नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)का अध्यक्ष गंगाप्रसाद नेपालसँग अन्तर्वार्ता

‘सरकार, अहिलेलाई बँचाइदिनू, पछि ऋण सबै तिरुँला’

काठमाडौँ– (कृष्णजन्माष्टमीको दिन) सरको बिदा होला नि? उनले हाँस्दै जवाफ फर्काए, ‘हाम्रो त दुई वर्षदेखि बिदा नै छ।’ अर्थात कोरोना महामारीले गर्दा र्‍याफ्टिङ व्यवसाय बन्द छ। पर्यटनसँग जोडिएको व्यवसाय प्रायः सबै ठप्प नै छन्। त्यसमध्येको र्‍याफ्टिङ व्यवसाय पनि एक हो।

र्‍याफ्टिङ व्यवसायी तथा नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)का अध्यक्ष गंगाप्रसाद नेपाल अर्बौँ लगानी रहेको र्‍याफ्टिङ व्यवसायले यो दुई वर्षको अवधिमा निकै नोक्सानी बेहोर्नुपरेको बताउँछन्।

‘हामीसँग अहिले कति नोक्सानी भयो त्यो तथ्यांक छैन’, उनी भन्छन्, ‘हामी अध्ययन गरिरहेका छौँ। वार्षिक करिब २० करोड कारोबार हुन्थ्यो भने यो दुई वर्षको अवधिमा ४०/५० करोडको घाटा भएको छ।’

अहिले आफूहरुको काम अध्ययन गर्ने मात्र भएको उनले सुनाए। हुन पनि कोरोना भाइरसको लहर सुरु भएदेखि नै पर्यटन व्यवसाय ठप्प नै छ।

सरकारले अन्य व्यवसाय सञ्चालन गर्न दिए पनि पर्यटन क्षेत्र भने अझै सञ्चालनमा आउन सकेको छैन। रेष्टुरेन्ट व्यवसाय अभौतिक रुपमा सञ्चालनमा आए पनि र्‍याफ्टिङ, पर्यटक यातायात, टुरिष्ट गाइड लगायतको अवस्था ज्यूँका त्यूँ छ।

पर्यटक यातायात, टुरिष्ट गाइड लगायतका व्यवसाय विदेशी आउँदा सञ्चालन भए पनि र्‍याफ्टिङ व्यवसाय आन्तरिक पर्यटकले पनि ‘सस्टेन’ हुनसक्ने अध्यक्ष नेपाल बताउँछन्।

उनले भने, ‘हामीले राज्यलाई आन्तरिक पर्यटन प्रवद्धन गरौँ भनिरहेका छौँ। अहिलेको महामारीमा पर्यटन क्षेत्र सस्टेन हुने भनेकै आन्तरिक पर्यटनबाट हो। यस्तो किसिमको महामारी फेरि पनि आउन सकिन्न भन्ने छैन। त्यसले गर्दा हामीले आन्तरिक पर्यटन प्रर्वद्धन गर्नका लागि सरकारका निजामती कर्मचारी, बैंक तथा अन्य क्षेत्रका कर्मचारीहरुलाई ७ देखि १० दिनको तलबी बिदाको कुरा गरेका थियौँ। त्यो कुरा गएको बजेटमा पनि आएको छ तर कार्यान्वयन भएको छैन। त्यो भयो भने केही मात्रामा सस्टेन हुन सकिन्छ। तर पूर्ण रुपमा आफ्नो लय समात्न विदेशी पर्यटक नै आउनु पर्छ।’

यस्तै महामारीका कारणले बन्द रहेको र्‍याफ्टिङ व्यवसायबाट करिब १५ प्रतिशत व्यवसायी विस्थापित भइसकेको पनि उनले जानकारी दिए। यस्तै अवस्था रह्यो भने छ्ट्टिै नै आधा व्यवसायी विस्थापित हने उनले बताए। ‘अहिले १०/१५ प्रतिशत विस्थापित भइसकेका छन्। यस्तै अवस्था रह्यो भने ४०/५० प्रतिशत व्यवसाय पलायन हुने स्थितिमा पुगेको छ,’ उनले भने।

उनले थपे, ‘यदि राज्यबाट केही भएन या सहुलियत दरमा कर्जा पाउन सकिएन भने अहिले १०/१५ प्रतिशत भयो अब पनि एक वर्षमा ५० प्रतिशतभन्दा बढी पलायन हुने देखिन्छ।’

व्यवसायी मात्र होइन, यस क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाएका १० हजार कामदारमध्ये अधिकांश बेरोजगार रहेको पनि उनले बताए।

‘अति पीडित कामदारका लागि केहि राहत होस् भनी नाराले नेपाल पर्यटन बोर्ड तथा युएनडिपीसँग सहकार्य गरिरहेको छ। उनीहरुलाई कसरी काम दिन सकिन्छ। हामी काम गरिरहेका छौँ,’ उनले भने।

यसैगरी व्यवसाय सञ्चालन खर्च न्यूनतम ब्याजमा बिनाधितो साना तथा मझौला व्यवसायीलाई २०/२५ लाख रुपैयाँसम्म दिएमा व्यवसाय टिकाउन सकिने उनले बताए। यसका लागि राज्यसँग उनले आग्रह पनि गरे।

र्‍याफ्टिङ क्षेत्रले देशको अर्थतन्त्रमा सरकारका हिसाबले ७ देखि ८ प्रतिशत योगदान गरिरहेको उनले जानकारी दिए। ‘हामीले १५ प्रतिशत योगदान गरेको भन्छौँ,’ उनले भने, ‘तर सरकारबाट ७/८ प्रतिशतको कुरा आइरहेको छ।’

अहिले व्यवसाय सञ्चालन गर्न दिएको खण्डमा अर्थतन्त्रमा केही टेवा पुग्ने उनले बताए। अहिलेको अवस्थामा पनि सुरक्षाका मापदण्ड तोकेर व्यवसाय सञ्चालनमा ल्याउन सकिने उनले बताए। यसका लागि उनले सरकारसँग पटक–पटक ध्यानाकर्षण गराएको र अझै आग्रह गरिरहेको पनि बताए।

‘हामीले सरकार तथा सम्बन्धित निकायसँग बारम्बार छलफल गरिरहेका छौँ’, उनले भने, ‘सबैलाई भेटेर हामीले बाँच्ने स्थिति त बनाइदिनु भनेका छौँ। अहिले व्यवसाय बाँच्यो भने पछि ऋण सबै तिरौँला, व्यवसाय नै नभए कसरी चल्छ?’

आफूहरुका माग सरकारले केही लागू गरे पनि जति हुनुपर्ने हो त्यति नभएको उनको गुनासो छ।

उनका अनुसार व्यवसाय सञ्चालनमा नल्याउदा भएका दक्ष जनशक्ति पलायन भइरहेको पनि उनले बताए।

‘हाम्रा दक्ष जनशक्ति पलायन भइरहेका छन्। नयाँ दक्ष जनशक्ति उत्पादन गर्न वर्षौँ लाग्छ’, उनले भने। नेपालमा भएका दक्ष जनशक्तिलाई पलायन हुन नदिन सरकारले छिटोभन्दा छिटो ठोस कदम चाल्नुपर्ने उनको भनाइ छ।

भदौ २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्