युएस ओपन टेनिस

बेलायती किशोरी रादुकानु फाइनलमा, उपाधिका लागि क्यानडियन किशोरी लेइलासँग खेल्ने

बेलायती किशोरी एमा रादुकानु युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छन् । नेपाली समय अनुसार शुक्रबार बिहान भएको सेमिफाइनलमा १७ औँ बरियताकी मारिया सकारीलाई पराजित गरेर उनले फाइनलमा स्थान बनाएकी हुन् ।

१८ वर्षकी रादुकानुले सकारीलाई ६–१ र ६–४ को सेटमा पराजित गरेकी हुन् । छनौट चरणबाट आएर ग्राण्डसलामको फाइनलमा पुग्ने रादुकानु पहिलो खेलाडी हुन् । उनले शनिबार हुने फाइनलमा अर्की किशोरी लेइला फेर्नान्डेजसँग प्रतिस्पर्धा गर्ने छिन् ।

रादुकानु ४४ वर्ष यता प्रमुख प्रतिस्पर्धाको एकल स्पर्धामा फाइनलमा पुग्ने पहिलो बेलायती महिला खेलाडी हुन् ।

यसपटक शीर्ष बरियताका खेलाडीहरुलाई पाखा लगाउँदै फाइनल पुगेका दुई किशोरीबिच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको हो ।

गएको सोमबार १९ वर्ष लागेकी क्यानडियन किशोरी लेइलाले दोस्रो बरियताकी एरिना साबलेन्कालाई पराजित गरेर फाइनलमा स्थान बनाएकी हुन् ।

फेर्नान्डेजले बेलारुसकी एरिनालाई ७–६ (७–३), ४–६ र ६–४ को सेटमा पराजित गरेकी हुन् ।

भदौ २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्