नेपालको खोक्रो शिक्षानीतिलाई खँदिलो र जीवनोपयोगी बनाउने तरिका

शिक्षाको परिभाषा
प्राच्य परम्परामा शिक्षा भन्नाले धर्म, अर्थ, काम, मोक्ष यी चारै पुरुषार्थप्रति सन्तुलित दृष्टि राखी जीवनयापन गर्दै आफ्नो निर्बाध र सर्वाङ्गीण विकास गर्न अवलम्बन गरिने एउटा महत्त्वपूर्ण प्रक्रिया भन्ने बुझिन्छ । ऋषि–मनीषीहरूबाट आविष्कृत तथा विकसित यस शिक्षाप्रक्रियाले मनुष्यमा रहने इर्ष्या, द्वेष, काम, क्रोध, लोभ, मोह इत्यादि दुर्गुण हटाई उसमा विद्या, सत्य, न्यायप्रेम, दक्षता, शिल्प इत्यादि सद्गुणहरूको आधान गरी व्यक्तिको र राष्ट्रको भौतिक तथा आध्यात्मिक उन्नति गर्ने उद्देश्य राखेको देखिन्छ ।

नेपालमा शिक्षाको इतिहास
नेपालमा परम्परागत रूपबाट शिक्षा–दीक्षा लिने–दिने प्रचलन प्राचीन कालदेखि नै रहेको कुरा इतिहासबाट बुझिन्छ। व्यवस्थित प्रकारले शिक्षा दिन जुम्ला राज्यका अधिपति वत्सराजले सोह्रौँ शताब्दीका प्रारम्भमा नयाँ विद्याकेन्द्रहरूको स्थापना गरेका थिए भन्ने कुरा र कास्कीका राजा सिद्धिनारायण साहले जगन्नाथ, मणिभद्र, कुलराज, हर्षदेव इत्यादि पण्डितहरूलाई राखेर छात्रावास, पुस्तकालय इत्यादि सुविधाको व्यवस्थासमेत गरेर भूमिदानद्वारा विद्यालय सञ्चालन गरेका थिए भन्ने कुरा इतिहासका पुस्तकमा उल्लिखित देखिन्छ । पश्चिमी ढङ्गको शिक्षाको थालनी भने विक्रमको बिसौँ शताब्दीको प्रारम्भतिरबाट मात्र भएको बुझिन्छ । वि.सं. १९०८ तिर दरबार स्कूलको बीजारोपण भएपछि अङ्ग्रेजीशिक्षा र वि.सं. १९२५ तिर संस्कृत पाठशालाको स्थापना भई वि.सं. १९३४ तिरबाट त्यो व्यवस्थित रूपमा सञ्चालन हुन थालेपछि पश्चिमी शैलीको संस्कृतशिक्षा नेपालमा चल्न थालेको देखिन्छ ।

प्राथमिक विद्यालयको इतिहास
नेपालमा प्राथमिक विद्यालयहरूको स्थापना गर्ने काम वि.सं. १९५८ मा देवशमशेरबाट भएको बुझिन्छ । त्यस बेला उनले देशका विभिन्न भागमा १५० वटा पाठशाला खोलेका थिए भनी कोही भन्छन् भने २५–३० वटा मात्र पाठशाला उनले खोलेका थिए भनी कोही भन्छन् । यति बेलै नेपाली भाषामा पठनपाठन चलाउन जयपृथ्वीबहादुर सिंहले केही पुस्तकहरू पनि लेखेर प्रकाशित गरेका थिए । १९५९ सालमा नेपाल–उपत्यकामा १३ वटा पाठशाला रहेको र १९६७ सालमा ५ वटा मात्र पाठशाला रहेको कुरा निजामती किताबखानाका स्रेस्ताबाट देखिन्छ भन्ने कुरा प्रकाशमा आएको छ । यसबाट देवशमशेरका उत्तराधिकारीका पालामा पाठशालाको सङ्ख्या घट्दै गएको बुझिन्छ ।

आधिकारिक निकायबाट प्रकाशित तथ्याङ्कलाई आधार मानेर हेर्दा वि.सं. २०११ मा नेपालमा तीन किसिमका प्राथमिक विद्यालय अस्तित्वमा रहेका थिए— अङ्ग्रेजी प्रा.वि. ६६७ वटा, संस्कृत प्रा.वि. (भाषापाठशाला) २३३ वटा र आधारपाठशाला २१ वटा ।

अङ्ग्रेजी प्राविमा अङ्ग्रेजीभाषालाई जोड दिई शिक्षणकार्य गरिने र संस्कृत प्रा.वि. (भाषापाठशाला) मा संस्कृत भाषालाई जोड दिई शिक्षण गरिने तथ्य इतिहासबाट ज्ञात हुन्छ । संस्कृत प्रा.वि.मा अङ्कगणित, प्रकृतिपरिचय तथा सामाजिक शिक्षा अनिवार्य थिए र रुद्री, चण्डी, अमरकोष, रघुवंश, लघुकौमुदी, शीघ्रबोध, मुहूर्तमार्तण्ड, मुहूतचिन्तामणि, हितोपदेश, चाणक्यनीति–दर्पण इत्यादि संस्कृतका ग्रन्थहरू विद्यार्थीको रुचि तथा शिक्षकको क्षमताअनुसार रोजिछाडी पढ्ने–पढाउने प्रचलन थियो । आधार पाठशालामा चाहिँ लुगा बुन्ने कार्य, काठको कार्य, कृषिकार्य आदि आधारभूत सीपमा जोड दिइन्थ्यो भन्ने अवगत हुन्छ ।

प्राथमिक शिक्षामा एकरूपता
२०११ सालमा नेपाल राष्ट्रिय शिक्षा आयोगले “पुरोहित आदिको शिक्षाको व्यवस्था गर्नु सरकारको उत्तरदायित्व होइन, सरकारी पैसा त सर्वसाधारण शिक्षालाई छुट्याउन पर्छ” इत्यादि भनी “प्राथमिक शिक्षा एकै प्रकारको बनाउने” भन्ने सिफारिस गरेको थियो । धार्मिक, नैतिक र चारित्रिक शिक्षामा समेत अत्यन्त महत्त्वपूर्ण योगदान दिन सक्ने संस्कृत शिक्षालाई उक्त आयोगले अमेरिकी शैक्षिक सल्लाहकार ह्यू.बी.उड्का निर्देशनमा अन्धविश्वासी र अनावश्यक शिक्षाका रूपमा चित्रण गरेर राष्ट्रिय शिक्षाको मूल धारबाट हटाउने षड्यन्त्रमूलक सिफारिस गर्‍यो। यो कुरा कलेज् अव् एजुकेशन्को शिक्षा विभागद्वारा सन् १९५६ मा प्रकाशित नेपालमा शिक्षा (र एजुकेशन् इन् नेपाल) भन्ने रुद्रराज पाण्डेहरूद्वारा सम्पादित पुस्तकमा लेखिएको छ (पृष्ठ ५१, ७३, ८५ इत्यादि) । त्यसको फलस्वरूप सरकारले संस्कृत शिक्षालाई क्रमशः जनसाधारणको पहुँचभन्दा बाहिर लैजाने र एकच्छत्र रूपमा अङ्ग्रेजी शिक्षा चलाउने नीति लागू गर्दै आयो ।

त्यस बेला उक्त सिफारिसका आधारमा सरकारले २३३ वटा संस्कृतका भाषापाठशालालाई रूपान्तरित गरी साधारण प्रा.वि.मा परिणत गर्‍यो। त्यसपछि प्रा.वि.मा संस्कृत र अङ्ग्रेजीको पढाइ बन्द गर्ने र प्राथमिक शिक्षा नेपाली भाषाका माध्यमले दिने नीति बनायो । व्यवहारमा भने सरकारले संस्कृतको पठनपाठनलाई बलपूर्वक रोक्यो, अङ्ग्रेजीको पठनपाठनलाई चाहिँ त्यसरी रोकेन । त्यसैले प्राथमिक शिक्षामा अङ्ग्रेजीको पढाइचाहिँ चल्दै गयो । प्राथमिक शिक्षा नेपाली भाषाका माध्यमले दिने भन्नु संस्कृत हटाउने बहाना मात्र रहेछ भन्ने पनि स्पष्ट भयो । यसरी नेपालको शैक्षिक पाठ्यक्रममा वैदेशिक हस्तक्षेपको औपचारिक प्रारम्भ भएको थियो । उक्त आयोगमा बसेका नेपालका उच्च तहका भनिएका व्यक्तिहरूलाई त्यस आयोगले गरेका सिफारिसमा आजीवन प्रतिबद्ध रहनुपर्ने प्रतिज्ञा पनि गराइएको रहेछ ।

पाश्चात्त्य शिक्षापद्धति
शासकले २०११ संवत्‌मा देशभरिका भाषापाठशालामा संस्कृतको पढाइ प्रतिबन्धित गर्ने काम गरेकाले र २०२८ संवत्मा ल्याइएको नयाँ शिक्षायोजनाले प्रवेशिका तहमा राखिएको ५० पूर्णाङ्कको अनिवार्य संस्कृतलाई हटाउने काम गरेकाले नेपालमा पाश्चात्त्य पद्धतिका शिक्षालाई मात्र प्रचार गर्न खोजिएको कुरा स्पष्ट हुन्छ । नेपालका विभिन्न क्षेत्रमा झैँ शिक्षाका क्षेत्रमा पनि बाहिरी हस्तक्षेप धेरै भएकाले यस्तो स्थिति आएको हो । नेपालीहरूका आवश्यकतालाई नै हेरेर शिक्षानीति बनाउन खोजिएको कहिल्यै देखिएन ।

एकोहोरो रूपले अङ्ग्रेजी भाषाको माध्यम भनी शिक्षा चलाउनाले उच्च माध्यमिक तह उत्तीर्ण गरेका हिजोआजका केटाकेटीे नेपाली भाषामा मात्र होइन अङ्ग्रेजी भाषामा र अरू विषयहरूमा पनि अत्यन्तै कमजोर हुन पुगेका छन् । उनीहरू नेपालीमा गन्न मात्र पनि नजान्ने, नेपाली पुस्तक तथा पत्रिका पढ्नै नसक्ने र देवनागरी लिपिमा आफ्नो नाम पनि लेख्न नसक्ने हुन पुगेका छन् । यो देशकै निमित्त शोचनीय अवस्था हो ।

समय, श्रम र धनको नाश गराएर जीवनोपयोगी कुरा नसिकाई केवल प्रमाणपत्र दिने शिक्षाले धेरै हानि गरेको छ । परम्परागत ज्ञान–विज्ञान पनि केही थियो र भनेर प्रश्न सोध्ने खालका शिक्षित व्यक्ति तयार भएका छन् । शिक्षित व्यक्तिलाई आफ्ना कुरा केही पनि थाहै नपाउने र केवल विदेशी आयातिक कुरामा मात्र ध्यान दिने बनाइएको छ ।

शिक्षामा संस्कृतको समावेश
सबैले अथवा सबै हिन्दू बालबालिकाले आधुनिक शिक्षाका साथमा संस्कृतका अत्यन्त उच्च कोटिका रामायण, महाभारत, गीता, हितोपदेश, पञ्चतन्त्र इत्यादि ग्रन्थहरूका प्रमुख अंशहरूको पनि जीवनोपयोगी शिक्षाका रूपमा नै अध्ययन गर्न पाउनुपर्छ ।

अहिले साधारण विद्यालयहरूमा कुनै पनि प्रकारको संस्कृतको अथवा संस्कृतमूलक ज्ञानविज्ञानको पठन–पाठन नहुने हुनाले सत्यं वद, धर्मं चर, स्वाध्यायान् मा प्रमदः, मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव, अतिथिदेवो भव, जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी, सन्तोषं परमं सुखम् इत्यादि सयौँ अमृतमय उपदेश सुन्नबाट शिक्षित नेपाली पनि वञ्चित हुने स्थिति पारिएको छ । संस्कृत भाषाको ज्ञानबाट वञ्चित हुनु भनेको दुर्लभ आनन्दको अनुभूतिबाट र विशिष्ट प्रकारको ज्ञानविज्ञानको भण्डारबाट तथा आत्मगौरवानुभूतिको सुदृढ आधारबाट वञ्चित हुनु हो भन्ने कुरा विचारशील व्यक्तिले बुझ्नुपर्छ । संस्कृतको ज्ञान नहुँदा आफ्नो स्वत्व र अस्तित्व नै गुमाउँदै गएका नितान्त भौतिकतावादी व्यक्तिको उत्पादन हुँदै गएको प्रत्यक्ष देखिएको छ र त्यसमा राष्ट्रिय धनको ठूलो अपव्यय गरिएको छ । त्यसैले यस प्रकारको शिक्षानीतिमा परिवर्तन गर्न आवश्यक देखिन्छ ।

नेपालको अहिलेको शिक्षानीति र शिक्षाको स्वरूप उपयुक्त नदेखिएकाले प्राथमिक कक्षादेखि उच्च शिक्षासम्मकै सम्पूर्ण शिक्षापद्धतिलाई बदलेर स्वराष्ट्रमुखी र स्वदेशको आवश्यकताअनुरूपको बनाउनुपर्छ । अहिलेको जस्तो शिक्षित समुदायलाई विदेशमुखी र परमुखापेक्षी बनाउने खालको शिक्षा चलाउन हुँदैन ।

नेपाली राष्ट्रियताको आधारभूत तत्त्व हुनुका साथै राष्ट्रभाषा नेपालीको सहयोगीका रूपमा समेत रहेको संस्कृत भाषाको अनिवार्यतालाई विरोध गर्ने एकथरि समूहले प्राथमिक शिक्षामै विदेशी भाषा अनिवार्य गरिएको अत्यन्त अनुचित कार्यको चाहिँ कत्ति पनि विरोध नगरी त्यसलाई स्वीकार गर्नु विदेशीहरूको सांस्कृतिक दबदबा र नेपालीहरूको सांस्कृतिक ह्रासको द्योतक हो भन्ने देखिन्छ ।

संस्कृतका विशेषता
संस्कृत विषय समावेश नगरिनाले, प्राथमिक कक्षादेखि नै विदेशी भाषा अनिवार्य गरिनाले र उपयोगी विषय सिकाउने पाठ्यवस्तु नराखिनाले पनि वर्तमान साधारणशिक्षाको पाठ्यक्रम अत्यन्तै अनुपयुक्त बनेको र नैतिक, सामाजिक तथा धार्मिक रूपले विचार गर्दा खोक्रोे हुन पुगेको देखिन्छ ।

संस्कृत भाषाको र संस्कृत भाषामा रहेका विविध विषयवस्तुको ज्ञान साधारण शिक्षामा पनि समावेश गरी शिक्षार्थीलाई संस्कृत वाङ्मयपट्टि पनि अभिमुख बनाउने गरी त्यो सर्वसुलभ बनाउन पर्नेमा त्यसो नगरिँदा राष्ट्रलाई ठूलो हानि पुग्न गइरहेको छ । यस्तो संस्कृतमूलक ज्ञान किन सर्वसुलभ गराउन पर्छ भन्ने कुरामा तल उल्लिखित कारणहरू दिन सकिन्छन्—

आफ्नो वास्तविक सभ्यता, इतिहास एवम् संस्कृतिको प्रामाणिक ज्ञान गरी त्यसको रक्षा र अभिवृद्धि गर्न, भाषा, रहनसहन, खानपान इत्यादि सबै पक्षमा स्वावलम्बिताको भावना विकसित गर्न, आफ्नो सभ्यताको सर्वपक्षीय महत्त्व बुझाई हानिकारक पाश्चात्त्य सभ्यताको अन्धानुकरण गर्न जाने प्रवृत्तिबाट बचाउन, आफ्ना परम्परा र रीतिस्थितिको जरैदेखिको प्रामाणिक ज्ञान गर्न र त्यसबाट अधिकतम लाभ लिन सक्षम बनाउन, प्राविधिक तथा अप्राविधिक सबै विषयमा अनुसन्धान गर्दा सम्बद्ध विषयको प्राचीन र आधुनिक स्वरूपको तुलना गर्न सक्ने दक्ष अनुसन्धाता बन्ने मार्ग प्रशस्त गर्न, शास्त्रका कुरा बुझ्न अरूले गरेका अनुवादमा मात्र भर पर्न नपर्ने स्थिति ल्याउने ढोका खोल्न, आफ्ना इतिहास, संस्कृति, वेषभूषा इत्यादिको मौलिक रूप बुझी तिनमा गौरव गर्ने समाज बनाउन प्रेरित गर्न, आत्मगौरवका भावनाले परिपूर्ण व्यक्तित्वको निर्माण गरी न्यायपूर्ण जीविका गरेर बाँच्ने उत्साह जगाउन, संस्कृत भाषामा उपलब्ध परम्परागत समाजव्यवस्था, अर्थव्यवस्था, इत्यादि आफ्ना वातावरण अनुकूल व्यवस्थाहरू बुझाई त्यसतर्फ आकृष्ट गराउन, संस्कृतभाषामा रहेको शास्त्रीय प्राविधिक ज्ञानको उपयोग गरी कम खर्चमा सिँचाइ, कृषि, पशुपालन, स्वास्थ्यरक्षा इत्यादिबाट समाजलाई समृद्ध गराउनेतिर उन्मुख गराउन र सबै विषय तथा क्षेत्रमा नेपाली भाषाको अभिव्यक्तिशक्ति बढाउनका साथै अन्य भाषाको अतिक्रमणबाट जोगाई नेपाली भाषालाई समृद्ध बनाउन पनि संस्कृतको ज्ञान साधारणशिक्षामा समावेश गर्नैपर्ने देखिन्छ।

विदेशमा संस्कृतको अध्यापन
संस्कृतका विभिन्न विशेषताले आकर्षित भएर नै युरोपका विद्यालयहरूमा पनि विद्यार्थीलाई सानैदेखि संस्कृत पढाउनुपर्ने आवश्यकता महसुस गरिएको देखिन्छ । बेलायतको सेन्टजेम्स नामको एउटा विद्यालयमा धेरै अघिदेखि इसाई मतावलम्बी तथा अङ्ग्रेजी भाषाभाषी बालबालिकालाई समेत सानैदेखि अनिवार्य रूपले संस्कृत पढाइने गरेको रहेछ । संस्कृतका श्लोक कण्ठस्थ पारेर तिनलाई भाका हालेर वाचन गर्दा र अर्थको मनन गर्दा हुने विभिन्न लाभका विषयमा ती बालबालिका आफैँ बताउन सक्नेसमेत भएका रहेछन् । संस्कृतको शुद्ध उच्चारण गर्ने अभ्यास गरेकालाई जुनसुकै भाषाको पनि शुद्ध उच्चारण गर्न सजिलो हुन्छ । उसको बोली स्पष्ट हुन्छ । संस्कृत सिक्दा यस्तै अन्य लाभ पनि प्राप्त हुन्छन् ।

निष्कर्ष
नेपालको अहिलेको शिक्षानीति र शिक्षाको स्वरूप उपयुक्त नदेखिएकाले प्राथमिक कक्षादेखि उच्च शिक्षासम्मकै सम्पूर्ण शिक्षापद्धतिलाई बदलेर स्वराष्ट्रमुखी र स्वदेशको आवश्यकताअनुरूपको बनाउनुपर्छ । अहिलेको जस्तो शिक्षित समुदायलाई विदेशमुखी र परमुखापेक्षी बनाउने खालको शिक्षा चलाउन हुँदैन ।

प्राथमिक तहमा र आधारभूत शिक्षाका तहमा अङ्ग्रेजी अनिवार्य गर्ने काम उचित देखिँदैन । सानै उमेरमा विदेशी भाषा पढाउँदा विदेशी संस्कृति र रहनसहनको कुप्रभाव बालबालिकामा पर्ने देखिन्छ । अतः मातृभाषामा वा नेपाली भाषामा शिक्षा दिने नीति अवलम्बन गर्नुपर्छ ।

नेपालको शिक्षामा कम्तिमा माध्यमिक तहसम्म अङ्ग्रेजी माध्यमले पढ्ने–पढाउने पनि गर्नुहुँदैन, माध्यम नेपाली भाषा नै हुनुपर्छ । अङ्क र अक्षर देवनागरी नै हुनुपर्छ । अङ्ग्रेजी ऐच्छिक रूपमा वा अतिरिक्त ऐच्छिक रूपमा पढ्न पाइने हुनुपर्छ, अनिवार्य गर्न हुँदैन । इच्छुक व्यक्तिहरूलाई अङ्ग्रेजीलगायतका आवश्यक विदेशी भाषा प्रभावकारी किसिमले छोटो समयमा सिक्ने–सिकाउने विशेष व्यवस्था गराउन उचित हुन्छ । अहिलेको जस्तो अयोग्य शिक्षकले अङ्ग्रेजीको अशुद्ध उच्चारण व्यापक रूपमा सिकाउने स्थिति आउन दिन हुँदैन । अत्यधिक रूपमा राष्ट्रको स्रोत र साधन खेरा जाने गरी १५ वर्षसम्म पढ्दा पनि राम्रो दक्षता नहुने अङ्ग्रेजी पढाउने कार्यक्रम राख्न हुँदैन । जीवनोपयोगी र व्यावहारिक आवश्यक विविध विषयहरूको सरल रूपले ज्ञान दिने पाठ्यक्रम बनाउनुपर्छ । सामाजिक शिक्षा आफ्नो शको इतिहास, संस्कृति र परम्परामा गौरवबोध गराउने खालको हुनुपर्छ । गणित विषयलाई अनावश्यक पाठ्यभार राखेर बोझिलो नबनाई व्यावहारिक र पूरै बुझेर पढ्न उत्प्रेरित हुने खालको बनाउनुपर्छ । पढेका विषयहरूको एक तिहाइ पनि नजानीकन कक्षा उत्तीर्ण हुने परीक्षाप्रणालीमा पनि सुधार गर्नुपर्ने देखिन्छ ।

भदौ २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्