रुपन्देहीबाट २४ जना जनप्रतिनिधिले रोजे लोसपा र एकीकृत समाजवादी

बुटवल– रुपन्देहीबाट २४ जना जनप्रतिनिधिले नयाँ दर्ता भएका दल नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन्।

यी दुई पार्टीमा सोमबारसम्म २४ जनाले सनाखत गरेका हुन्। निर्वाचन कार्यालय रुपन्देहीका अनुसार १९ जनाले लोकतान्त्रिक समाजवादीमा र ५ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन्।

राजनीतिक दलसम्बन्धी अध्यादेशमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले नयाँ पार्टी दर्ता भएको दिनदेखि २१ दिनभित्र सनाखत गर्नुपर्ने व्यवस्थाअनुसार नयाँ पार्टीमा सनाखत गर्न जनप्रतिनिधिलाई आज मंगलबारसम्मको समय दिइएको थियो।

एकीकृत समाजवादीमा सनाखत गर्नेहरुमा एक जना उपप्रमुख र अन्य वडासदस्यहरु रहेका छन्। सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेसहित बुटवल उपमहानगरपालिका वडा नं २, ३ र ८ तथा तिलोत्तमा नगरपालिका वडा नं ११ का वडा सदस्य रहेका छन्।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गर्नेहरुमा मर्चवारी गाँउपालिका अध्यक्ष केशबनन्द बनियाँ र उपाध्यक्ष सुनिता कलवार छन्। बाँकी १७ जनाहरुमा वडाअध्यक्ष तथा वडा सदस्यहरु रहेको रुपन्देहीका प्रमुख निर्वाचन अधिकृत अयोध्या भण्डारीले बताए।

नेपाली नागरिकको आधिकारिक परिचय–पत्र र निर्वाचन आयोगले प्रदान गरेको निर्वाचित जनप्रतिनिधिको प्रमाण–पत्र वा सम्बन्धित स्थानीय तहको प्रमाणित परिचय–पत्र सनाखतका अनिवार्य गरिएको प्रमुख भण्डारीले प्रमुख भण्डारीले बताए।

भदौ २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्