स्वर्गलोकमा,
सूर्यले जब सुन पोत्यो
हिमाली क्यान्भासमा ,
अनि गर्‍यो आत्मसमर्पण
पहाडी हरियोमा ,
अलिकति सुन
डाँफेको पुच्छरमा खस्यो।

हेर्दाहेर्दै,
आकाशमा मोती छरिए,
केही मोती
जुनकिरीको पुच्छरमा खसे!
चन्द्र्माले छरी
लज्जावती हाँसो।

नर्कलोकको ,
मृत शहरमा
जहाँ स्वयम्,
वायु निस्सासिन्छ्न्
सोही सम ,
अनिँदो महरु
कोल्टे फेर्दछ्न्।

अहो!
मेरो अभाग,
देख्दिन म
मेरो कोष्ठबाट,
मोती चम्केको!
चन्द्रमा हाँस्दा कस्ती देखिएली?
निस्सासिन्छ्न् कल्पना।

सुन्दिन म
झरनाले पहाडसँग,
क्रिडा गरेको,
अनि स्खलित भएको
नदी तटमा।

जहाँ रक्तिम,
भैदिन्छे गुराँस लाजले।

अहो!
मेरो अभाग,
देख्दिन म
बिहान फेरि
चन्द्रमा निदाएकी,
हिमाल उघ्रिएकी,
अनि फेरि लजाएर ढाकिएकी,
सूर्यको चुम्बन पाएर।

जसरी उघ्रिन्छे बेहुली
पहिलो रातमा,
आफ्नो खसमसँग,
अनि फेरि ढाकिन्छे
एकाबिहान लाजले।

हिमाल लजाउँदा कस्ति देखिएली?
निस्ससिन्छ्न् कल्पना!

भदौ २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्