सेनामा नेतृत्व परिवर्तन: थापाको विरासत शर्माले कसरी अघि बढाउलान्?

नेपाली सेनाका ४३ औँ प्रधानसेनापति पूर्णचन्द्र थापाको अवकाश र ४४औँ प्रधानसेनापतिका रूपमा प्रभुराम शर्माको आगमन सेनाका लागि निकै महत्वको दिन बनेको छ। तीनवर्षे कार्यकाल पूरा गरी सेनालाई सशक्त, कुशल र सफल नेतृत्व प्रदान गरी अवकाश हुनुभएका महारथी प्रधानसेनापति पूर्णचन्द्र थापालाई उहाँको योगदान तथा सफल कार्यकालका लागि बधाई दिने र नवनियुक्त महारथी प्रधानसेनापति प्रभुराम शर्मालाई तीन वर्षको कार्यकालका लागि बधाई एवं शुभकामना व्यक्त गर्ने दिन हो आज।

राष्ट्रिय सेना र त्यसको सेनापतिको महत्व सदावहार र सर्वकालिक छ। गृह मन्त्रालयले निर्धारण गरेको प्रोटोकलमा प्रधानसेनापति कति नम्बरमा र कहाँ पर्छन् भन्ने गणितीय र औपचारिकताको रोलक्रमभन्दा संवैधानिक दायित्व, कार्यक्षेत्र, महत्व र स्वीकार्यता देखिने व्यावहारिक हिसाबले पनि प्रधानसेनापति देशका केही महत्वपूर्ण, शक्तिशाली र चर्चाका पदमध्ये एक हो। नेपालजस्तो देशमा यो पदलाई आन्तरिक रूपमा मात्र नभई बाह्य विश्व शक्ति, छिमेकी र कूटनीतिक वृत्तले पनि महत्व दिन्छ र चाख राख्छ। यो स्वाभाविक पनि हो।

सेनाको आफ्नो विशेष संवैधानिक र कानुनी दायित्व तथा कार्यक्षेत्र र कार्यशैली हुन्छ, आन्तरिक सुरक्षा र प्रतिरक्षा विषयमा। यो संगठन कठोर अनुशासनको घेरामा दृढ र निर्दिष्ट चेन अफ कमान्डमा चल्छ। सेनाभित्रको अधिकार सम्पन्न, गर्विलो, स्वीकार्य र शक्तिशाली अनि चेन अफ कमान्डको शिखर विन्दु तथा केन्द्रविन्दुको रूपमा प्रधानसेनापति पद रहने हुँदा तीन वर्षको कार्यकालभरि प्रधानसेनापतिले सिंगो सेना संगठनलाई हाँक्नुपर्ने हुन्छ र त्यसैले यो पदमा गरिमा र महत्व छ। प्रधानसेनापति हुनु व्यक्तिगत रूपमा गौरवपूर्ण र भाग्यशाली अवसर पनि हो।

किनकि यो निकै बृहत् आकारको र कार्यक्षेत्रको संगठनभित्र त्यो सर्वोच्च पदमा पुग्न सुरु नियुक्तिदेखि नै उमेर, अवसर, तालिम, समय, पदोन्नतिका अवसर अनि विभिन्न योग र संयोग जुर्दै र मिल्दै जानुपर्छ र त्यसैले यो अवसर अलिकति दुर्लभ पनि छ। हुन त सबै संगठनमा उच्च पदमा पुग्न विभिन्न आधार, क्षमता, विधि तथा प्रक्रियाको सिँढी त चढ्नै पर्छ तर हाम्रोमा निजामती र प्रहरीतर्फ धेरै मात्रामा अन्योल, अनिश्चितता, राजनीतिक स्वार्थ, काखापाखाको प्रकोप झेल्नुपर्छ।

अन्तिम अवस्थामा अवसर गुम्ने गरेका उदाहरण पनि छन्। दरबार बलियो भएका बेला के–कसो हुन्थ्यो र कसरी प्रधानसेनापतिको पदमा ल्याउन कसरत हुन्थ्यो त्यो पारदर्शी विषय थिएन तर अहिलेको अवस्थामा आइपुग्दा नेपाली सेनामा अरु निकायतर्फ भन्दा पारदर्शी, सहज तथा स्वाभाविक अनि योग्यता र ज्येष्ठताको कसीबाट उक्लँदै आउने प्रक्रियाले कम विवाद हुने गरेको छ।

सेनाको प्रधानसेनापतिमुनिको रथी दर्जामा दुई पद मात्र भएका कारण र बहालवाला प्रधानसेनापतिको दृढताले पनि बाहिरका लागि खेल्न र खेलाउन त्यति संयोग नमिल्ने हुँदा स्वाभाविक रूपमा सेनामा नेतृत्व हस्तान्तरण हुने प्रक्रिया देखिँदै आएको छ र यो एउटा खुसीको कुरा पनि हो। हुन त सेनाभित्र पनि भित्रभित्रै होडबाजी र केही खेलका प्रकरण नै नहुनेचाहिँ होइनन् र ती अपवाद नै भनौँ। बहालवाला प्रधानसेनापतिको भूमिका र सोचले आगामी र भविष्यको रोल क्रममा असर पार्छ। रोलक्रम बिग्रने गरी माथिल्लो पद थप्ने तथा घटाउने बेमौसमी क्रियाकलापले संगठनको नेतृत्व विकास तथा सुनिश्चिततामा असर पार्छ जुन नेपाली सेनाभित्र त्यो रोग कहिलेकाहीँ देखिए पनि प्रकोपपूर्ण रूपमा त्यति प्रवेश हुन पाएको छैन।

यस पटकको नेतृत्व हस्तान्तरण पनि सहज, सरल, पारदर्शी र स्वाभाविक तरिकाले हुनु राम्रो पक्ष हो। सेना एउटा निश्चित जाति र वर्गको वर्चस्व भएको संगठन हो र यसमा नेतृत्वमा पुग्न जो–कोहीलाई असम्भव छ भन्ने पुरानो भनाइ र मान्यता आजका दिनमा आइपुग्दा गलत सावित भई सेना एउटा परिपक्व समावेशीताको सिद्धान्त र व्यवहारमा आधारित संगठन हो भन्ने प्रस्ट भएको छ।
हिजो गुरुङ प्रधानसेनापति भए भने आज बाहुन भएका हुन् र भोलि फेरि योग्यता र क्षमताका आधारमा कुनै पनि नेपाली हुनेछन्।

कुनै पनि संगठनको उच्च पदले त्यो संगठनको साख राख्ने, गरिमा बढाउने, क्रियाशीलता बढाउने र भावी नेतृत्वलाई सहज तथा सरल मार्गप्रशस्त गर्दै बाटो देखाउने कार्यमा योगदान पुर्‍याउन सक्छ।

हुन त समय जसरी पनि बित्छ, गरे पनि नगरे पनि। नेतृत्व वर्गका पनि आ–आफ्ना ध्यान, दृष्टि, स्वार्थ र प्राथमिकता हुने गरेका देखिन्छन्।

सबैले राम्रै गरेको छ भन्लान् तर त्यो अरूले देख्नुपर्छ र परिणाममा देखिनुपर्छ। नेपालमा अहिले नेता असाध्य भ्रष्ट भएको देखिएका छन्, तिनमा नियन्त्रण छैन। संवैधानिक रूपमा र कानुनी रूपमा नियन्त्रण गर्ने जिम्मेवारी बोकेका निकाय नै पंगु बनेका छन्।

सेनाका अवकाशप्राप्त प्रधानसेनापति थापा आफ्नो सुरु कार्यकालदेखि नै अनुशासन, आचरण, संगठनात्मक सुधार, पारदर्शितालगायत संगठनभित्र सुधार गर्न, व्यावसायिकतालाई आधुनिक बनाउन, विभिन्न पक्षमा क्षमता अभिवृद्धि गर्न र विकासका पहल कदमका लागि अग्रसर भई सबैबाट स्याबासी नै पाएर अवकाश भएको अवस्थाले नेपाली सेनाको साख अवश्य पनि उच्च भएको हुनुपर्छ।

यस्तो अवस्थामा विरलै मात्र नेतृत्व चोखो बस्न सक्छ। सेनाका अवकाशप्राप्त प्रधानसेनापति थापा आफ्नो सुरु कार्यकालदेखि नै अनुशासन, आचरण, संगठनात्मक सुधार, पारदर्शितालगायत संगठनभित्र सुधार गर्न, व्यावसायिकतालाई आधुनिक बनाउन, विभिन्न पक्षमा क्षमता अभिवृद्धि गर्न र विकासका पहल कदमका लागि अग्रसर भई सबैबाट स्याबासी नै पाएर अवकाश भएको अवस्थाले नेपाली सेनाको साख अवश्य पनि उच्च भएको हुनुपर्छ।

स्वच्छ, शालिन, क्रियाशील, व्यावसायिक क्षमता र ज्ञानले निपुण व्यक्तित्वलाई धेरैले नियालेका तथा बुझेका संगठनभित्र सकल दर्जाले नै प्रशंसा गरेको पाइयो। केही कमजोरी भए पनि र दृष्टि पुग्न नसकेका ठाउँ भए पनि यदाकदा न्याय पुग्न नसकेको केही ठाउँ देखिए पनि समग्र मूल्यांकनमा प्रेस जगत् तथा भूतपूर्व सैनिक र बहालवाला अनि सहकार्य गरेका सरोकार व्यक्तिले राम्रो पक्षको पल्लाभारी भएको अभिव्यक्तिका आधारमा उनी सफल प्रधानसेनापतिका रूपमा सेनाको इतिहासमा स्थापित तथा दर्ज भएका हुन् भन्दा सायद अतिशयोक्ति नहोला।

हुन त प्रधानसेनापतिजस्तो शक्तिशाली पदको हकमा पदमा रहुन्जेल गुणगान गर्ने, बोल्न नसक्ने लुकिछिपी र छद्म नामबाट टिप्पणी गर्ने अनि पदबाट हटेपछि कतिपय विषय छताछुल्ल पार्ने विगत पनि देखिन्छ।

तर, सेतोलाई कालो भने पनि सेतो त सेतै हुन्छ र सत्य–तथ्य यथावत् हुन्छ। गुण र दोषका आधारमा स्वच्छ टिप्पणी र चर्चा हुनुचाहिँ स्वाभाविक मान्नुपर्छ। समग्रमा भन्नुपर्दा सेनालाई उत्कृष्ट अनुशासित, व्यावसायिक, दक्ष र आचरणयुक्त बनाउन प्रधानसेनापति थापाले चालेका कदम बहुपक्षीय छन् र ती कदमले भविष्यमा अवश्य पनि नतिजा देखाउला।

राष्ट्रिय एकीकरणका महानायक पृथ्वीनारायण शाहप्रति सेनाले देखाएको महत्व र मूल्यांकनलाई समग्र सराहना गर्नुपर्छ। सेनाभित्र सर्भे तथा सीमा अनुगमन निर्देशनालय स्थापना हुनु, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापनाको जग हाल्नु, नदी बेसिन र नदी घाँटीमा आधारित तीन प्लस एकको नयाँ कमान्ड स्थापना गर्नु, सेनाको लटिस्टिक र रासन व्यवस्थापनमा परिवर्तन ल्याउन महत्वपूर्ण सुधारका कदम मान्नुपर्छ। चाहे भारतीय सेना प्रमुख नरवणेले नेपाल सम्बन्धमा बोलेको विषय होस् वा कोभिडको औषधि खरिदमा उत्पन्न विषय होस् वा तत्कालीन रक्षामन्त्रीले बोलेको ‘लकिरका फकिर प्रकरण’ विषय होस् प्रधानसेनापतिले भद्र, सहज र कूटनीतिक लवजमा दिएका अभिव्यक्तिले उनको व्यक्तित्वलाई प्रस्तुत गर्छ।

एउटा योग्य, कुशल, सीपज्ञानयुक्त नेतृत्व पाउनु संगठनका लागि सौभाग्य नै हो। यस मानेमा प्रधानसेनापति थापा सफल रहे। संगठनमा पनि साख उठ्यो। नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मा ब्राह्मण जातिबाट प्रधानसेनापति हुने प्रथम व्यक्ति बनेका छन्।

एउटा कुशल, सरल, व्यावसायिक, दक्षतायुक्त प्रधानसेनापति पाएको छ सेनाले। कुनै विवादमा नपरेका शिष्ट र शालीन व्यक्तित्वका धनी शर्मासँग पंक्तिकारले पनि सेवा दौरान सँगै काम गर्ने अवसर पाएको आधारमा यी विचार अभिव्यक्त गरेको हो।

पूर्वप्रधानसेनापति थापाले चालेका सुधार तथा व्यवसायिक दक्षता प्रवद्र्धनका कदमले निरन्तरता पाओस् र थप अध्ययन तथा अनुभवका आधारमा परिमार्जन गर्ने तथा नयाँ क्षेत्रमा सुधारलाई बढाउने कार्यमा नवनियुक्त प्रधानसेनापतिबाट थप कार्य हुनेछ भन्ने अपेक्षा सबैको छ।

यसमा उहाँलाई सबैको सहयोग, सद्भाव र सहकार्य प्राप्त होस् भन्ने शुभेच्छा राख्नु, नेपाल, नेपाली र सेनाप्रति वफादार नागरिक, शुभचिन्तक सबैको कर्तव्य र आकांक्षा पनि हो। उहाँको सफल कार्यकालको हार्दिक शुभकामना।

भदौ २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्