राज्यले निजी क्षेत्रलाई प्रवर्द्धन गर्नुपर्छः मुख्यमन्त्री पोखरेल

फाइल तस्बिर।

कावासोती – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राज्यले निजी क्षेत्रलाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन्। राज्यले केही आफ्ना दायित्वअन्तर्गत पर्ने काम नाफा वा घाटा जे भए पनि गर्नुपर्ने र त्यसबाहेक क्षेत्रमा भने राज्यको भूमिका समन्वयकर्ता र उत्प्रेरकको रूपमा हुनुपर्ने उनले बताए।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा नवलपुर उद्योग संघको दोस्रो साधारणसभा कार्यक्रममा मुख्यमन्त्री पोखरेलले भने, ‘राज्यले निजी क्षेत्रलाई प्रमोट गर्नुपर्छ, राज्यले आफैँ उद्योग चलाउँछु, आफैँ व्यापार गर्छु, आफैँ कमाउँछु, त्यो सम्भव छैन भन्ने कुरा प्रमाणित भएको छ। केही दायित्व छन्, जुन राज्यले बोक्नुपर्छ, चाहे घाटा लागोस् वा फाइदा, ती क्षेत्रबाहेक अरूमा राज्यको भूमिका भनेको समन्वयकर्ताको हो, उत्पे्ररकको हो, जसका आधारमा निजी क्षेत्र अघि बढ्नुपर्छ।’

मुख्यमन्त्री पोखरेलले उद्योग स्थापनामा केही कानुनी जटिलता रहेको स्विकार्दै कानुन सहज बनाउनेतर्फ लाग्नुपर्ने बताए। कानुनले रोक्नेभन्दा भएका अप्ठ्यारा फुकाउनुपर्ने उनले बताए।

‘कानुन राम्रो हुनुपर्‍यो, सहज हुनुपर्‍यो, कानुनले रोक्ने होइन, फुकाउनुपर्‍यो, यसतर्फ हाम्रो ध्यान नपुगेको स्विकार्नुपर्छ,’ मुख्यमन्त्री पोखरेलले भने, ‘कानुनी अप्ठ्यारो फुकाउन भने अझै पनि माथि ताक्नुपर्ने छ।’

उद्योग स्थापनाका लागि आउने अप्ठ्यारा फुकाउन आफू र आफ्नो प्रदेशले गर्ने कुरा तत्काल हुन सक्ने र प्राथमिकतामा पर्ने उनले बताए।

अझै पनि धेरै कुरा संघीयताको मर्मअनुसार बढ्न नसकेको मुख्यमन्त्री पोखरेलको भनाइ छ। ‘मैले फुकाइदिने कुरा, मेरो प्रदेशको कुरा तत्काल हुन सक्थ्यो, यो मेरो प्राथमिकतामा हो, केन्द्रबाट धेरै जटिल हुन्छ भनेर संघीयता ल्याएको हो तर अहिले पनि धेरै यस्ता कुरा छन्, जुन यो मर्मअनुसार अगाडि बढ्न सकेको छैन,’ मुख्यमन्त्री पोखरेलले भने।

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले औद्योगिक क्षेत्रमा लगानीकर्ता भित्र्याउन लगानी सम्मेलन गर्ने तयारी गरिरहेको बताए। यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताबीच छलफल चलिरहेको समेत उनले जानकारी दिए।

भदौ १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्