प्रदेश २ मा स्थानीय तहका ८६६ जनप्रतिनिधिले लोसपा रोजे

जनकपुरधाम– प्रदेश २ मा ८ सय ६६ जना जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका छन्। जसपा विभाजन पश्चात बनेको लोसपामा आज (भदौ २२ गते) सम्ममा १७ जना प्रमुख र २६ जना उपप्रमुखले महन्थ ठाकुर नेतृत्वको लोसपामा सनाखत गरको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

प्रदेशसभामा जसपाबाट विभाजन भएर ठाकुर नेतृत्वमा बनेको लोसपाको पक्षमा कम सांसद देखिए पनि स्थानीय तहमा उपेन्द्र यादवलाई क्षति भएको छ।

लोसपामा ८ सय ६६ जना स्थानीय तहका जनप्रतिनिधिहरुले सनाखत गरेकोमा महोत्तरीमा सबैभन्दा बढी २ सय ५८ स्थानीय जनप्रतिनिधिले सनाखत गरेका छन्। जसमा ६ पालिकाका प्रमुख, १० पालिका उपप्रमुख र ४४ जना वडाध्यक्ष रहेका छन्।

त्यस्तै धनुषामा १ सय ९ जना स्थानीय जनप्रतिनिधिले लोसपा रोजेका छन्। जसमा १ पालिका प्रमुख र २ पालिकाका उपप्रमुख रहेका छन्।

सप्तरीमा १ प्रमुख र ३ उपप्रमुखसहित ९६ जना, सिरहामा १२ जना, रौतहटमा १ प्रमुखसहित ८८ जना, बारामा ३ प्रमुख र ५ उपप्रमुख/उपाध्यक्षसहित १ सय ३८ र पर्सामा २ उपप्रमुख/उपाध्यक्षसहित २८ जना स्थानीय जनप्रतिनिधिले लोसपा रोजेका छन्।

यता नेकपा एमालेबाट अलग्गिएर बनेको नेकपा (एस) प्रदेश २ मा मजबुत स्थितिमा देखिएको छ। नेकपा एमाले त्यागेर सबैभन्दा बढी रौतहटमा ८४ जना स्थानीय जनप्रतिनिधिले नेकपा (एस) रोजेका छन्। त्यस्तै धनुषा र सर्लाहीमा ४८/४८, बारामा ३२, महोत्तरीमा ६ र पर्सामा ५ जना स्थानीय जनप्रतिनिधिले नेकपा (एस) रोजेका हुन्।

भदौ २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्