खेल सुरु भएको ५ मिनेटपछि स्वास्थ्य अधिकारीले प्रश्न उठाएपछि ब्राजिल-अर्जेन्टिना प्रतिस्पर्धा रद्ध

विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी महादेशको छनोटअन्तर्गत सोमबार बिहान भएको ब्राजिल र अर्जेन्टिनाबीचको खेल सुरु भएको ५ मिनेटपछि रद्ध भएको छ।
ब्राजिलमा भएको यस खेलमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले अर्जेन्टिनाका खेलाडीहरुले क्वारेन्टिन नियम उल्लंघन गरेको भन्दै खेल रोक्न निर्देशन दिएका थिए। त्यसपछि खेल रद्ध गरिएको हाे।
अर्जेन्टिनाका तीन जना खेलाडीले क्वारेन्टिन मापदण्ड उल्लंघन गरेको आरोप लागेको छ। इंग्ल्याण्डमा खेलिरहेका चारजना अर्जेन्टिनी खेलाडीले क्वारेन्टिनमा बस्नुपर्ने भए पनि त्यसो नभएको ब्राजिलका स्वास्थ्य अधिकारीहरुले दाबी गरेका छन्।
इंग्ल्याण्ड प्रिमियर लिगमा हाल अर्जेन्टिनाको राष्ट्रिय टोलिका एमिलियानो बुएन्डियाा, एमिलियानो मार्तिनेज, जियोभानी डे सेल्सो र क्रिस्टियन रोमेरोले खेलिरहेका छन्। तीमध्ये मार्तिनेज, डे सेल्सो र रोमेरो सोमबार बिहान ब्राजिलविरुद्ध सुरुवाति ११ बाट खेल्दै थिए।
घरेलु मैदानमा सेप्टेम्बर १० तारिखमा हुने बोलिभियाविरुद्धको विश्वकप छनोट खेलका लागि अर्जेन्टिनी टोलीले ब्राजिल छाडेको छ। ब्राजिलसँग हुने यो खेल अब कहिले हुन्छ भन्नेबारे कुनै निर्णय भएको छैन। खेल रोकिएको एक घण्टापछि दक्षिण अमेरिकी फुटबल महासंघले रद्ध गरिएको जानकारी दिएको थियो।
ब्राजिलको कोभिड स्वास्थ्य मापदण्डअनुसार बेलायतमा बसेर त्यहाँ आउनेले आउनुअघि १४ दिन र आएपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम छ।
गत जुलाईमा कोपा अमेरिकाको फाइनलमा प्रतिस्पर्धा गरेयता यी दुई टोली पहिलोपटक भिड्दै थिए।
अर्जेन्टिनी फुटबल संघले घटनाप्रति आपत्ती जनाउँदै आफ्नो टोलीले ब्राजिल सरकारले तोकेका सबै मापदण्डहरु पुरा गरेको दावी गरेको छ।
ब्राजिल फुटबल संघका अध्यक्ष एडनाल्डो रोड्रिगुएजले पनि अनुपयुक्त समयमा आएर खेलमा हस्तक्षेप भएको भन्दै सरकारप्रति गुनासो गरेका छन्।