चितवनको सतनचुली सामुदायिक वनको बीचमा बन्यो अत्याधुनिक ठिमुरा रिसोर्ट

चितवन – भरतपुर महानगरपालिका–१ स्थित सतनचुली सामुदायिक वनको बीचमा ठिमुरा रिसोर्ट सञ्चालनमा आएको छ।

रिसोर्टको दुईतर्फ वन छ भने एकातर्फ त्रिशूली नदी छ। एकान्त ठाउँमा चार वर्ष लगाएर निर्माण गरिएको यो रिसोर्ट ढुंगैढुंगाले बनेको छ। पाँच बिघा जमिनमध्ये आधा भागमा रिसोर्ट छ भने बाँकीमा फार्म हाउस बनाइँदै छ।

पर्यटन क्षेत्रका अनुभवी र विज्ञले नभएर हाडजोर्नी विशेषज्ञ डा प्रमोदप्रसाद लामिछानेले रिसोर्ट सञ्चालनमा ल्याएका हुन्। पाँच वर्षअघि च्यारिटी अस्पताल खोल्ने उद्देश्यले खरिद गरिएको जग्गामा अत्याधुनिक रिसोर्ट बनाइएको हो।

भरतपुरमा रहेको एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरका सञ्चालक लामिछाने र उनकी श्रीमती डा विष्णुमाया खरेल लामिछानेले रिसोर्ट निर्माण गरेका हुन्।

डेढ वर्षअघि खरेलको क्यान्सरबाट निधन भएको छ। उनको जन्मदिन पारेर उनीहरूकाका छोरा प्रतीकले बिहीबार रिसोर्ट उद्घाटन गरेका हुन्। लामिछानेका अनुसार रिसोर्टको आम्दानीको एउटा हिस्सा खरेलको नाममा अक्षयकोष बनाएर अपांगता भएका बालबालिकाको हाडजोर्नी उपचारमा खर्च गरिनेछ।

दन्तरोग विशेषज्ञ स्व खरेलको परिकल्पनाको रिसोर्ट भएकाले डा लामिछाने यसको आम्दानीलाई समाज सेवामा लगाउने सोच बनाएका हुन्।

रिसोर्टमा १५ वटा भिल्ला छन्। ती भिल्लामा २२ वटा कोठा छन्। ती कोठा असोज १ गतेबाट सञ्चालनमा आउनेछन् । क्रमशः कोठा थप गर्दै लगिने उनले बताए। वातावरणीय प्रभाव मूल्यांकन गरेर ७५ कोठाको अनुमति लिइएको छ।

एउटा छुट्टै प्रेसिडेन्सियल भिल्ला छ। उक्त भिल्लामा स्विमिङ पुलसहित आवश्यक सुविधा छन्। महँगो रकम तिर्न सक्ने ग्राहकलाई लक्ष्य गरी यो भिल्ला बनाइएको हो। रिसोर्टभित्र तारा आकारको सानो, गितार आकारको मझौला र कलाकौशलले भरिएको ठूलो गरी तीनवटा स्विमिङ पुल छन्।

ती स्विमिङ पुलमा पहाडबाट झरेको प्राकृतिक पानीको प्रयोग गरिएको छ। हजार जना अट्ने ठूलो सभाहलसँगै ५० र १०० जना अट्ने सभाकक्ष रहेको लामिछानेले जानकारी दिए।

रिसोर्ट परिसरमा ठाउँठाउँमा काठका कलात्मक पुल बनाएर आकर्षक बनाइएको छ। रिसोर्टमा चीनबाट झिकाइएका सेरामिक धातुका सिंह, गाड, युवती, बत्ती राखेर सजाइएको छ। रेस्टुरेन्टमा कलात्मक काठभित्र झुमर बालिएको छ। रिसोर्टमै पूर्वी एसिया झल्काउने चाइना हाउस निर्माण गरिएको छ।

लामिछानेले रिसोर्टमा ढुंगासँगै अधिकतम काठ, खडाइ, खरको प्रयोग गरिएको छ। २० करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको जानकारी दिँदै थप लगानीको तयारीमा रहेको लामिछानेले बताए।

उनले भने, ‘यो बुटिक रिसोर्ट हो। तपाईंजे हेर्नुहुन्छ अनौठो र आनन्द लाग्छ।’ अध्ययन अनुसन्धान गर्नेहरूलाई शान्त वातावरणमा लामो समय बस्न रिसोर्ट उपयुक्त हुने उनको भनाइ छ। रिसोर्ट परिसरमा आँप, लिची, कटहर, बेल, अम्बा, अमलालगायत रूख रोपिएका छन्।

रिसोर्टको आडैमा आफ्नो पुख्र्याैली घर लमजुङको राइनास क्षेत्रमा हुने पहाडी शैलीको कलात्मक घर निर्माण गरिएको छ। पछिल्ला दिनमा तस्बिर लिएर सामाजिक सञ्जालमा पोष्ट गर्नेले यो घरलाई भाइरल बनाएको जनाएका छन् । सो घर पनि पाहुना बस्न मिल्ने गरी बनाइएको छ। यो रिसोर्ट भरतपुरको रामनगरबाट दुई किमि दूरीमा छ। रिसोर्टमा ३५ जना कर्मचारी छन्। तीमध्ये १० जना चितवन राष्ट्रिय निकुञ्जभित्र बन्द भएको टाइगर टप्स होटलका कर्मचारी छन्। उनीहरू भएकैले बेलायती पर्यटकले घुम्न आउने चासो देखाएको लामिछाने बताउँछन्।

आन्तरिक तथा बाह्य पर्यटकलाई पानीमा, वनमा हुने गतिविधिका अतिरिक्त चितवन राष्ट्रिय निकुञ्ज घुमाउने गरी प्याकेज बनाउन लागिएको छ। रिसोर्ट बनाइएको ठाउँमा ०६५ अघि लभ्ली रिसोर्ट थियो। पानीको गतिविधिका धेरै सिनेमा यहाँ छायांकन गरिएको उनले बताए।

भदौ २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्