सन्दर्भ: एक सय सातौं बिपी जयन्ती

बिपीका भुल्नै नहुने ती सिद्धान्त र आदर्श

जननायक विश्वेश्वरप्रसाद कोइरालाको जन्म वि.सं.१९७१ साल भाद्र २४ गते भारतको बनारसमा भएको हो। तत्कालीन ग्रहनक्षत्रहरूको गतिअनुसार विश्वेश्वरप्रसाद कोइरालाको जन्म २७ नक्षत्रहरूमध्येको पहिलो नक्षत्र अश्विनी (चू, चे, चो, ला)को पहिलो पाउमा भएको थियो । यसअनुसार उनको नाम ‘चू’ अक्षरबाट शुरू हुने ‘चूडामणि’ राखिएको थियो । बनारसमा भगवान् शिवको प्रसिद्ध विश्वनाथको मन्दिर रहेको छ । यसरी बनारसमा जन्मिएका बालक विश्वनाथ तथा विश्वेश्वरका प्रसाद हुन् भन्ने ठानेर उनको नाम विश्वेश्वरप्रसाद राखिएको हो भन्ने भनाइ रहेको छ र यही नामले नै विश्वेश्वरप्रसाद कोइराला विश्वमै प्रसिद्ध भए ।

राणाकाल नेपाली जनताका लागि अत्यन्त दुःखदायक काल थियो । त्यो समयमा नेपाली जनताले एक छाक खान, एक सरो कपडा लगाउन, रोग लाग्दा औषधोपचार गर्न पाउने अवस्था थिएन । जनताको श्रम शोषण गरेर राणाहरूले काठमाडौँमा सुखसुविधाले युक्त आलिशान महल बनाएर बसेका थिए, ती महलहरू अहिले पनि काठमाडौंका विभिन्न स्थानमा देख्न सकिन्छ । राणाहरू भोगविलास र खानपानमा रमाएका थिए । सर्वसाधारण जनता र राणाहरूको जीवनपद्धतिमा आकाश–पातालको अन्तर थियो । राणाहरूले जनतालाई चेतना र शिक्षाबाट वञ्चित गरेका थिए । चेतना र शिक्षाबाट वञ्चित जनतामा विद्रोह गर्ने कुनै शक्ति हुँदैन । यसरी जनताको शक्तिलाई कमजोर बनाएर नेपाली जनतालाई त्रासदीपूर्ण जीवन बिताउन बाध्य पारिएको थियो । राणाहरूले राष्ट्रिय ढिकुटीको ब्रह्मलुट गरेका थिए । ऊर्वराभूमि, वनजङ्गल र महत्त्वपूर्ण नदीनालाहरू राणाहरूको नाममा विर्ता थिए । राणाको स्वामित्वमा रहेको रैकर जग्गा कमाएर जीवन गुजारा गरेका गरीव जनताले आफूले कमाएको आधा बाली सरकारलाई बुझाउनुपर्दथ्यो भने आधा बालीबाट घर व्यवहार चलाउने बाध्यता थियो। यसअर्थ नेपाली जनतालाई कष्टकर जीवन बिताउन बाध्य पारिएको थियो ।

यसरी नेपाली जनता एकातर्फ राणा शासकहरूबाट अत्यन्त प्रताडित थिए भने अर्कोतर्फ बालविवाह, बहुविवाह, दासप्रथा, विधवा एवं सतिप्रथाको समस्याले समाज आक्रान्त थियो । समाजमा जनताको कुनै अस्तित्व थिएन । जागिरमा सर्वसाधारण व्यक्ति सुब्बाभन्दा माथिल्लो पदमा पुग्न सक्दैनथे । अन्धविश्वास, कुरीति र कुसंस्कारले समाजमा जरा गाडेको थियो । यस्तो नेपाली समाजमा प्रजातन्त्रको स्थापना गर्नु चानचुने कुरा थिएन । जसले गर्दा नेपालमा प्रजातन्त्रको स्थापनाका लागि भएका सङ्घर्षहरूको लामो इतिहास छ । प्रजातन्त्र मानिसका लागि अनिवार्य आवश्यकता हो, यही प्रजातान्त्रिक आवश्यकताको पूर्तिका लागि पिताजी कृष्णप्रसाद कोइरालाले नेपाली जनताले लगाएका दुईजोर कपडा पार्शल गरेर दरबारमा पठाएका थिए जसका कारण सपरिवार प्रवासी जीवन बिताउन बाध्य भएका थिए । व्यक्तिगत हिसावले भएका यस्ता सङ्घर्षको कुनै लेखाजोखा छैन । अन्य धेरै व्यक्तिहरूले आफ्नो प्रजातान्त्रिक अधिकारको खोजी गर्दा ज्यान गुमाएका धेरै घटनाहरू नेपालमा भएको पढ्न र सुन्न पाइन्छ । खास गरेर वि.सं.१९९० पछि नै नेपालमा संस्थागत रूपमा नेपाली जनताको प्रजातान्त्रिक अघिकारका लागि सङ्घर्ष भएको इतिहास छ ।

शेरबहादुर देउवा तिनै प्रधानमन्त्री हुन् जो आज उनका सहयात्री भएका छन् कुनै समयमा उनैको टाउकोको मूल्य पनि तोकेका थिए भने विगतको स्थानीय तथा राष्ट्रिय निर्वाचनमा नेपाली काङ्ग्रेस समर्थित नेपाली जनता, कार्यकर्ता एवं बुद्धिजीवीहरूलाई उनीहरूकै चुनावचिन्ह सूर्य, हसिया–हतौडा, गाई आदिमा मत हाल्नका लागि आदेश दिएका थिए । सत्तामा रहँदा होस् या प्रतिपक्षमा आफ्नो नीति, सिद्धान्त र आदर्शलाई कुनै पनि पार्टीले कहिल्यै पनि बिर्सनु हुँदैन र विगतमा गरेका गल्तीहरूलाई पुनः दोहोर्‍याउनु हुँदैन।

दरबारिया मोजमस्तीमा रहेका तत्कालीन राणा शासकलाई नेपाली जनताको स्थितिको बोध गराउने उद्देश्यले दुईजोर फाटेका कपडा पार्शल गरेर दरबारमा पठाएका कारण निर्वासित जीवन बिताइरहेका आफ्ना पिता कृष्णप्रसाद कोइरालामा रहेको अदम्य साहस र उहाँमा अङ्कुराइरहेको राजनीतिक चेतनाको प्रभाव कोइरालाका सबैजसो छोराछोरीहरूमा परेको देखिन्छ जसमध्ये विश्वेश्वरप्रसाद कोइरालामा अझ बढी फष्टाएको पाइन्छ । भारतको बनारसमा जन्मिएका बीपी कोइरालाको शिक्षादीक्षा पनि भारतमै भएको हो । राजनीतिक चेतनाले परिपूर्ण पारिवारिक पृष्टभूमि भएका बीपीले भारतीय भूमिमा रहेर भारतको स्वतन्त्रता आन्दोलनलाई नजिकैबाट मात्र हेरेनन्, आन्दोलनमा सहभागी बनेर जेलनेलको यातना पनि व्यहोरे । उनले नेपालमा प्रजातन्त्र ल्याउनका लागि दक्षिण एसियाबाट बेलायती साम्राज्यवाद र उपनिवेशवादको अन्त्य आवश्यक हुन्छ भन्ने कुरा राम्ररी बुझेका थिए। नेपालको भूराजनीतिक परिस्थितिको विश्लेषण गरी नेपालको परिस्थिति अनुरूपको नयाँ मोडलको राजनीतिक प्रणालीको परिकल्पना पनि बीपी कोइरालाले नै गरेका हुन् ।

लामो समयदेखि जहानियाँ राणाशासन सञ्चालन गरिरहेका राणाविरुद्ध जनताको प्रजातान्त्रिक अधिकारका लागि आवाज उठाउने ती महान् व्यक्तित्त्वहरू (गङ्गालाल, दशरथ चन्द, शुक्रराज र धर्मभक्त) को बलिदानपछि देशभित्र र बाहिरबाट पनि राणाविरोधी आन्दोलन अझ सशक्त बन्यो । ‘सङ्घे शक्ति कलौ युगे’ भन्ने प्राचीन मान्यता अनुसार एक्लो प्रयासबाट कुनै पनि ठोस उपलब्धि हासिल गर्न सकिँदैन तर हामी सङ्गठित भयौं भनें कुनै पनि समस्या समाधान गर्न सक्दछौं भन्ने कुरालाई बुझेर राजनीतिक पार्टी स्थापना गरी त्यसको माध्यमबाट देशमा प्रजातन्त्र स्थापना गर्ने दृढ निश्चयका साथ वि.सं. २००३ सालमा बीेपी कोइरालाको नेतृत्वमा ‘नेपाली राष्ट्रिय काङ्ग्रेस’ स्थापना भयो । वि.सं.२००५ सालमा सुवर्णशमशेर राणाको नेतृत्वमा ‘नेपाल प्रजातन्त्र काङ्ग्रेस’ स्थापना भएको थियो र त्यसको उद्देश्य पनि नेपालमा प्रजातन्त्र स्थापना गर्नु नै थियो । समान उद्देश्यले स्थापित यी दुई पार्टीलाई पनि एकीकरण गरी अगाडि बढेको अवस्थामा लक्ष्य हासिल गर्न अझ सहज हुन्छ भन्ने महान् उद्देश्यले यी दुई पार्टीलाई वि.सं.२००६ सालमा एकीकरण गरीे सङ्युक्त नाम ‘नेपाली काङ्ग्रेस’ रहेको हो । यसको परिणाम स्वरूप त्यसको एकवर्ष पुग्दानपुग्दै २००७ सालमा नेपालको प्रजातान्त्रिक आन्दोलन निष्कर्षमा पुग्न सफल भएको हो । २००७ सालदेखि २०१७ सालसम्म नेपालमा विभिन्न प्रजातान्त्रिक अभ्यासहरू भए । यसैबीच वि.सं.२०१५ सालको आमनिर्वाचनमा नेपाली जनताले नेपाली काङ्ग्रेसलाई दुइतिहाइ बहुमतका साथ देशको शासनसत्ताको नेतृत्त्व गर्ने जिम्मा दिए । यसैबीच राजा महेन्द्रमा शासनसत्ता आफ्नो हातमा लिएर नेपाली जनतालाई शासन गर्ने महत्त्वाकाङ्क्षा जाग्यो जसको फलस्वरूप वि.सं.२०१७ पुस एक गते प्रजातन्त्रको अन्त्य गरी राजा महेन्द्रले आफ्नो हुकुमी शासन लागू गरे । जननिर्वाचित प्रधानमन्त्रीलगायतका नेताहरूलाई जेलमा हालेर देशको शासनसत्तालाई आफूले लिएर राजा महेन्द्र सत्तासीन भइरहे । वि.सं.२०२५ सालमा जेलबाट छुटेपछि बीपी कोइराला लामो समयसम्म प्रवासी जीवन बिताउन बाध्य भए । आठवर्ष लामो प्रवासी जीवन बिताइसकेपछि दक्षिण एसिया र अन्य विश्वमा भइरहेको राजनीतिक उथलपुथललाई दृष्टिगत गरी राष्ट्रिय मेलमिलापको कार्यक्रमका साथ बीपी कोइराला नेपाल प्रवेश गर्नुभएको हो ।

जननायक विश्वेश्वरप्रसाद कोइरालाले विभिन्न राजनीतिक उतार–चढावहरू भोग्नुभएको थियो । भारतमा रहेको ब्रिटिस साम्राज्यवादका विरुद्ध पनि उहाँ लड्नुभयो र अनेक जेल–यातना सहनुभएको थियो । लामो अनुभव बटुलेका भारतीय नेताहरूसँग बीपी कोइरालाको सुमधुर सम्बन्ध थियो किनभने अङ्ग्रेजहरूका विरुद्ध सङ्घर्ष गर्नेमध्ये उहाँ पनि एक हुनुहुन्थ्यो । तथापि विश्वेश्वरप्रसाद कोइरालाले ८ वर्ष लामो भारत निर्वासनलाई त्यागेर त्यस्तो अवस्थामा नेपाल फर्कने निर्णय गर्नुभयो जुन समयमा उहाँ माथि विभिन्न ८ ओटा मुद्धा नेपालका अदालतहरूमा दायर भएका थिए । ती आठवटा मुद्धामध्ये कुनै एकमा मात्र पराजय भएको अवस्थामा तत्कालीन नेपालको कानून अनुसार मृत्युदण्ड पनि हुन सक्दथ्यो ।

त्यति हुँदाहुँदै पनि बीपी कोइरालाले प्रजातन्त्रको लडाइँ विदेशमा बसेर लड्दा त्यसको प्रतिफल विदेशीहरूले नै प्राप्त गर्दछन् अर्थात् प्रजातन्त्रको प्रतिफल हामीलाईभन्दा विदेशी शक्तिलाई हुने भएको हुनाले नेपालको राष्ट्रियतालाई जोगाउन नेपालभित्रबाटै प्रजातन्त्रको लडाइ लड्नुपर्दछ भन्ने दृढ विश्वासका साथ राष्ट्रियता, प्रजातन्त्र र समाजवादको कार्यन्वयनका लागि राष्ट्रिय एकता र मेलमिलापको नाराका साथ २०३३ साल पुस १६ गते नेपाल फर्कने निर्णय गर्नुभएको होे । सो समयमा उहाँले भन्नुभएको थियो — “यो राष्ट्रिय एकता र मेलमिलापको सिद्धान्त यति बलियो छ कुनै तागतले यसलाई हल्लाउन सक्दैन । यस प्रयोजनको लागि हामीहरूको दृष्टिकोणमा स्पष्टता हुनुपर्दछ ।” उहाँले स्थापना गर्नुभएको नेपाली काङ्ग्रेसले अवलम्बन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादका सम्बन्धमा स्वयं बीपीले भन्नुभएको छ– ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवादका बारेमा मेरा दृष्टिकोण र अडानका निरन्तरता छन् । नेपाली काङ्ग्रेसको इतिहास ती सबै आदर्शहरू र लक्ष्यहरूका साथ भएको संघर्षको इतिहास हो । मलाई लाग्दछ यस मुलुकको उज्ज्वल भविष्यका लागि नेपाली काङ्ग्रेसमा ती कुराहरूको निरन्तरता रहनुपर्छ । राष्ट्रियताको अडान र प्रजातान्त्रिक आदर्शहरूप्रतिको प्रतिबद्धताबाट मात्र समाजवादी अवधारणाको कार्यान्वयन गर्न सकिन्छ । यसका लागि देशभित्रका प्रजातन्त्रवादी र राष्ट्रवादीहरूको बीचको एकता आवश्यक हुन्छ ।’

बीपी कोइरालाले कुनै पनि राजनीतिक पार्टीको आफ्नै पहिचान हुनुपर्ने कुरामा जोड दिनुभएको छ जसको उदाहरणको रूपमा यसलाई लिन सकिन्छ । नेपालमा राजनीतिक रूपले खुकुलो वातावरण भएको बेलामा एक दिन वामपन्थी नेता मनमोहन अधिकारी जो बीपीका नातेदार पनि पर्नुहुन्थ्यो उहाँले विराटनगरमा बीपी कोइरालालाई भन्नुभएछ — ‘म विराटनगरमा एउटा आमसभा गर्छु, तपाईँ त्यसको प्रमुख अतिथि बनिदिनुपर्‍यो।’ मनमोहनको कुरा सुनेर बीपीले भन्नुभएछ — ‘तपाईंलाई मानिस कम हुन्छन् कि भन्ने डर लागेको छ भने मेरो आमसभामा जत्तिकै मानिस म जुटाइदिन्छु । म नै आउनु पर्ने भए म पनि आउँछु र अघिल्लो लाइनमा कार्यक्रमभरि बस्छु । म तपाईको कार्यक्रमको प्रमुख अतिथि भएँ भने मेरो र तपाईको पहिचान नै समाप्त हुन्छ ।’

यसरी कुनै पनि राजनीतिक पार्टीले आफ्नो राजनीतिक पहिचानलाई कायम राख्नुपर्ने कुरामा बीपीले जोड दिनुभएको देखिन्छ । यस्तै २०१४ सालमा नेपाली काङ्ग्रेसले संविधानसभाको लागि भद्रअवज्ञा आन्दोलन गर्ने निर्णय गर्‍यो भने त्यो समयमा नेपाली काङ्ग्रेसले राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजापरिषद् पार्टीसँग मिलेर आन्दोलन गर्ने निर्णय गरेको थियो । सोही समयमा त्यतिबेलाका वामपन्थी नेताहरू केशरजङ्ग रायमाझी र पुष्पलाल श्रेष्ठले बीपीलाई भनेछन्— ‘भद्रअवज्ञा आन्दोलनमा हामीलाई समावेस गराउनुहोस् ।’ जवाफमा बीपीले भन्नुभएछ– ‘संविधानसभा भन्ने शब्द बाहेक तपाईंहरूको र मेरो केही पनि कुरा मिल्दैन के को लागि सहकार्य गर्ने ?’ यसबाट नेपाली काङ्ग्रेसको वामपन्थीहरूसँग सहकार्य हुन सक्दैन भन्ने धारणा बीपीको थियो भन्ने कुरा उहाँको त्यो कथनबाट पनि स्पष्ट हुन्छ ।

बीपी कोइरालाको निधनपछि काङ्ग्रेस र वामपन्थीहरूको बीचमा सहकार्य हुन शुरू भयो । हुँदाहुँदै सत्ताको लागि सबै वामपन्थी दलहरूसँग पालैपालो सहकार्य भएको पनि देखियो । अहिले बनेको देउवा सरकारका चारवटा खम्बामध्ये दुईवटा खम्बा वामपन्थीका छन् । बीपी कोइरालाको जीवनकालमा राजा प्रजातन्त्रवादी नभएको कारणले राजासँग मेल नभएको हो भने साम्यवादीहरू प्रजातन्त्रवादी र राष्ट्रवादी दुबै नभएको हुनाले वामपन्थीहरूसँग पनि बीपी कोइरालाको मेल हुन नसकेको हो । बीपी कोइरालाले भन्नुभएको थियो– ‘वामपन्थीहरू र हाम्रो कुनै अवधारणा र नीति तथा कार्यक्रम मेल खाँदैन।’  त्यसैले बीपीले राष्ट्रियता र प्रजातन्त्र मेलमिलापको अनिवार्य शर्त भएको बताउनुभएको थियो । बीपी स्वयंले राजा महेन्द्रलाई प्रजातन्त्रवादी नभएको बताउनुभएको एक प्रसङ्ग आत्मवृत्तान्तमा आउँछ ।

आत्मवृत्तान्तको एक सय उनान्सय र दुईसय पेजमा राजा महेन्द्र एकपटक वेलायत गएको बेलामा एक जना तान्त्रिकलाई भेटेको प्रसङ्ग उल्लेख छ– ती तान्त्रिकले मरेका व्यक्तिको आत्मासँग भेट गराउँदा रहेछन् र राजा महेन्द्रले आफ्ना पिता त्रिभुवनलाई भेट्ने इच्छा गरेछन् जुन कुरा महेन्द्र स्वयंले बीपीलाई भनेका थिए । त्यहाँ भनिएको छ– ‘‘राजा त्रिभुवनको प्रेत छाया सामुन्ने उभियो । राजाले मलाई त्यसको वर्णन सुनाउँदै भनेका थिए–मैले त्यस छायालाई हत्पताएर हेरें । धेरै कुरा मैले सोधें, कुरा गरें । तपाईंको बारेमा पनि सोधें । मैले सोधें, ‘मेरो बारेमा के कुरा भएको थियो ?’ उनले भने–होइन सबै कुरा त भन्दिनँ । तर जहाँसम्म नेपालको राष्ट्रिय हितको सवाल छ, त्यसमा बीपीलाई विश्वास गरे हुन्छ । उनले भने, मेरो बुबाले त्यो भने । राष्ट्रिय हितको कुरामा बीपीलाई विश्वास गरे हुन्छ भनेर मेरो बुबाले भनेका थिए । अनि मैले त्यसमा मजाकमा भनेको थिएँ, ‘तर जहाँसम्म आफ्ना अधिकारहरूका कुरा छन्–राजाहरूको–त्यसको बारेमा विश्वास गर्नुहुँदैन है भनेका होलान्’ भनेर मैले भनें । उनले भने, ‘अरू कुरा म भन्दिनँ, यति म भन्छु । मैले सबैको बारेमा सोधें । त्यस स्तरमा हाम्रो कुरा हुन्थ्यो । मलाई पहिले पनि भनेका थिए र मेरो उनीसँग मतभेद नै त्यही कुरामा थियो म भन्थें– ‘सरकार प्रजातन्त्रवादी होइन’ तर मेरो बारेमा उनी भन्दथे– तपाईंको राष्ट्रिय भावनाको बारेमा कसैलाई शंका छैन।’

जननायक विश्वेश्वरप्रसाद कोइरालाले स्थापना गर्नुभएको र बीपी कोइरालाले नै प्रतिपादन गर्नुभएको सिद्धान्त र आदर्शबाट परिचालित नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन निर्धारित समयभन्दा डेढवर्षपछि शुरू भएको छ। यही पार्टीका सभापति तथा संस्थापक नेता जसले कम्युनिष्ट पार्टीहरूले आयोजना गरेको सभाको मञ्चमा बसेर केही बोल्न भन्दा त्यसलाई ठाडै अस्वीकार गरेका थिए, त्यस्ता विश्वेश्वरप्रसाद कोइरालाको पार्टीका सभापति शेरबहादुर देउवाले तिनै कम्युनिष्ट पार्टीका दुई घटक र मधेशवादीलाई साथमा लिएर सरकारको नेतृत्त्व गरिरहेका छन् ।

बीपीले आफ्नो आत्मवृत्तान्तको शुरू–शुरूकै पानामा एउटा शिक्षकसम्बन्धी प्रसङ्गको उल्लेख गर्नुभएको छ, जुन शिक्षकले केही समय विराटनगरमा पिताजीले खोल्नुभएको विद्यालयमा अध्यापन गराएका थिए, जसलाई पिताजीले कलकत्ताबाट लिएर आउनुभएको थियो । त्यो शिक्षकका दुईवटा छोरामध्ये एउटा छोरालाई ब्रिटिस सरकारद्वारा मृत्युदण्ड दिइएको र अर्कोलाई कालापानी पठाइएको कुरा पत्रपत्रिकाको माध्यमबाट थाहा पाएपछि पिताजी उक्त शिक्षकलाई भेट्नका निम्ति आफूलाई पनि सँगै लिएर जानुभएको थियो । उक्त शिक्षकलाई भेटेर यस्तो दुःखको कुरा सुनेको भनेर पिताजीले दुःख व्यक्त गर्नुभयो । तर ती शिक्षकले पिताजीसँग भनेछन्–मलाई त केही दुःख लागेको छैन, एउटा छोरो त काम लाग्यो देशको निम्ति…., तिनीहरूले देशका लागि त्योभन्दा ठूलो के काम गर्न सक्दथे ? उक्त शिक्षकको यो भनाइले आफूलाई जीवनपर्यन्त प्रभाव पारेको उल्लेख बीपीले आफ्नो जीवनको अन्तिम–अन्तिम क्षणमा गर्नुभएको छ । बीपीले जुन शिक्षकको उल्लेख गर्नुभएको छ ती शिक्षक देशप्रेम सम्बन्धी यस्तो शिक्षाबाट शिक्षित थिए जुन शिक्षाको माध्यमबाट मानिस देश र जनताका लागि आफूबाट पनि केही न केही योगदान होस् भन्ने भावनाले उद्वेलित हुन्छ–

तं यज्ञयज्ञैस्तपसा च विप्राः स्वर्गैषिणो वाऽत्र यथैव यान्ति ।
क्षणेन यान्त्येव हि तत्र वीराः प्राणान् सुयुद्धेन परित्यजन्तः ।। पराशरस्मृति, ३.३८ ।

अर्थात् लामो समय लगाएर सम्पन्न हुने यज्ञयज्ञादि र कठोर तपस्याबाट प्राप्त हुने स्वर्गको फल देश र जनताको हितका लागि जीवनोत्सर्ग गर्ने ती वीरहरूले क्षणभरमै प्राप्त गर्दछन् । यस्तै–

ललाटदेशे रुधिरं स्रवच्च यस्याहवे तु प्रविशेच्च वक्त्रम् ।
तत् सोमपानेन किलास्य तुल्यं सङ्ग्रामयज्ञे विधिवच्च दृष्टम् ।। पराशरस्मृति, ३.३९ ।

अर्थात् देश र जनताका लागि रगत बगाउने ती शहीदहरू जसको शिरबाट बगेको रगत मुखसम्म आइपुग्दछ त्यो रगत यज्ञहरूमध्ये श्रेष्ठ तथा ठूलो मानिएको सोमयागको अन्त्यमा पिइने सोमपान जस्तै हो जुन देश र जनताको पक्षमा गरिएको सङ्ग्रामरूपी यज्ञमा प्रत्यक्ष देख्न सकिन्छ ।

राष्ट्रिय भावनाबाट ओतप्रोत त्यो शिक्षाबाट आज सम्पूर्ण नेपालीलाई बञ्चित गरिएको छ । राणाकालमा नेपाली जनता सबै किसिमको शिक्षाबाट बञ्चित थिए भने अहिले संस्कार, संस्कृति, परम्पराका साथ यस्तो राष्ट्रिय भावनाबाट ओतप्रोत हुने शिक्षाबाट बञ्चित गरिएको छ । पञ्चायती शासकले विदेशीहरूको चङ्गुलमा परेर नयाँ शिक्षाको नाममा भारतीय शिक्षा पद्धतिको नक्कल गरेका थिए, जुन शिक्षा भारतीय विद्यालयहरूमा अङ्ग्रेजहरूले लादेर गएका थिए । भारतका विभिन्न विश्वविद्यालयहरूमा अहिले त्यही शिक्षाका विषयमा वहस भइरहेको छ र त्यहाँ नयाँ किसिमको शिक्षापद्धति जुन भारतीय संस्कार र संस्कृति अनुकूल छ त्यसलाई लागू गर्ने प्रयत्न भइरहको छ । नेपाललाई विदेशीहरूले शासन गर्न सकेनन् तर अहिलेसम्म लागू भएका शिक्षापद्धति नेपाली संस्कार, संस्कृति र परम्परा विरुद्ध छन् ।

जननायक विश्वेश्वरप्रसाद कोइरालाले स्थापना गर्नुभएको र बीपी कोइरालाले नै प्रतिपादन गर्नुभएको सिद्धान्त र आदर्शबाट परिचालित नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन निर्धारित समयभन्दा डेढवर्षपछि शुरू भएको छ। यही पार्टीका सभापति तथा संस्थापक नेता जसले कम्युनिष्ट पार्टीहरूले आयोजना गरेको सभाको मञ्चमा बसेर केही बोल्न भन्दा त्यसलाई ठाडै अस्वीकार गरेका थिए, त्यस्ता विश्वेश्वरप्रसाद कोइरालाको पार्टीका सभापति शेरबहादुर देउवाले तिनै कम्युनिष्ट पार्टीका दुई घटक र मधेशवादीलाई साथमा लिएर सरकारको नेतृत्त्व गरिरहेका छन् । शेरबहादुर देउवा तिनै प्रधानमन्त्री हुन् जो आज उनका सहयात्री भएका छन् कुनै समयमा उनैको टाउकोको मूल्य पनि तोकेका थिए भने विगतको स्थानीय तथा राष्ट्रिय निर्वाचनमा नेपाली काङ्ग्रेस समर्थित नेपाली जनता, कार्यकर्ता एवं बुद्धिजीवीहरूलाई उनीहरूकै चुनावचिन्ह सूर्य, हसिया–हतौडा, गाई आदिमा मत हाल्नका लागि आदेश दिएका थिए । सत्तामा रहँदा होस् या प्रतिपक्षमा आफ्नो नीति, सिद्धान्त र आदर्शलाई कुनै पनि पार्टीले कहिल्यै पनि बिर्सनु हुँदैन र विगतमा गरेका गल्तीहरूलाई पुनः दोहोर्‍याउनु हुँदैन।

सत्तामा जाने बित्तिकै विगतमा भएका गल्ती पुनः दोहोरिने सङ्केत देखिएको छ, फेरि पनि शुभेच्छुक, कार्यकर्ता एवं बुद्धिजीविहरूले अन्य कुनै पार्टीको चुनावचिन्हमा मत खसाल्नु नपरोस् । यस्ता गल्ती नदोहोर्‍याउने प्रतिबद्ध नेतृत्व चयन गर्ने हिम्मत नेपाली काङ्ग्रेसका जिम्मेवार कार्यकर्ताले गर्नुपर्दछ । त्यो समय पनि आइसकेको छ । जननायक विश्वेश्वरप्रसाद कोइरालाले यो धर्तीलाई छोडेर गएको पनि ३९ वर्ष पूरा भएको छ भने प्रजातन्त्र पुनःस्थापना भएको पनि ३२ वर्ष भइसकेको छ । नेपाली काङ्ग्रेसले विगत करिव ३२ वर्षको अन्तरालमा विभिन्न समयमा गरेका गल्तीहरूको समीक्षा गर्न ढिला भइसकेको छ । अहिले नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशन शुरू भइसकेको सन्दर्भमा यो महाधिवेशनले नेपाली काङ्ग्रेसलाई एउटा मार्ग निर्देश गर्नुपर्दछ । अहिले चलिरहेको महाधिवेशनमा नेपाली काङ्ग्रेसले बीपी कोइरालाले प्रतिपादन गर्नुभएको सिद्धान्त र आदर्शका सम्बन्धमा खुल्ला रूपमा बहस गर्नुपर्दछ र पार्टीलाई कोइरालाकै सिद्धान्त र आदर्शको बाटोमा डोर्‍याउनुपर्छ भन्ने आम नेपाली काङ्ग्रेससँग आबद्ध बुद्धिजीवीहरूको धारणा छ । एकसय सातौं बीपी जयन्ती दिवसले सबै काङ्ग्रेसजनमा यही धारणा विकसित गराउन सकोस्, यही शुभकामनाका साथ विराम लिन्छु।

भदौ २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्