साङ्केतिक तस्बिर

काठमाडौँ – विभिन्न घटनामा संलग्न तीन जनालाई प्रहरीले फरक–फरक स्थानबाट पक्राउ गरेको छ।

बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका काठमाडौँको गोकर्णेश्वर बस्ने उमेश लामालाई प्रहरीले काठमाडौँको नयाँबस्तीबाट पक्राउ गरेको जनाएको छ।

बैंक खातामा पर्याप्त रकम नभएको जानीजानी पीडितलाई झुक्यानमा पारी चेक दिएका लामालाई बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी सात दिन कैद र ११ लाख जरिवाना हुने सजाय सुनाएको थियो।

त्यसपछि फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले बिहीबार पक्राउ गरेको हो। उनलाई आजै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा बुझाइएको ब्युरोले जनाएको छ।

यसैबीच, बिहीबार काठमाडौँको नागढुंगाबाट गाँजासहित एक जना पक्राउ परेका छन्। धादिङबाट शंकास्पद रूपमा पैदलै काठमाडौँ आउँदै गर्दा उनलाई गाँजासहित नागढुंगा सुरक्षा चौकीबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेमा धादिङको थाँक्रेका मोतीलाल तामाङ छन्।

उनले बोकेको झोलाभित्र लुकाइराखेको अवस्थामा एक किलो ८ सय ग्राम गाँजा फेला पारिएकाले लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान थालिएको छ।

यसैबीच, धादिङबाट काठमाडौँ आउँदै गरेको बा४ख ४४५० नम्बरको बस जाँच गर्ने क्रममा स्रोत नखुलेको ११ लाखसहित एक जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।

पक्राउ पर्नेमा भारतका शोविक आदक रहेको र थप अनुसन्धानका लागि उनलाई सम्पत्ति शुद्धीकरण विभाग हरिहरभवन पठाइएको छ।

भदौ २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्