डब्लुएचओको बैठकमा प्रधानमन्त्रीले भने- ‘पहुँच नपाएकाहरुमा पुग्नु हाम्रो प्राथमिकता’

Copy to clipboard
Copied!

काठमाडौँ – स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्न स्वास्थ्य क्षेत्रका नेतृत्व प्रदायकहरूको थप प्रतिबद्धताको माग गर्दै विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७४ औँ बैठक सुरु भएको छ।

सोमबारबाट सुरु भएको वार्षिक बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा स्वास्थ्य प्रणालीहरूले अत्यावश्यक स्वास्थ्य सेवाहरू प्रदान गर्ने क्रममा क्षमताभन्दा बढी भार थेग्नु परिरहेको बताए।

उनले भने, ‘अहिलेको अवस्थामा स्वास्थ्य क्षेत्रका मानिसको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि महत्वपूर्ण निर्णयहरू लिनका लागि यो बैठक आयोजना गरिएको छ। मानवताका लागि हामीले खोप, औषधि, औजार तथा प्रविधिमा समतामूलक पहुँच सुनिश्चित गर्नु आवश्यक छ। पहुँच नपाएकाहरूसम्म पुग्ने हाम्रो प्राथमिकता हुनुपर्छ।’

त्यसैगरी विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेद्रोस अधानोम घेब्रेसियसले कोभिड–१९ महामारीले  अझै पनि जीवन, जीविका, समाज तथा अर्थतन्त्रमा क्षति पर्‍याइरहेको उल्लेख गरे।

उनले भने, ‘दक्षिण–पूर्वी क्षेत्रमा गत मे महिना विनाशकारी रूपमा नै सङ्क्रमणको संख्या बढेकोमा हाल आएर सङ्क्रमण तथा मृत्युको संख्यामा कमी आएको देख्दा मलाई हर्ष लागेको छ। तर पनि देशपिच्छे र ठाउँपिच्छे अवस्था फरक छ। केही स्थानहरूमा तीव्र संख्यामा सङ्क्रमण वृद्धि भइरहेको र अस्पतालहरू भरिएको अवस्था छ। भविष्यमा फेरि यस्तो ठूलो महामारी हुन दिनु हुँदैन।’

विश्व स्वास्थ्य संगठनका क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपालले कोभिडले स्वास्थ्य प्रणालीहरूलाई निकै ठूलो क्षति पुर्‍याएको भन्दै स्वास्थ्य प्रणालीलाई पुनः निमार्ण गर्नुपर्ने उल्लेख गरेकी थिइन्।

‘कोभिडका कारण सेवाहरू अवरुद्ध भएका छन्। स्वास्थ्यकर्मीहरू गलेका छन्। संक्रमणकै कारण स्वास्थ्यमा गुमाएका उपलब्धिहरूलाई पुनः प्राप्त गर्नुछ। हामीबीच ठूलो चुनौती खडा भएको छ’, उनले भनिन्।

यस क्षेत्रका सदस्य राष्ट्रहरूका स्वास्थ्य मन्त्री तथा स्वास्थ्यका उच्च पदाधिकारी, संयुक्त राष्ट्र संघका निकाय, साझेदार, दातृ निकाय, तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहने यस पाँच दिने भर्चुअल सत्रमा जनस्वास्थ्य आपतकालको तयारी तथा प्रतिकार्यको सुदृढीकरण कसरी गर्ने तथा नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा भएको प्रगतिलाई कसरी अझ द्रुत बनाउने भन्ने लगायतका स्वास्थ्यसम्बन्धी मुद्दाहरूमा छलफल हुनेछ।

स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्ने उद्देश्यका साथ कोभिड–१९ महामारीले क्षति पुर्‍याएका अत्यावश्यक स्वास्थ्य सेवाहरूको  ‘अझ राम्रो पुननिर्माण’ विषयमा भोलि मन्त्रीस्तरीय गोलमेच हुने कार्यक्रम छ।

छलफल हुने अन्य मुख्य मुद्दाहरूमा खोपको कार्ययोजनाका लागि क्षेत्रीय खाका, विद्यालय स्वास्थ्यको पुनोरुत्थान, र भाइरल हेपाटाइटिस्, एचआईभी तथा यौनजन्य सङ्क्रमणको अन्त्य रहेका छन्।

भदौ २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्