अमेरिकी सैनिकले छोडेपछि पहिलोपटक काबुलबाट उड्यो अन्तर्राष्ट्रिय यात्रुसहितको विमान

अमेरिकी सैनिकले अफगानिस्तान छोडेयता पहिलोपटक काबुलबाट अन्तर्राष्ट्रिय यात्रुसहितको विमान उडेको छ ।

कतार एअरवेजको चार्टर्ड फ्लाइट बिहीबार कतारको राजधानी दोहामा अवतरण गरेको हो । दोस्रो उडान शुक्रबार हुँदैछ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले हालैको कतार भ्रमणका बेला अफगानिस्तानबाट हुने उद्धार प्रयासमा सहयोग गर्न भनेका थिए ।

अमेरिकाको २० वर्षे सैन्य अभियानका बेला अमेरिकी सैनिकलाई सहयोग गरेका सयौँ अफगानी गत महिना अमेरिकी सैनिकको हवाई उद्धारका बेला काबुलबाट बाहिर जान पाएका छैनन् ।

बिहीबार दोहा अवतरण भएको विमानमा कम्तीमा ११३ जना रहेको समाचार संस्था रोयटर्सले जनाएको छ । बेलायती विदेशमन्त्री डोमिनिक राबले १३ जना ब्रिटिस नागरिक दोहा पुगेको बताएका छन् ।

अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले वक्तव्य निकालेर बिहीबार भएको उडानमा आफ्ना नागरिक पनि रहेको पुष्टि गरेको छ ।

अमेरिकाले कतारलाई धन्यवादसमेत दिएको छ । अमेरिकी नागरिकहरुलाई अफगानिस्तानबाट बाहिर जान दिन तालिबानहरुले सहयोग गरिरहेको उल्लेख गरिएको छ ।

क्यानडाले पनि आफ्ना ४३ जना नागरिक विमानमा रहेको पुष्टि गरेको छ । यस्तै सो विमानमा नेदरल्याण्ड्सका १३ जना थिए ।

गएको अगस्ट १५ मा काबुल नियन्त्रणमा लिएको तालिबानले हाल अफगानिस्तानमा अन्तरिम सरकार गठन गरेको छ । अगस्ट ३१ सम्म अमेरिकी सैनिकको नियन्त्रणमा रहेको काबुल विमानस्थल हाल तालिबानको कब्जामा छ ।

भदौ २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्