काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व बिहीबार देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

तीजको व्रत समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो प्रयोजन रहेकोे धर्मशास्त्रीको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व छ ।

यस वर्ष पनि तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर नखुल्ने भएको छ । पशुपतिनाथ मन्दिर वैशाख पहिलो सातादेखि नै बन्द गरिएको छ ।

नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम केही कम भएकाले शुक्रबारदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्ने पशुपति क्षेत्र विकास कोषको तयारी छ ।

पशुपतिनाथ मन्दिर बन्द रहे पनि पशुपति क्षेत्रमा भने भक्तजन आउन गएको छन् । भक्तजनहरुले पशुपतिको बाहिरी क्षेत्रमा पूजाआजा तथा नाचगान गरिरहेका छन् ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले तीजको दिन बिहीबार पशुपति क्षेत्रमा देखिएको रौनकलाई केही तस्बिरमा समेटेकी छन् ।