बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यसँगको अन्तर्वार्ता

‘ओलीलाई सच्याउन भागेर होइन, भित्रै लड्ने निधो गरेका हौँ’

हेटौँडा– बाग्मती प्रदेशको मुख्यमन्त्री भएको केही दिनमै अल्पमतमा परेकी अष्टलक्ष्मी शाक्यले छिट्टै विश्वासको मत लिने तयारी गरेकी छन्। बहुमत जुटाउनका लागि कुनै पनि अनैतिक राजनीतिक खेल नखेल्ने दाबी गर्दै अब विश्वासको मत लिने तयारी गरेको बताएकी छन्।

देश सञ्चारसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘अल्पमतको सरकार टिकाउनको लागि बरु सहज रूपबाट म अविश्वासको प्रस्ताव पनि फेस गर्छु। विश्वासको मत लिन पनि तयार गर्छु। र, सहज रूपबाट जो आउनुहुन्छ उहाँलाई हस्तानतरण गर्न तयार छु।’

तर, यो बीचमा आफूले जतिसक्दो राम्रो काम गरेर देखाउने दाबी उनले गरेकी छन्। त्यसका लागि आफ्नो मन्त्रिपरिषद्मा कम्तीमा २ जना सदस्य थप्ने तयारी गरेको उनको भनाइ छ।

प्रस्तुत छ, मुख्यमन्त्री शाक्यसँग बाग्मती प्रदेश सरकारसँगै हालै एमालेमा उत्पन्न विवाद, विभाजन र आगामी राजनीतिक चुनौतीबारे गरिएको कुराकानीको सम्पादित अंशः

० तपाईंंले सुरुमा योग्य भएर पनि मुख्यमन्त्री बन्न नपाएको गुनासो गर्नुभयो। बीचमा अवसर आउँदा बन्दिनँ भन्नुभयो। अहिले आफूले नचाहेर पनि मुख्यमन्त्री बन्नुपरेको गुनासो गर्दै हिँड्नुभएको छ किन?

— संघीयतामा आइसकेपछि सातवटा प्रदेश बन्यो। सबै साथीहरूले मुख्यमन्त्रीमा दाबी गर्न सल्लाह दिनुभयो। यो प्रदेशको संयोजक पनि तपाईं हो भन्दै मलाई मुख्यमन्त्री बन्न प्रेरित गर्नुभयो। मेरो पनि मनस्थिति बन्यो। प्रदेशमा झरेँ। टिकट लिएँ, जितियो पनि जनताले मायाले। जब मुख्यमन्त्री छनोट गर्ने बेला आयो पार्टीमा विवाद भयो। आन्तरिक कलह र गुटबन्दीले मुख्यमन्त्री बन्न पाइनँ। विवादका कारण चुनाव भयो मुख्यमन्त्रीको। चुनावमा जानु नै विडम्बना थियो। सहमतिबाट मुख्यमन्त्री बनेको भए अरू प्रदेशमा पनि सहमतिमा टुंगिन्थ्यो। तर, पार्टीको केन्द्रीय तहमा विवाद बढेपछि हामीले अब यो प्रदेशमा मिलेर अगाडि बढाउने कुरा गर्‍यौँ। डोरमणि प्रदेश मुख्यमन्त्री भएपछि असहज र विवाद मात्रै भएन, मिलेर काम पनि गर्‍यौँ

बजेट पास गर्ने बेलामा सहमति भयो। केन्द्रीय सरकारमा परिवर्तन आयो, प्रतिगमनको कुरा आयो। सर्वोच्चले माओवादी र एमालेलाई आ—आफ्नै घर फर्क भनेपछि फर्केर त आयौँ। तर एमाले एक हुन सकेन। हामी बाहिरै बस्नुपर्‍यो। एमालेभित्रै बसेर संघर्ष गर्ने भन्यौँ तर सम्भव भएन। समस्या झन् फराकिलो हुँदै गायो। आफ्नो पार्टीलाई एउटा लक्ष्यसहित सबैलाई कसरी गोलबन्द गरेर लाने त भन्ने खालको दृष्टिकोण नै अभाव भयो। विचारको पार्टी बनाउने कुरामा अभाव भयो।

कार्यदलले १० बुँदे प्रस्तावमा सहमति जुटायो। ०७५ साल जेठ २ गते एमाले फर्काउने कुरामा सहमति भयो। सहमतिका बेला माधवकुमार नेपालसँग कार्यदलका साथीहरूसँग एक—एक शब्द कुरा भएको छ। ढाँट्न त पाइँदैन नि कसैले पनि। नेपालले किन ढाँट्नुभयो मैले बुझेको छैन । अझ कम्युनिष्ट भएर त झन् ढाँट्नै हुँदैन। भीम रावलले भन्नुभएको छ, ‘मैले नेपाल कमरेडको शब्द–शब्दमा सहमति लिएर हस्ताक्षर गरेको हो।’

० भनेपछि त्यो बेलामा माधव नेपाल चुक्नुभएकै हो? उहाँले सहमति गर्ने बेला आफूसँग सरसल्लाह नगरेको भन्ने उहाँको आरोप झुट हो?

— अब माधव कमरेडले झुट नै बोल्नुभयो भनेर त मैले कसरी भनम्। तर, उहाँले सहमतिबारे थाहा छैन भन्न पाइँदैन। उहाँले १० बुँदे प्रस्तावमा भीम रावलले आफ्नो खुशीले गर्‍यो भन्न पाइँदैन। नेपाललाई सबै कुरा बताइएको छ।

० ओलीले २–२ पटक संसद् विघटन गर्नुभयो, यसमा उहाँले आममाफी माग्नुपर्ने र आत्मालोचना गर्नुपर्ने तपाईंहरूको सर्त थियो तर त्यो पूरा नभई किन मिल्नुभयो त ?

— त्यो कुरा हाम्रो बैठकमा अलिअलि उठेकै हो। तर, त्यो सर्त मुख्य थिएन। एमालेलाई २०७५ जेठ २ मा फर्काउनुपर्ने हाम्रो मुख्य माग थियो। आफ्नै पार्टीलाई गोलबन्द गरेर जाने भन्ने हो। पछि माग थपिँदै गए। बराबरी अधिकारसहित अध्यक्ष हुनुपर्ने कुरा आए। त्यो माग हाम्रो सुरक्षाका निम्ति पनि थियो। अधिकारसहित माधव नेपाललाई पनि अध्यक्ष बनाएको भए अझै राम्रो हुने थियो।

ओलीले संसद् विघटन गरेकोमा आत्मालोचना मात्रै गर्नुपर्ने भन्ने पनि हाम्रो माग हो। केपी ओलीको सबै गलत कुरा त हामीले स्विकारेका छैनौँ। सकेसम्म दुई अध्यक्ष बनेर भए पनि एकता जोगाउनुपर्छ भनेका हौँ। तर, त्यो मात्रै माग पूरा हुनुपर्छ भनेको होइन। पार्टीलाई जसरी पनि एक बनाउने हाम्रो अभियान थियो। पार्टी रह्यो भने भित्रै बसेर पनि ओलीविरुद्ध लड्न सकिन्छ भनेका थियौँ। त्यसैमा जोड दियौँ। नेकपा एमाले हामीले दुःख गरेर निर्माण गरेको पार्टी हो। अनि किन हामी अरु तिर दौडिनुपर्‍यो? मैले पनि प्रश्न गरिरहेको थिएँ।

० तपाईंहरूमाथि ओलीसँग सहजै आत्मसमर्पण गरेको आरोप छ। आफैँले अपराधी करार गरेको व्यक्तिलाई नेतृत्वमा स्वीकार गरेर एमालेमै रहनुपर्ने कारण?

– हामीले आत्मसमर्पण गर्‍या छैनौँ। त्यो बेला विरोध गरेकै हो। सडकमा बसेकै हो। धर्ना कसेकै हो। जुन बेला केपी ओलीले अपराध गर्नुभएको थियो। त्यसपछि सरकारबाट ओली हटेर पुरानै ठाउँमा जानुभयो। यो सब हामीले गरेको आन्दोलनकै फल हो। नेतृत्वले गल्ती गरेपछि आत्मालोचना गरेर पद छाडेको राम्रो कि उनलाई आन्दोलनबाट झार्ने नै हो। हाम्रो आन्दोलनको दबाबका कारण अदालतले ओलीलाई सत्ताबाट झार्‍यो। त्यो नै सबैभन्दा महत्वपूर्ण कुरा हो। अब फेरि पनि ओली प्रतिगमनकारी, यस्तो उस्तो भन्नुपर्ने के जरुरी छ र?

०जति तर्क गरे पनि तपाईंहरू आफ्नो अडानबाट च्युत भएको विश्लेषण भइरहेको छ। ओलीको राजीनामा माग्ने अडानबाट किन पछि हट्नुभयो?

– हामी अडानबाट च्यूत भएका छैनौँ। ओली गलत भनेका थियौँ। तर, एमाले कहिल्यै छाड्ने कुरा गरेका थिएनौँ। नयाँ पार्टी गठन गर्ने भनेका थिएनौँ। हामी एमालेभित्र बस्न पाउनुपर्‍यो भनेर लडाइँ गरेको हो। राष्ट्रिय भेला गर्दाखेरि पनि एमालेको एकतामै जोड दिएको हो। ओलीको राजीनामा पनि मागेकै हो। तैपनि, यो भन्दा ठूलो पार्टी एकता जोगाउने कुरा भयो। कोही व्यक्तिलाई पदबाट हटाउन पनि विधानअनुसार अघि बढ्नुपर्छ।

अब महाधिवेशन आउला, विधान संशोधनको कुरा उठिरा’छ। महाधिवेशनबाट सबैको धरातल तय हुन्छ। अध्यक्ष चित्त बुझेन भनेर अहिले नै झार्न सक्ने स्थिति थिएन। अर्कोतिर ओलीको राजीनामा माग्ने तर आफै एक नहुने स्थिति पनि देखा पर्‍यो। राजीनामा माग्न सबै शक्ति एक भा’को भए पो। कोही पार्टी फुटाएर जाने, कोही के गरेर जाने। पार्टी फुटाएर जाने साथीले पनि त ओलीविरुद्ध सशक्त आवाज उठाएको म देख्दिनँ। केपी ओलीका वैचारिक कुरा कमजोर होला। वास्तवमा नेतृत्वको समीक्षा गर्नुपर्ने बेला आएको छ।

तर, यो पार्टीभित्रै बसेर गर्ने हो। नेताहरू कहिले झ्याप्पै मिल्ने। चित्त बुझे अलग हुने। यस्ता थुप्रै खेल एमालेभित्र भइरहेका छन्। तर, म फुटको पक्षमा हिजो पनि थिएन, आज पनि छैन। आफैले दुःख र त्याग गरेको पार्टी। जीवन समर्पण गरेको पार्टीमा बस्ने र लडाइँ गर्ने हो, त्यहीँभित्र जुध्ने र आफूलाई समर्पित गरेर लैजाने हो।

० पार्टी एकताको पक्षमा हुनुहुन्थ्यो भने किन त्यतिका लामो समय बेग्लै राजनीतिक गतिविधि गरेर नेता तथा कार्यकर्तालाई भट्काएको?

– पार्टीभित्रको विकृतिविरुद्ध आवाज उठाउनै पर्छ। माले हुँदै नेकपा एमालेको जन्म भयो। त्यो बेलादेखि नै पार्टीभित्र वैचारिक संघर्ष नगरेको भए धेरै अप्ठ्यारो आउँथ्यो। त्यही संघर्ष गर्दा यहाँसम्म आइपुगेको हो। सर्वोच्चले निर्णय गरे पनि एमालेको ढोका हाम्रा लागि बन्द थियो। हामीले आफ्नो शक्तिलाई बचाउनुपर्‍यो कि परेन? आफ्नो शक्तिलाई छरपष्ट पार्ने? हाम्रो पनि त शक्ति छ नि भनेर देखाउनुपर्थ्यो। त्यो शक्तिलाई हामीले जोगाउने कसरी? राष्ट्रिय भेलाबाट हामी निराश हुनुहुँदैन भन्ने सन्देश दियौँ।

हाम्रो सम्पूर्ण शक्ति एकीकृत हुनुपर्छ भन्यौँ। संगठन निर्माण गर्‍यौँ। साथीहरूलाई गोलबन्द गरेका थियौँ। हामीले पार्टी एकजुट होला भन्ने आशाका साथ वैचारिक गतिविधिलाई अगाडि बढायौँ। यदि, हामी चुपचाप बस्या भए यति पनि हुने थिएन। कार्यदल बनाउने ढोका खुल्यो, वार्ता गर्ने ढोका खुल्यो। यत्तिकै बस्या भए त अनेकौँ भ्रम हुन्थ्यो। गतिविधि त आ—आफ्नो अगाडि बढाउन पाइयो नि त। त्यसमा के गरिस् भने भन्ने कुरा हुनुहुन्न।

० तपाईं लामो समयदेखि माधव नेपाल गुटकी नेता भनेर चिनिनुभयो। तर, केही महिनाका लागि भए पनि मुख्यमन्त्री बन्न उहाँको साथ छाडेको आरोप लाग्यो नि!

– पहिलो कुरा त पदका लागि मैले कहिले पनि आफूलाई असहज हुने वातावरण बनाएको छैन। जिन्दगीभरि मैले पदको लागि हुने काम गर्‍या छैन। बरु त्याग गरेको छु। समर्पण गर्‍या’छु। र, पार्टी बनाउन मैले आफ्नो सम्पूर्ण निष्ठा समर्पित गर्‍या’छु। पदको दाबी गर्ने हो भने अष्टलक्ष्मी यति मात्र कहाँ हो र? तर, कहिल्यै पनि मैले यस्तो अहं राखिनँ। सहजता पूर्वक देश र जनताको सेवा गर्ने भनेरै मैले जतिबेला देखि बुझेँ त्यो बेलादेखि नै मैले समर्पण गर्दै आएको छु। अब जहाँ सम्म मुख्यमन्त्रीको कुरा आयो, यो बागमती प्रदेशमा कति झगडा गर्नु ? कति बेमेल गर्नु? एमालेमा दुई पक्ष कहिलेसम्म? विरोध कहिलेसम्म भन्ने भयो।

अब जे भयो भयो, बाँकी समय धेरै छैन मिलेरै जाऔँ भन्ने भयो। जनताबीच जाँदा के अनुहार देखाउने? भन्ने प्रश्न खडा भयो। त्यसैले मैले नै एकताका लागि बग्मतीमा पहल सुरु गरेँ। र, मलाई मुख्यमन्त्री बन्न भनियो। यसमा केपी ओली र माधवकुमार दुवैको सहमति छ। नेकपा हुँदै पनि प्रचण्ड र माधव कमरेडले तपाईं मुख्यमनत्री बन्नुस् भनेर जोड दिनुभएको थियो। मैले यो अनेकौँ खेलमा के लाग्नु, म बन्दिनँ बरु अरु साथीलाई पठाइदिऊँ न पनि भनेको थिएँ। तर, डोरमणिले पनि तपाईंका लािग म छाड्दिन्छु अब र १६ महिना साथ दिन्छु भन्नुभयो। त्यसपछि मैले मानेँ। पार्टी एकताको प्रयास भइरहेको थियो। एकता होला भन्ने आशा थियो। तर, पार्टी फुट्यो।

पार्टी अलग भएपछि राजनीति निर्मम नै हुन्छ। त्यो त भोगेरै आएको हो नि! आफ्नो फरक पार्टी भएपछि अर्को पार्टीलाई असहज त भइहाल्छ नि! यस्तो स्थिति आउने हो कि भन्ने मेरो अनुमान पनि थियो। आन्दोलनमा लागिराख्दा व्यक्तिभन्दा पनि सिद्धान्तलाई मानिन्छ। मलाई झलनाथ खनालले पनि आँट दिएकै हो। एकै पार्टीमा भए त त्यो बेग्लै कुरा। तर, पार्टी फुटिसकेपछि त्यो व्यक्तिको कुरा हुन्छ। सिद्धान्तको कुरा प्राथमिकता हुन्छ। मैले माधव नेपाललाई स्पष्टै भनेको छु, पार्टी नफुटाऊँ कमरेड। २०५४ सालमा पार्टी फुट्यो।

मैले माधव कमरेडलाई हामी जहाँ छौँ एकठाउँमा बसौँ, एकढिक्का भएर बसौँ, ओलीसँग पनि मिलेरै लडौँ भनेको हो। हिजो पनि त सँगै लडे्को हो। आज पनि एकैठाउँमा बसौँ भनेको हो। हामीले बनाएको पार्टी किन सरक्क छोडेर हिँड्ने ? भनेर प्रश्न गरेको हो। मैले यो हातले फुटको हस्ताक्षर गर्न सक्दिनँ भनेको थिएँ। तर, उहाँले मान्नुभएन। पार्टी फुटाउन एकदमै हतार गर्नुभयो। उहाँ त हामीभन्दा अनुभवी मान्छे। उहाँले त सबैलाई समेटेर, नहतारिकन के गरौँ त भनेर अगाडि बढ्नुपर्ने थियो।

० तर तपाईंहरूले आफूलाई धकेलेर भागेको आरोप लगाउनुभएको छ नि नेपालले?

– त्यस्तो नचाहिने कुरा त गर्नुहुँदैन। नेपालले बरु हामीलाई धकेल्नुभयो। नयाँ शक्तिलाई बाटो देखाउने जिम्मेवारी उहाँको होइन? ओलीसँग मिलिहालौँ भनेका थिएनौँ। तर उहाँले हामीलाई आफू खुसीले चल्नुहोस् भन्नुभयो। हतारिएर पार्टी फुटाउनुभयो। हामी नै बिचल्लीमा पर्ने स्थिति आयो।

धन्न हामी १० जना मिलेको हुनाले पो एकठाउँमा भयौँ त। नत्र त को कता को कता हुने थियौँ। उहाँ त नेतृत्व नै हो। उहाँलाई हामीले छोडेको होइन। बरु उहाँले हामीलाई अप्ठेरोमा पार्नुभयो। अब त अलग—अलग नै भइसक्यौँ। तर, इतिहासको पानामा मैले स्मरण गरिरहँदाखेरि यो रहन्छ । नेताहरूलाई त आनन्दै छ नि पार्टी फुटाएकोमा। तर, तलका साथीहरू जसले केही पाएका छैनन्, जसले जीवन समर्पण गर्‍या’छन्। बाहिरबाट देख्दा खेरि खुरुक्क एमालेमा गएजस्तो देखियो। पर्टीको अध्यक्ष ओली, त्यहीँ रह्यो भन्ने देखियो।

० माओवादी पृष्ठभूमिका नेताबिनाको एमाले माग्नुभयो। अन्तिममा उहाँहरूसहितको बैठकलाई एमालेको भनिदिनुभयो किन ?

– नेकपा माओवादी पृष्ठभूमिबाट आउनुभा’को साथीहरू पनि त कम्युनिष्ट धारबाटै आउनुभएको हो नि त। आन्दोलनमा धरै कुरा आउँछन् तर जे सहमति हुन्छ त्यो नै अन्तिम हो।

कम्युनिष्ट आन्दोलनमा पार्टी मिलाएर लानुपर्ने हुन्छ। नेताहरू पनि मिलेर अघि बढ्नुपर्छ। ०७५ जेठ २ मा एमाले फर्कनुपर्छ भनेर हामीले अन्तरपार्टी निर्देशन जारी गरेका छौँ। अहिले त्यसैलाई आधार मानेर संगठनलाई पुनर्जीवित गराउन थालेका हौँ। बाग्मती प्रदेशको बैठक बस्यौँ र अब २१ गतेदेखि हामी जिल्ला कमिटीको ७५ जेठ २ को बैठक ल्याउन लागिपर्‍यौँँ। २४ भदौसम्म हाम्रो बैठक सकिन्छ। अब एकताका क्रममा उहाँहरूलाई स्वीकार गर्दा क्षति हुँदैन। अब जुन कमिटीमा १० प्रतिशत आउँछ, त्यसमा हाम्रो अगाडि जान्छ, अहिले गहिरो छलफल हुन्छ।

० अब केपी ओलीलाई सुधार्न सक्नुहुन्छ?

– नेतृत्वमा रहेका व्यक्ति कि आफैँ सुध्रिने हो कि कसैले सुधार गर्ने हो। यो विचारबाटै सुध्रिने कुरा हो। झगडा गरेर मात्रै नेतृत्व सच्चिन्छ भन्ने हुँदैन। जति गहिराइमा छलफल हुन्छ त्यति नै सुध्रिने सम्भावना हुन्छ। आफैँलाई महसुस गर्न सक्यो भने सच्चिन्छ नै! हैन भने त अब विधि विधान छ, प्रक्रियाअनुसार अगाडि बढ्नुपर्छ।

हामी ओलीमा विलय भएको होइन, उहाँलाई सच्याउन भित्रै बसेर लड्ने निधो गरेका हौँ। आफ्नो सोच संकुचित बनाउने, गुटमा रमाउने, अनुशासन पालना नगर्ने, नैतिकतालाई ख्याल नगर्नेजस्ता काम अब उहाँबाट हुनुहुन्न। यी सबै कुराले गणतन्त्र बलियो बनाउन्न।

० महाधिवेशन नजिकिँदै छ। कसरी अगाडि बढ्नुहुन्छ ?

– हाम्रो स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक छ। त्यो बैठकपछि हामीले आधार तयार गछौँ। त्यसपछि तलतल कमिट पनि त्यही ढङ्गले जान्छ। तलबाट कमिटी अधिवेशन सुरु हुन्छ। अधिवेशन सुरु भइसकेपछि जिल्लाको अधिवेशन सुरु हुन्छ, महाधिवेशन हुन्छ। त्यसपछि केन्द्रीय महाधिवेशन हुन्छ र नेतृत्व के के गर्ने सबै कुरा त्यहीँबाट फैसला हुन्छ।

० फेरि पनि ओली नै अध्यक्षमा उठ्ने चर्चा छ नि?

– मलाई त्यस्तो लाग्दैन। किनभन्दा महाधिवेशन भनेको कसैलाई टीका लगाएर दिने कुरा होइन। त्यो त सबैबाट छान्ने कुरा हो।

० अब माधव नेपालको पार्टीमा जाने सम्भावना कति छ?

– मैले प्रस्ट भनिसकेको छु। कुर्सी टिकाउनका लागि पार्टी फुटाएर समाजवादी पार्टीमा जान सक्दिनँ। बरु यो कुर्सी छाड्न तयार छु तर फुटेको पार्टीमा जान तयार छैन। फुटको पार्टीमा हस्ताक्षर गर्न त्यो पार्टीमा जान सक्दिनँ। जुन कम्युनिष्ट आन्दोलनले यो गणतन्त्रसम्म पुर्‍यायो, त्यसैमा लागेँ, फेरि पनि त्यसैमा छु। र मचाहिँ फुटाएर, टुक्राटाक्री भएर छिन्न भिन्न भएर जने पक्षमा छैन।

० अब सरकारमा केन्द्रित हौँ, तपाईं अल्पमतमा परिसक्नुभयो। बहुमत जुटाउने कसरतमा हुनुहुन्छ कि चुपचाप हुनुहुन्छ ?

– राजनीतिक विकृति प्रदेशमा पनि देखियो। कुर्सी टिकाउनको लागि जे पनि गर्ने प्रवृति बढ्यो। केन्द्रमा हेरिसक्नु छैन। यसबाट जनता आजित पनि भएका छन्। र अस्थिरता पनि उत्पन्न भएको छ। यसले गणतन्त्रलाई कमजोर पनि बनाएको छ । पार्टी छान्ने अधिकार छ। केही साथी समाजवादीतिर पनि जानुभयो। नजानुस् भनेर रोक्ने कुरा पनि हुन्न। म साथीहरूप्रति नेगेटिभ पनि छैन।

तर, हिजो विश्वास गरेर एकैठाउँमा बस्यौँ अहिले सरकारलाई सहयोग गरेको भए राम्रो हुन्थ्यो । अब भइसक्यो त्यसमा मेरो कुनै गुनासो छैन। अल्पमतको सरकार टिकाउनको लागि बरु सहज रूपबाट म अविश्वासको प्रस्ताव पनि फेस गर्छु। विश्वासको मत लिन पनि तयार गर्छु। र सहज रूपबाट जो आउनुहुन्छ उहाँलाई हस्तानतरण गर्न तयार छु।

० कहिले लिनुहुन्छ विश्वासको मत?

– केही समय त बाँकी नै छ। ३० दिनभित्र लिनुपर्ने हुन्छ। संसद् चलेपछि साथीहरू पनि आउनुहोला। विपक्षीसँग कुरा गरौँला। मेरो विपक्षीसँग पनि त्यस्तो नराम्रो छैन। जति दिन भए पनि केही राम्रो गरौँ भन्ने लागेको छ। त्यसैले केहीसमयको लागि भए पनि मन्त्रिपरिषद् विस्तार गर्दै छु। कृष्ण खनालले म पहिलोचोटि नै मन्त्री बन्छु भन्नुभयो। कमरेड मलाई बनाउनुपर्‍यो भन्नुभयो। सिनियर पनि हो भनेर बनाइयो। भोलिपल्ट उहाँ त अर्को पार्टीमा कुद्नुभयो। आफ्नो नैतिकतामा पनि भर पर्छ।

० तपाईं प्रदेशको सांसद पनि। संघीयता कार्यान्वयनमा स्थिर सरकारको महत्वपूर्ण भूमिका हुन्छ। तर, किन पटकपटक सरकार परिवर्तनको खेलमा लाग्नुभयो ?

– समझदारीसाथ सरकार परिवर्तन गरेकाले यसमा केही भनिराख्नै परेन। डोरमणि भए पनि यही हालत हुन्थ्यो। उहाँलाई पनि यही हालत नै हुन्थ्यो। उहाँ पनि अल्पमतमै पर्नुहुन्थ्यो। मलाई जस्तै परिहाल्थ्यो उहाँलाई पनि। त्यसो हुनाले हामीले परिस्थिति नबुझेको पनि हैन।

० अब के आधारमा चुनावमा जाने?

– जनताको बीचमा त जाने दिन पनि आइसक्यो। त्यो कठघरामा उभिनैपर्छ। राजनीतिक दल, नेता, सांसादहरू भएपछि जनताको कठघरामा उभिनैपर्छ।

त्यो भनेको जनताले मूल्यांकन गर्ने कुरा हो। त्यसो गररहँदा जे जे भाको छ त्यो अवस्थाबारे जनताले कोही नेतालाई बाँकी राख्दैन तर त्यो बेलामा जनतालाई ढाँटेर हैन, छलेर हैन इमानदारीपूर्वक जवाफ दिनुपर्छ। तर, मलाई लाग्छ फुट विभाजनले गर्दा जनता उत्साहित छन् जस्तो मलाई लाग्दैन।

भदौ २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्