राष्ट्रलाई एकताको सूत्रमा बाँध्ने कामनासहित राष्ट्रपतिद्वारा तीजको शुभकामना

फाइल तस्बिर

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सूत्रमा आबद्ध गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेकी छन्।

हरितालिका तीज २०७८ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तीज पर्वले चेली–माइती, साथी–सङ्गी, परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताइन्।

उनले तीज पर्वको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने भड्किलो र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक रहेकामा जोड दिइन्।

‘सांस्कृतिक र धार्मिक पर्वका रूपमा हरितालिका तीजको नेपाली समाजमा महत्वपूर्ण स्थान रहेको छ, भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने यस पर्वमा आफ्नो र आफ्नो परिवारजनको कल्याणको लागि तृतीयाका दिन शिव–पार्वतीको र पञ्चमीका दिन सप्तऋषिको पूजा, उपासना गर्नाले मनोकामना पूरा हुने विश्वास रहिआएको छ’, उनले सन्देशमा भनेकी छन्, ‘विवाहपश्चात् महिलाहरू आफ्नो जन्मघर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाजलाई छोडेर कर्मघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरका रूपमा समेत तीज पर्वलाई महिलाहरूले लिएको पाइन्छ।’

राष्ट्रपतिले तीजले समाजमा विद्यमान महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र असमानताको अन्त्य गर्दै सभ्य, समतामूलक एवं प्रगतिशील समाजको निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गरेकी छन्।

उनले कोभिड–१९ संक्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्डको पालना गर्न पनि सबैमा आह्वान गरेकी छन्।

महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व आवश्यक: उपराष्ट्रपति पुन

यसैबीच उपराष्ट्रपति नन्दबहादुर पुनले पनि नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका (तीज) २०७८ को अवसरमा आज शुभकामना सन्देश दिएका छन्।

उनले तीजको अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

उपराष्ट्रपति पुनले विश्वव्यापी महामारी कोरोना भाइरसको असर कायमै रहेकाले सरकारबाट जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी तीज मनाउन आग्रह गरेका छन्।

‘नेपालको राजनीतिक परिवर्तन र नेपाललाई विश्वसामु परिचति गराउन नेपाली महिलाको योगदान उच्च छ। म यो महान पर्वको अवसरमा नेपालको राजनीतिक परिवर्तन, सामाजिक रुपान्तरण र आर्थिक विकासमा महिलाहरूले पु¥याउनु भएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दछु’, सन्देशमा उपराष्ट्रपतिले भनेका छन्, ‘राज्यको हरेक निकायमा महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व, पैतृक सम्पत्तिमा महिलाको हकलगायत राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा प्राप्त महिला अधिकारका लागि गौरव गर्न आग्रहसमेत गर्दछु।’

उनले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षाका लागि सचेत हुन र खबरदारी जारी राख्न आग्रहसमेत गरेका छन्।

भदौ २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्