चुरे अतिक्रमणले निम्त्यायो विनाश, बुटवलका तीन बस्ती जोखिममा

बुटवल – गत आइतबार र सोमबार बुटवलको ज्योतिनगरमा गएको पहिरोले ७ घर पुरिए। १० घरमा क्षति पुग्यो। ६० घरमा हिलो पसेको छ। पहिरोपछि १२ घरपरिवार बिस्थापित भए। ५२ घर उच्च जोखिममा छन्।

‘एक्कासी लेदोसहितको पहिरो आयो, हेर्दाहेर्दै घरभित्र पस्यो’–स्थानीय नम्रता पाण्डेले भनिन्।

बुटवल ४ ज्योतिनगरमा यो वर्षको भदौ १३ र १४ मा आएको यो प्रकृतिको पहिरो पहिलो भने होइन। चुरे पर्वत श्रृङ्खलामा पर्ने यो भूभाग पहिलेदेखि नै जोखिममा रहेको क्षेत्र हो।

ज्योतिनगर, आदर्शनगर र लक्ष्मीनगरमा २०५५ सालमा आएको यस्तै प्रकृतिको पहिरोले ५७ घर पुरेको थियो।

५५ सालको पहिरोपछि जापान सहयोग नियोग जाइकाले गरेको अध्ययनले ज्योतिनगर क्षेत्रमा बस्ती हटाउन र चुरे पहाडलाई असर गर्ने कुनैपनि काम गर्न नहुने निष्कर्ष निकालेको थियो।

त्यसअघि २०५३ मा गरिएको अर्को एक अध्ययनले बुटवल आसपासका चुरे पहाडबाट प्रतिवर्ष ३० मिटरका दरले भूस्खलन हुँदै गइरहेको निचोड निकालेको थियो।

सो अध्ययनले बुटवलनजिक टेक्नोलिक प्लेट रहेको र सो क्षेत्र प्राकृतिक भूक्षय, भूविचलन र भूकम्पको निम्ति खतरनाक हुने भनेको थियो।

त्यसपछिका केही वर्ष जोखिमको पूर्वतयारी गरेपनि पछिल्लो दशकमा चुरे पहाडमा पुनः अतिक्रमण र मनपरी भयो। त्यसलाई २०७२ को भूकम्पले अरु खलबलायो।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यान्वयन इकाइ बुटवलका प्रमुख अजय कार्की भन्छन्–‘यो प्राकृतिक रुपमा कच्चा पहाड हो, भूकम्पपछि यो पहाडमा धाँजा फाटेको रहेछ, ती धाँजाहरुमा पानी पसेपछि बग्दै आयो र बस्तीमा पस्यो।’

समितिका अनुसार बस्तीसम्म पहिरो आउने गरी मानव अतिक्रमण भएको छ। ‘बुटवलका ३ र ४ नम्बर वडाको पहाडी भेग उच्च जोखिममा छ, उनी भन्छन्-चुरेमा भएको अतिक्रमणले यहाँका ज्योतिनगर, लक्ष्मीनगर र आदर्शनगर बस्ती क्षेत्रमा जोखिम बढायो र विनास निम्त्याएको हो।’

हुन पनि, स्थानीयले मात्रै हैन, सरकारी तवरबाटै सो क्षेत्रको चुरेमा अतिक्रमण र मनपरी बढेको देखिन्छ। बुटवल उपमहानगरपालिकाले चक्रपथ बनाउने भनेर चुरेको फेदमा डोजर चलायो।

वसन्तपुर पुग्ने केवलकारका लागि रुख काटिए। पार्क, मन्दिर, किरियापुत्री भवनजस्ता संरचना बनाइएका छन्।

यसरी वन अतिक्रमण, डढेलो, वस्तीविकास, विकासका नाममा चुरेमा मनपरी गर्दा चुरे खलबलियो र बग्न थाल्यो। आफ्नै सुखसुविस्ताका लागि प्रकृतिमाथि मनपरी गर्दा त्यसको पीडा बुटवलको उपल्लो बस्तीले भोग्नुपरेको छ।

बुटवलको सिरानमा रहेको चुरेमा मात्रै हैन, देशभरकै चुरेमा अतिक्रमण बढ्दो छ। नेपालको दक्षिणी भेगमा पूर्वदेखि पश्चिमसम्मै फैलिएको कमजोर र पत्रे चट्टानले बनेको भूभागमाथिको अतिक्रमणले मानवीय जीवनशैलीलाई नै प्रभावित गरिरहेको छ।

मानवीय अतिक्रमणका कारण भएको विनासले मानवीय जीवनशैली नै प्रभावित गरेको भूगोलविद् डा. भोजराज कडेरिया बताउँछन्।

‘चुरे एकदमै कमजोर पहाड हो, संवेदनशील क्षेत्रलाई चलाएपछि यसले विनास निम्त्याउँछ नै, यहाँ भएको त्यही हो, उनी भन्छन्–ज्योतिनगर र लक्ष्मीनगर बस्ती पहाड नै धस्सिएर बसेको हो, त्यसमाथि भूकम्पले अरु कमजोर बनाएको थियो, त्यसमा अतिक्रमण भयो, अतिक्रमण भएको ठाउँमा पानीले खोल्दै गयो र लेदोसहितको पहिरो गयो।’

जोखिममा चुरेनजिकका बस्ती, समाधान के ?

देशभरका ३७ जिल्लाका चुरे नजिकका अधिकांश बस्ती जोखिममा छन्। विभिन्न समयमा भएका अध्ययनहरुले चुरे पहाडमा टाँसिएका बस्ती स्थानान्तरणको उपाय सुझाएका छन्।

२०६७ मा संसदको प्राकृतिक श्रोत र साधन समितिले गरेको अध्ययनअनुसार तयार गरेको वनसंरक्षण समस्या अध्ययन प्रतिवेदनले चुरेनजिकका बस्ती जोखिममा रहेको निष्कर्ष निकालेको थियो। प्रतिवेदनले चुरेमा मानववस्ती बढ्दै गएर मानवीय चाप परेकाले बस्ती स्थानान्तरणको विकल्प उपयुक्त हुने निचोड निकालेको थियो।

यसबीचमा संसदीय समितिहरुले धेरै पटक स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार गरेका छन्। चुरेको अतिक्रमण, अवस्था, क्षति, ह्रास लगायतका सबै क्षेत्रको अवलोकन गरेर तयार भएका ती प्रतिवेदनले चुरेमाथि भइरहेको अतिक्रमण रोक्न र नरोकिए चुरेभन्दा दक्षिणको बस्ती जोखिममा पर्ने चेतावनी दिएका छन्।

अध्ययन प्रतिवेदनले भनेका छन्–‘चुरे यस्तो जोखिमपूर्ण क्षेत्र हो, जहाँ कुनै डाँडामा अलिकति खोस्रिने हो भने त्यसले दशकौंसम्म त्यहाँको जमीन अस्थीर बनाउँछ, जसको प्रत्यक्ष असर मानव जीवनशैलीमा पर्छ।’

चुरे क्षेत्रमा मात्रै एक वर्षमा दश हजारभन्दा धेरै पहिरो जान सक्ने स्थल पहिचान भएका छन्। त्यसको कारण अत्याधिक वर्षा हो। चुरे क्षेत्रमा प्रति २४ घण्टामा ४३७ मिलिमिटरसम्म वर्षा हुने गरेको छ।

जल तथा मौसम विज्ञान विभागले सन् १९८३ देखि २०१३ सम्म देशका ६ वटा केन्द्रमा गरेको अध्ययनअनुसार अत्याधिक वर्षाले चुरेमा भूस्खलनलाई बढाएको छ। जसमध्ये रुपन्देहीको बुटवललाई केन्द्र मानेर गरिएको अध्ययनले बुटवल दोश्रो बढी जोखिमपूर्ण स्थानमा देखिन्छ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले तयार गरेको विवरणले बुटवल क्षेत्रमा एक वर्षमा प्रति २४ घण्टा ३० मिलिमिटर परिमाणभन्दा बढी २ पटक, २५० देखि ३०० मिलिमिटरसम्म २ पटक, १३० देखि २५० मिलिमिटरसम्म ४४ पटक, १०० देखि १३० मिलिमिटरसम्म ५५ पटक वर्षाका घटना रेकर्ड भएको देखाउँछ। वर्षाको परिमाण पनि पछिल्लो समय बढ्दै गएको देखिन्छ। गतवर्ष समितिले गरेको अध्ययनले वर्षाको परिमाण बढेको देखाएको छ।

३ सय मिलिमिटरभन्दा बढी वर्षाले सबैतिर एकैसाथ फैलिएर जाने लेदो पहिरो निम्त्याउँछ। अरु खालका वर्षाले क्रमशः ठूला पहिराको उल्लेख्य वृद्धि, माटो धस्सिएर बग्ने, लेदो पहिरो र कम गहिराइका साना साना पहिरा निम्त्याउने विकास समितिको विवरणमा उल्लेख छ।

समितिका अनुसार रुपन्देहीको उत्तरी भेग उच्च भूस्खलन संवेदनशील क्षेत्र हो। संवेदनशील क्षेत्रमा मानव बस्ती बसाउन उपयुक्त नहुने राष्ट्रपति चुरे तराइ मधेश संरक्षण विकास समितिको ठम्याइ छ।

समितिले बुटवलमै पनि गतवर्ष करीब २ करोडको लगानीमा पहिरो रोकथाम गर्ने प्रयास गरेको थियो। तर त्यो निष्प्रभावी भएको छ।

समितिका बुटवल कार्यान्वयन इकाइ प्रमुख अजय कार्की भन्छन्–‘चुरेको भूबनोट नै कमजोर हुने भएकाले दीर्घकालीन रुपमा ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र बसोबासको लागि उपयुक्त देखिदैन।’

उनी अपेक्षित प्रतिफल प्राप्त हुने सम्भावना नभएकाले सो क्षेत्रमा लगानी गर्नुको सट्टा विकल्प खोज्नुपर्ने समय आएको बताउँछन्। ‘संवेदनशील क्षेत्रमा थप लगानी गर्नुभन्दा त्यहाँबाट बस्ती हटाउनु नै उपयुक्त विकल्प हो, उनी भन्छन्।

बस्ती अन्यत्र सार्नका लागि राष्ट्रपति चुरे तराइ मधेश संरक्षण विकास समितिसँग समन्वय गरेर काम अघि बढाउने बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी बताउँछन्।

उनी भन्छन्–‘ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र जोखिममा देखिएको छ, अहिले तत्कालको समस्या समाधान गर्छौं र अहिलेको समस्या समाधान भएपछि समितिसँग छलफल गरेर के गर्नुपर्ने हो, त्यसतर्फ लाग्छौं।’

के हो चुरे, किन जोगाउने ?

करिब चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड श्रृङ्खला हो चुरे।

यो बालुवा, कंकड र पत्थरद्वारा निर्मित पहाड हो। करिब ४ करोड वर्ष अघि हिमाली क्षेत्रको उत्पत्ति भएपछि करिब १ करोड ५० लाख देखि १० लाख वर्ष अघिसम्मको अवधिमा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको हो चुरे।

‘पश्चिममा पाकिस्तानको इन्डस नदी देखि पूर्वमा भारतको ब्रम्हपुत्र नदीसम्म फैलिएको चुरे श्रृङ्खला शिवालिकको नामबाट पनि चिनिन्छ’–राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले वेबसाइटमा राखेको जानकारीमा भनिएको छ।

यो क्षेत्रमा राम्ररी नखाँदिएका खुकुलो पत्रे चट्टान भएको र महाभारत पर्वतबाट बग्ने नदीहरू यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रुपले यो क्षेत्र अत्यन्त संवेदनशील मानिन्छ।

सातै प्रदेशमा पर्ने र ३७ जिल्ला छुने चुरे पहाडले देशको करिब १३ प्रतिशत भूभाग ओगटेको छ। यसको चौडाइ १० देखि ५० किलोमिटरसम्म रहेको छ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका अनुसार अधिकांश ठाउँमा तराईको भू–भाग सकिएर माथि उठेको भू–भाग तथा महाभारत क्षेत्रको भू–भागबाट ओर्लिंदा भेटिने अन्तिम पहाडका रुपमा चुरे पहाड रहेको छ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये ८ वटा जिल्लामा चुरे पहाड श्रृङ्खला छ। जसअनुसार रुपन्देहीमा २३ हजार ५०५.३ हेक्टर क्षेत्रफल चुरेले ओगटेको छ।

यस्तै कपिलवस्तुमा २२ हजार ३ सय ८६.३, नवलपरासी (जिल्ला विभाजनअघि) मा १ लाख २३ हजार १ सय ३९ हेक्टर, पाल्पामा २५ हजार ९८.४ हेक्टर, अर्घाखाँचीमा ४६ हजार ६ सय १६, बाँकेमा ८० हजार ८ सय ७२, बर्दियामा ७० हजार १ सय ३२ र दाङमा २ लाख ४८ हजार १ सय ४१ हेक्टर क्षेत्रफल चुरेले ओगटेको छ।

यो क्षेत्रमाथि मनपरी गर्न नहुने भूगोलविद् डा. कडेरिया बताउँछन्। यो क्षेत्रमाथि मनपरी गर्दा मानवीय जोखिम बढ्दै गएको र डरलाग्दो परिणाम भोग्नुपरिरहेको उनको बुझाई छ।

‘जैविक विविधताले धनी हो चुरे, यसमाथि भइरहेको अतिक्रमण, अव्यवस्थित बसोबास, वन विनाश, अवैज्ञानिक भू–उपयोग, खेती प्रणाली, पशुपालनले गर्दा यो क्षेत्र उच्च जोखिममा छ,–उनी भन्छन्–यसले मानवीय जीवनशैलीलाई नै जोखिममा पुर्‍याएको छ।’

मानवजीवनलाई लाभ दिइरहेको चुरेको संरक्षणमा चासो दिनुपर्ने उनी बताउँछन्। उनका अनुसार चुरे मानवजीवन र उत्पादनसँग जोडिएकाले यसको संरक्षण गर्नुपर्छ।

‘चुरे सकिएपछि भावर र तराइको समथर भूभाग छ, चुरेका कारण प्राप्त हुने प्राकृतिक श्रोतले गर्दा तराइ क्षेत्र उर्वर भएको हो, उनी भन्छन्–चुरे जोगिएन र चुरे समाप्त भयो भने तराइको उर्वरता, अन्नभण्डार र अस्तित्व नै संकटमा पर्नसक्छ।’

चुरे प्राकृतिक जलभण्डार र जैविक विविधताका दृष्टिले पनि उत्तिकै महत्वपूर्ण रहेको उनको भनाई छ।

देशका ७ वटा संरक्षित क्षेत्र चुरे–तराईमा पर्छन्। नेपालमा पाइने १९१८ प्रजातिमध्ये १३०८ प्रजाति यो क्षेत्रमा पाइन्छन्। चुरे क्षेत्र व्यवस्थापनको गुरुयोजनाले यो क्षेत्रलाई विशेष महत्वपूर्ण क्षेत्र भनेको छ।

जसअनुसार आर्थिक वर्ष २०६६/६७ बाट सरकारले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण कार्यक्रम लागू गरेको छ।

यो क्षेत्रमा तत्काल समाधान गर्न सक्ने समस्या समाधानका साथै संरक्षणका कामहरुलाई प्राथमिकता दिएको समितिका बुटवल प्रमुख कार्की बताउँछन्।

भदौ १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्