यी उद्यमी महिलाहरुले कसरी मनाउँदै छन् तीज?

काठमाडौँ– हामी तीजको संघारमा छौँ। तीजमा विवाहित तथा अविवाहित महिलाहरु व्रत बस्छन्। विवाहित महिलाहरुले आफ्नो श्रीमान्‌को सु–स्वास्थ्य तथा दीर्घायुका लागि र अविवाहित युवतीहरुले राम्रो वरको कामना गर्दै व्रत बस्छन् भन्ने मान्यता रहिआएको छ।

तीजको व्रत उद्यमी महिलाहरु कसरी बस्छन् त? उनीहरुले तीजलाई कस्तो रुपमा लिएका छन् ? यसबारेमा हामीले उनीहरुसँग कुराकानी गरेका छौँः

सिर्जना राणा, अध्यक्ष, होटल एशोसिएशन नेपाल


संसारभर कोरोना भाइरसको दुःख भइरहेको बेला हर्षोउल्लसाका साथ मनाउने माहोल छैन। यस्तो बेला तामझामले मनाउने ‘मुड’ पनि छैन। अहिले कोभिड पनि ‘कन्ट्रोल’ भइसकेको छैन। यो पाली कोभिडलाई मध्यनजरमा राखेर पढेलेखेको महिलाहरुले बुझ्नुपर्छ। खासमा यो ‘सेलिब्रेट’ गर्ने बेला होइन।

तर पनि यो हाम्रो चालचलन, संस्कार जुन हामीले सानैदेखि देख्दै सिक्दै आएका छौँ, यसलाई अगाडि बढाउनै पर्छ। हाम्रो देशमा हामीले जुन संस्कार सिकेका छौँ। अहिले हाम्रो संस्कार विदेशीहरुले पनि बुझ्दै सिकिरहेका छन् भने हामीले आफ्नो संस्कारलाई मान्नुपर्छ।

आफ्नो श्रीमान्‌लाई सम्मान गर्ने पर्व हो। समाजमा सबैका आ–आफ्ना धारण हुन्छन्। हाम्रो समाजमा पुरुषले व्रत बस्दैनन्। महिलाले मात्र किन बस्ने भन्ने कुरामा वादविवाद भइरहन्छ। तर त्यस्तो केही होइन। यो एउटा संस्कार हो। यो तपाईंको आफ्नो श्रीमान्‌प्रतिको सम्मान हो।

सिर्जना राणा।

सधैँ हाम्रो हजुरआमाले हजुरबाउलाई, आमाले आफ्नो बुबालाई सम्मान गरिरहेको हामीले देख्दै हुर्केका हौँ। यसलाई महिलालाई हेपेको होइन। यो त आफ्नो पवित्र सम्बन्धमा श्रीमान्‌लाई श्रीमतीले गरेको सम्मानको प्रतिक हो।

यसमा आफ्नो संस्कार र अहंकारलाई ‘मिक्स’ गर्नु हुँदैन। गर्नु छैन भने नगर तर गरेपछि सम्मानका साथ गर।

अहिले श्रीमान्‌ले आफ्ना श्रीमतीहरुलाई तीजको वर्त नबस, स्वास्थ्यको ख्याल गर, सके मात्र गर भनेको मैले सुन्दै आएको छु। यो पनि त श्रीमतीप्रतिको सम्मान हो नि। जस्तो उनीहरुले आफ्ना श्रीमतीका लागि गरगहना, लुगा लगायतका सामाग्री किन्छन्। त्यो पनि त माया र सम्मान हो नि।

म महिला भएको हैसियतले किन व्रत बस्छु भने मैले आफ्नो हजुरआमा, आमा, काकीहरुले गरिरहेको देखेँ। उनीहरुबाटै मैले पनि यो संस्कार सिकेको हुँ। आफूलाई सानैदेखि उनीहरुले पूजाआजाको संस्कार सिकाए। र मलाई भगवान शिवजीको पूजा गर्न निकै मन पर्छ। निकै रमाइलो लाग्छ। र यो मेरो श्रीमान‍्‌प्रतिको सम्मान पनि हो।

यो वर्ष पनि अन्य वर्ष जस्तै शिवजीको पूजाआजा गरेर वर्त बस्छु। यसपाली खाइलाई नाचगान गर्न मिलेन। अहिले पनि दुख यथावत नै छ। मनले पनि मान्दैन।

आफ्नो दिदिबहिनी, छोरीचेलीलाई दर खुवाइने। मायाको चिनो दिने हो। वर्षको एक चोटी आउने पर्व हो र हाम्रो संस्कृति पनि। यसलाई बराइराख्नु पर्छ। ताकी आगामी पिढींहरुले पनि सिकून्। यो निकै राम्रो कुरा हो। आफ्नो संस्कृतिलाई बचाइराख्नु पर्छ।

अर्को कुरा के भने व्रत बस्नु स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ। वर्षभरी हामीले आफ्नो पेटलाई रेष्ट नै दिएका हुँदैनौ। त्यो दिन चिल्लो लगायतका खानेकुरा नखाएर फलफूल खाने साधारण खाना खाने भएकाले स्वास्थ्यलाई फाइदा गर्छ।

भवानी राणा, पूर्वअध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघ


अहिले कोरोनाका बेला पहिले जस्तो तयारी केही छैन। आफन्तहरुले दर खान बोलाउँदा गइन्छ। आफ्नो नन्दलाई दर पठाउने गरिन्छ।

सधैँ झैं यसपाली पनि व्रत बस्ने हो। पहिले त म पानी पनि नखाइ व्रत बस्थेँ। अहिले त पानी खान्छु।

हाम्रो परम्परा, रीतिरिवाजलाई अगाडि बढाउँदै लैजानु पर्छ। हाम्रो परम्परागत कुरालाई चलाउँदै लैजानुपर्छ।

व्रत बस्दा महिला दिदीबहिनीहरुले आफ्नो स्वास्थ्यको ख्याल गरी बस्नु होला। गाँउघरमा कतिपय महिलाहरुले थुक पनि ननिलेको देखेको छु। निल्नु हुन्न भन्ने भनाइ पनि छ। निल्यो भने श्रीमान्‌को आयू घट्छ भन्छन्। यो कुरामा कुरामा म विश्वास गर्दिनँ। यस्तो त म गर्दिनँ र अन्य महिलाहरुले पनि गर्नुभएन।

भवानी राणा

आफ्नो संस्कृतिलाई अगाडि बढाउने हो। भगवानको पूजा आराधना गरेर मनाउने हो। व्रतले स्वास्थ्यका लागि राम्रो पनि गर्छ। आफ्नो स्वास्थ्यलाई ध्यान दिनुपर्छ।

अहिलेको माहोललाई हेरेर नजिकको मन्दिर जाने र धेरै भीडभाड गरेर पूजाआज नगर्ने।

म पनि सधैँ जस्तै व्रत बस्छु। शिवजीको पूजाआज गर्छु। पानी र फलफूल खान्छु। र तीजको साझ नै गुरु आउनुहुन्छ र गौदान गरेर पनि गर्छु। अरुले त तीजको दोस्रो दिन गर्नुहुन्छ। म तीजको दिननै गर्छु।

मोना शर्मा, नबिल बैंक महाराजगंजको शाखा प्रमुख


हरेक वर्षजस्तै यसपाली पनि तीजको व्रत बस्छु। म व्रत बसेदेखि नै पानी पनि नखाइ व्रत बस्छु। तीजको बेलुका पूजा गरेर श्रीमान्‌को हातबाट पानी खाने गरेको छु। बिहे गरेको १८ वर्ष भइसक्यो। अहिलेसम्म यसरी नै व्रत गर्दै आएकी छु।

तीजको व्रत आफ्नो श्रीमान्‌को लामो आयुका लागि हो भन्ने चलन छ। म पनि आफ्ना श्रीमान्‌का लागि श्रद्धा, विश्वासले भगवानको पूजा गर्ने हो। हाम्रो संस्कार धर्मले सिकाएको कुरा हो। हामीले आफ्नो संस्कृतिलाई सभ्य तरिकाले अगाडि बढाउँदै लैजानु पर्छ।

मोना शर्मा।

हामीले कोभिड भएकाले दर खाने रमाइलो गर्ने त्यस्तो गरेको छैन। अफिसमा दरको सानो कार्यक्रम गरेका थियौँ। भीडभाडमा गइँदैन। आफ्नै अफिसकै साथीभाइहरुसँग रमाइलो गर्ने हो। कोभिडकै कारणले दर खान आफन्तकामा पनि गइएको छैन। घरमै पूजाआज गरी मनाउने हो यसपालीको तीज। र अरु दिदीबहिनीहरुले पनि सुरक्षित भएर तीज मनाउन आग्रह गर्छु। अहिले समय पनि ठीक छैन। आफ्नो स्वास्थ्यको ख्याल गरौँ। सबै सुरक्षित रहौँ र तीज मनाउँ।

आस्था शाह, नबिल बैंक ब्रान्च म्यानेजर


यसपाली पनि तीजको व्रत बस्छु। दुई वर्षदेखिको कोरोना भाइरसले तीज राम्रोसँग मनाउन पाइरहेको छैन। पोहोर त तीजको समयमा लकडाउन थियो।

आस्था शाह।

हामीले आफ्नो संस्कृतिलाई मनाउनुका साथै अहिलेको जोखिमबाट बचेर मनाउने हो। त्यसैले अहिले आफन्तकामा पनि दर खान गइएन। र तीजको पूजा पनि मन्दिर नगई घरमै गर्ने हो।

कोभिडबाट सुरक्षित भएर सबै दिदीबहिनीले तीज मनाउनु होला र हिन्दु नारीहरुलाई तीजको शुभकामना दिन चाहन्छु।

भदौ २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्