प्रयासबाट आश गरिएको उपलब्धीमा ‘पानी हाल्ने’ काम गरेका छन् ।’

गिद्ध संरक्षणको समुदायमा आधारित अभियान अन्तर्गत नै विभिन्न सात स्थानमा जटायु (गिद्ध) रेस्टुरेन्ट स्थापना भएका छन् । सन् २००६ मा नवलपरासीको पिठौलीमा नेपालको पहिलो जटायु रेस्टुरेन्ट स्थापना भएको थियो ।

अहिले रुपन्देहीको गैँडहवा ताल, दाङको लालमटीया र बिजौरी, कैलालीको खुटिया, कास्कीको घाचोक र सुनसरीको कोशीटप्पुमा जटायु रेस्टुरेन्ट सञ्चालनमा छन्। यी रेस्टुरेन्टमा वृद्ध तथा छाडा चौपायहरुको रेखदेख गरिन्छ र प्राकृतिक रुपमा मरेपछि गिद्धलाई खान दिइन्छ ।

यस्तै संरक्षण प्रयासमा गिद्धको अध्ययन अनुसन्धानसँगै सन् २००८ मा चितवनको कसरामा गिद्ध प्रजनन् केन्द्र स्थापना गरिएको थियो । सो केन्द्रमा सन् २००९ देखि प्राकृतिक रुपमा कोरलिएका बच्चा ल्याएर राखिएको थियो ।

सन् २०१८ यता सो केन्द्रबाट ३२ वटा डंगर गिद्ध प्राकृतिक बासस्थानमा छोडिएको छ । यसरी छोडिनेमा १५ वटा केन्द्रमै प्रजनन् भएका रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका प्रमुख डा. बाबुराम लामिछानेले जानकारी दिएका छन्। उनले भने, ‘अहिले केन्द्रमा ३० वटा गिद्ध छन् । यस्तै ९ वटा गिद्ध पिठौलीमा छोड्ने तयारी छन् ।’

प्रजनन् केन्द्रमा गरिएको लगानी अनुसार प्रतिफल भने आएको छैन । सोही कारण त्यहाँ गरिने खर्च प्राकृतिक रुपमा भइरहेका अरु सफल संरक्षण प्रयासमा लगाउने सोच अनुसार सन् २०२२ को अन्त्य वा सन् २०२३ सम्ममा केन्द्र बन्द गर्ने तयारी रहेको छ ।

गिद्ध संरक्षणमा भएका सबै प्रयासहरु वन तथा वातावरण मन्त्रालय अन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयार गरेको गिद्ध संरक्षण कार्ययोजना अनुसारका हुन् । दुईवटा पाँच वर्षे कार्ययोजना लागु भएका छन् । अहिले नयाँ कार्ययोजनाको तयारी भइरहेको छ ।

विभागका प्रवक्ता इकोलोजिस्ट हरिभद्र आचार्यले अहिले कार्ययोजनाको ड्राफ्ट तयार भएको र अबको दुई महिना भित्र पूरा गर्ने लक्ष्य रहेको बताए ।

चुनौतीहरु के छन्?

उद्धार गरिएका गिद्धका बचेराहरु गुँडमा आराम गर्दै । तस्बिर : डी.बी. चौधरी

‘सानो संख्यामा विषादी युक्त सिनोका कारण गिद्ध मरेका घटना यसअघि पनि थिए । तर गएको वैशाखमा जितपुरमा भएको घटनाले भने संरक्षण प्रयासमा अझै पनि गम्भीर चुनौति रहेको स्पष्ट पारेको छ’, गिद्ध संरक्षणकर्मी  भुसालले भने ।

डाइक्लोफेनेक प्रतिबन्धित भए पनि गिद्धका लागि घातक मानिने एसिक्लोफेनेक, किटोप्रोफेन तथा निमुसलाइडसहितका औषधि भने प्रयोग भइरहेका छन् ।

यस्तै ठूलो रुखहरुमा गुँड लगाउने हुँदा वन फँडानी तथा विकासका नाममा गरिने विनासले गिद्धका लागि उपयुक्त वातावरण विनाश हुँदै गएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

सिनो खाने भए पनि गिद्ध अति सफा मनपराउने चरा हो । सिनो खाएपछि पानीमा नुहाएर राम्रोसँग घाम तापेर ओभाएपछि मात्रै गिद्ध आफ्नो बासस्थान तर्फ जान्छ । यसले गर्दा गिद्ध संरक्षणका लागि उपयुक्त किसिमको खुला चउर, पानीका स्रोत तथा बास बस्नका लागि रुखहरुको संरक्षण गर्नु पर्ने यो क्षेत्रमा लागेकाहरु बताउँछन्।

गिद्धलाई आहारको भन्दा पनि अरु चुनौतीहरु बढी छन् । संरक्षणकर्मी भुसालले भने, ‘गिद्धको दृष्टि क्षमता मानिसको भन्दा ८ गुणा बढी रहेको मानिन्छ । उसले निकै टाढाको आहार पनि देख्छ । दिनमै सय किलोमिटर भन्दा बढीको यात्रा गरेर आहार खोज्न सक्छ । तर यस्तो यात्राका क्रममा गिद्धहरु विद्युतका तारहरुमा ठोक्किएर मर्ने गरेका छन् ।’

देशभर नै हाइटेन्सन लाइन बिस्तार तथा विद्युतीकरण गर्दा गिद्धसहितका ठूलो आकारका शिकारी चराको संरक्षणमा ध्यान नदिइनु चिन्ताको विषय रहेको सबै विज्ञ, अनुसन्धानकर्ता तथा संरक्षणकर्मीले बताएका छन् ।

बिजुलीका तारमा ठोक्किएर मर्नेमा भर्खरै माउ छोडेका, वयश्क हुनेक्रममा रहेका गिद्धहरु बढी हुन्छन् । गुँडबाट निस्किएपछि आफै संघर्ष गरिरहेका गिद्धका लागि यो हाइटेन्सन प्रशारण लाइन निकै खतरनाक हुने गरेको छ ।

यस्तै मध्यपहाडी क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्वको चेपुवामा गिद्ध आउने गरेका छन्। चितुवा, स्यालसहितले मारेका घरपालुवा जनावरमा विष राखिदिने गर्दाले सो सिनो गिद्धले खाइ मर्ने गरेका पनि छन् ।

भएका अध्ययन अनुसन्धानहरुलाई स्थानीय स्तरमा लैजाने र संरक्षणमा स्थानीयको सक्रियता तथा स्थानीयदेखि राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय तहसम्म सहकार्यको बिस्तार गर्नु पर्ने चराविद बरालले बताए ।

‘गिद्धको दृष्टि कडा हुन्छ । उसले आफ्नो आहारको जोहो गर्न सक्छ । हामीले उसको आहारमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विष मिलाएनौँ भने ऊ सुरक्षित रहन्छ । यस्तै बिजुलीका तारहरुको बिस्तार गर्दा संरक्षण मैत्री बनाउनु आवश्यक छ’, बरालले भने, ‘गिद्धलाई प्रमुख चुनौती भनेको मानव जातिको लोभी, पापी र व्यभिचारी गिद्धे दृष्टि हो । परासी जितपुरको जस्तो घटना दोहोरिएन र विकासका काम संरक्षणमैत्री भएमा गिद्ध संरक्षणमा धेरै अवरोध हट्छन् ।’

(शनिबार १३ औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाईँदै छ, हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार यो दिवस मनाउने गरिन्छ ।)

भदौ १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्