बिपी साहित्य सम्मान रेग्मी र सेनानी सम्मान कायस्थलाई

काठमाडौँ – जननायक बिपी कोइराला स्मृति ट्रस्टले बिपी साहित्य सम्मान तथा पुरस्कार वरिष्ठ कवि मदन रेग्मी र बिपी सेनानी सम्मान एवं पुरस्कार तिलकप्रसाद कायस्थलाई प्रदान गर्ने भएको छ।

ट्रस्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले शनिबार विज्ञप्ति जारी गरी आधुनिक नेपाली साहित्यका वरिष्ठ कवि रेग्मीलाई बिपी साहित्य सम्मान र प्रजातन्त्र सेनानी कायस्थलाई बिपी सेनानी सम्मान प्रदान गर्न लागेको जानकारी दिए।

पाँच दशकदेखि साहित्य साधनामा रहेर नेपाली काव्य साहित्यमा महत्वपूर्ण योगदान पुर्‍याएबापत रेग्मीलाई सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको हो। उनलाई एक लाख एक हजार नगद र सम्मानपत्रद्वारा सम्मान गर्ने कार्यक्रम छ।

यस्तै, लामो समयसम्म जेलमा र निर्वासनमा रहेर प्रजातन्त्र स्थापना, पुनःस्थापना तथा लोकतान्त्रिक गणतन्त्र स्थापनामा समेत योगदान पुर्‍याएबापत कायस्थलाई सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको हो।

उनलाई ५१ हजार नगद र सम्मानपत्रद्वारा सम्मान गरिनेछ। ट्रस्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा डा ध्रुव्रचन्द्र गौतम र सुशीलमान शेरचन सदस्य रहेको समितिले पुरस्कार तथा सम्मानका लागि रेग्मी र कायस्थको नाम छनोट गरेको हो।

उक्त पुरस्कार तथा सम्मान बिपी जयन्तीको अवसर पारेर भदौ २४ गते प्रदान गर्ने कार्यक्रम रहेको कार्यकारी निर्देशक पराजुलीले बताए। ०७१ सालदेखि प्रदान गर्दै आएको बिपी साहित्य तथा सेनानी सम्मान ०७१ मा साहित्य सम्मान रत्नशम्शेर थापा, सेनानी सम्मान नुतन थपलिया, ०७२ सालमा साहित्यिक सम्मान गोपाल पराजुली, सेनानी सम्मान स्व तारानाथ कोइरालालाई प्रदान गरिएको थियो।

यस्तै, ०७३ को साहित्य सम्मान भुवन ढुंगाना र सेनानी सम्मान स्व श्यामलाल श्रेष्ठ, ०७४ मा साहित्य सम्मान प्राडा अभि सुवेदी र सेनानी सम्मान तीर्थराज चैतुलाई प्रदान गरिएको थियो।

०७५ मा साहित्य सम्मान रोचक घिमिरे र सेनानी सम्मान स्व चक्रप्रसाद बाँस्तोला, ०७६ मा साहित्य सम्मान तिलविक्रम नेम्वाङ र सेनानी सम्मान मधुकान्त सिंहलाई र ०७७ को साहित्य सम्मान ज्ञानमणि नेपाल र सेनानी सम्मान होमनाथ दाहाललाई प्रदान गरिएको थियो।

भदौ १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्