‘सीआइबीको इन्स्पेक्टर हुँ’ भन्दै सर्वसाधारणलाई तर्साउने एक युवक पक्राउ

नेपालगञ्ज– मदिरा सेवन गरेर आफूलाई ‘केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को इन्स्पेक्टर हुँ’ भन्ने दिपेन्द्र रोकायलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ।

सल्यान दार्माकोट गाउँपालिकाका ३२ वर्षीय रोकायले मदिरा सेवन गर्दै फोनमा कसैलाई ‘केस मिलाइदिने र त्यसवापत ५० हजार लाग्ने’ बताइरहेको प्रहरीले सुनेपछि केरकार गरेका थिए।

सोधपुछ गर्दा उनले आफू महाशाखामा कार्यरत सीआइबीको इन्स्पेक्टर हुँ भनेको तर इलाका प्रहरी कार्यालय, कोहलपुरमा लगेर बुझ्दा उनको दावी झुटो सावित भएको डिएसपी रविन्द्र खनालले बताए।

‘कोहलपुरको बसपार्क एरियातिर बसेर आफूलाई सीआइबीको इन्स्पेक्टर भन्दै धाक देखाउँदै सर्वसाधारणलाई त्रास देखाउने गरेको पाइएको छ,’ कोहलपुरका डीएसपी खनालले भने, ‘माथिका हाकिमलाई पनि मिलाउनुपर्छ भनेर पैसा मागेको सुनिएको छ। कोसँग पैसा मागेको रहेछ, हामी खोज्दैछौँ।’

मिसन रोकाय क्षेत्रीको नाममा खोलिएको उनको फेसबुक आइडीमा सीआइबीको लोगो राखिएको छ। डिएसपी खनालले अहिले उसलाई अभद्र व्यवहारमा कारबाही गर्ने र कोही ठगिएको खुलेमा ठगीमा समेत मुद्दा चलाउने जानकारी दिए।

भदौ २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्