बाग्लुङमा दलित परिवारको बस्ती बन्यो, हस्तान्तरण भएन

बाग्लुङ – बाग्लुङको काठेखोला गाउँपालिका–५ काउलेका १० दलित परिवारका लागि एकीकृत बस्ती निर्माण भएपनि हस्तानतरण भएको छैन। २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण क्षति पु¥याएको बस्तीको पुनःनिर्माण गरिए पनि आर्थिक वर्ष २०७७÷७८ मै भूकम्पपीडितले पाउनुपर्ने घर पीडितले अहिलेसम्म पाएका छैनन् ।

विसं २०७५ वैशाखमा भूकम्प पीडितका लागि एकीकृत बस्ती निर्माण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले संयुक्त लालपूर्जा वितरण गरेको थियो । जग्गा खरिदका लागि प्रतिपीडित परिवार दुई लाख रुपैयाँ रकमसमेत दिइएको थियो ।

घर बनेको छ महिना पुग्दासमेत घरमा सर्न नपाएको चिन्ते दमाइले जानकारी दिए। विसं २०७२ को भूकम्पले कमजोर बनाएको घर ०७५ सालको वर्षाका कारण बस्न नमिल्ने अवस्था पुगेको थियो । घर चर्किएर विस्थापित भए पछि चार वर्षसम्म धेरै दुःखले बसेको उनको गुनासो छ । वैशाखमा नयाँ घर पाउने भनिए तापनि अहिलेसम्म घर दिने केही कुरा नभएको उनले बताए।

शिवधुरी एकीकृत नमूना बस्ती निर्माण समितिका अध्यक्ष सुस्मिता दर्जीले समयमा किस्ता नपाएको कारणले अहिले केही काम ढिलाइ भएको र त्यही विषयले समस्या पैदा भएको बताइन्। बागलुङको एकीकृत बस्तीका लागि आएको रकम लमजुङ पठाएकै कारणले अहिलेसम्म बस्ती निमार्ण सम्पन्न नभएको उनले बताइन्। बस्तीमा आउने बाटो, सभाहल र वालका लागि ४० लाख रुपैयाँ बजेट आउने भनेर काम गरे तापनि अहिलेसम्म सात लाख रुपैयाँ मात्रै आएकाले त्यस बराबरको काम मात्र सम्पन्न भएको उनले बताइन्।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख रेणुकाकुमारी पाण्डेले भूकम्पले विस्थापित भएका काउलेका भूकम्पपीडितको घर निर्माण गरिसकेको जानकारी दिइन्। भवन निर्माण सम्पन्न भए पनि एकीकृत बस्तीको तेस्रो किस्ता रोकिएका कारण भूकम्पपीडितलाई घर हस्तान्तरण गर्न नमिलेको उनले बताइन्।

प्रमुख पाण्डे भन्छिन्, ‘समितिलाई समयमा काम सम्पन्न गर्न पटक–पटक भनिए तापनि बस्तीमा शौचालय निर्माण नगरिएका कारण किस्ता रोकिएको र बस्ती हस्तान्तरणमा ढिलाइ भएको हो। असार मसान्तभन्दा पहिला काम सकेको भए सबै रकम बुझाएर बस्ती पनि हस्तान्तरण भई सक्ने थियो ।

आर्थिक वर्ष ०७७÷०७८ मा एकीकृत बस्ती निर्माणको लागि आएको रकम काम समयमा सम्पन्न नभएर फिर्ता भइसकेको र राष्ट्रिय पुनःनिर्माणको असार मसान्त पछि काम सकिने भएका कारण अहिलेका अवस्थामा तेस्रो किस्ता मन्त्रालयबाटै नआएको उनले जानकारी दिइन्। अहिलेसम्म केन्द्रबाट बिहुँ काउलेको एकीकृत बस्तीलाई कसले हस्तान्तरण गर्ने भनेर माथिबाट पत्र नआएका कारण बस्ती हस्तान्तरण गर्न नमिलेको उनको भनाई छ।

अहिले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ आफैँ अन्यौलमा छ । मन्त्रालयबाट पत्र आएको खण्डमा यही भदौभित्र नै जिल्लाको पुनःनिर्माण कार्यलय बन्द हुनेछ । यसकारणले आफू स्वयं गएर पटक/पटक एकीकृत बस्ती निर्माण समितिलाई असार मसान्तभित्र काम सकेमा सबै रकम भुक्तान गर्न सकिने भनेर जानकारी गराए पनि ढिलासुस्तीले अहिले एकीकृत बस्ती हस्तान्तरण गर्न नसकिएको प्रमुख पाण्डेको भनाइ छ ।

बस्तीभित्र बाटो निर्माण, सार्वजनिक शौचालय, सार्वजनिक बैठक हल बनाउने भनेर ४० लाख रुपैयाँ बजेट आएको थियो । समितिले समयमा काम नगरेका कारणले अघिल्लो वर्षको बजेट सबै फ्रिज भएको बताइएको छ ।

 

भदौ २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्