तीन महिनापछि खुल्यो अरनिको राजमार्ग

फाइल तस्बिर

चौतारा – अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित लिपिङ पुल नजिक भास्सिएर विगत तीन महिनादेखि अवरुद्ध सडक शुक्रबारबाट सञ्चालनमा आएको छ।

अविरल वर्षाले गत असार २ गतेदेखि भास्सिएको सडक मर्मत गरिएपछि शुक्रबार बिहानदेखि सञ्चालनमा आएको डिभिजन सडक कार्यालय दोलखाका इञ्जिनियर गोविन्द डुमरीले जानकारी दिए।

नेपाल र चीनसँगको प्रमुख व्यापारिक नाकाको रुपमा रहेको तातोपानीको उक्त सडक खण्ड लामो समयदेखि अवरुद्ध भएपछि चीनबाट सामान आयात गर्न पनि सकिएको थिएन भने राजस्व सङ्कलनमा पनि असर परेको थियो।

मितेरी पुलबाट दुई किलोमिटर तल रहेको उक्त पुल जोखिममा पर्नुका साथै करिब २५ मिटर सडक भास्सिएपछि भरियाद्वारा ढुवानी गराउँदा महँगो पर्ने हुँदा लाखौं मूल्यका स्याउ कुहिएको व्यवसायीले गुनासो गरेका छन्।

उक्त सडकको कोदारीमा पनि असार ५ गतेको बाढी पहिराले क्षति पुगेको थियो। त्यहाँ केही दिनअधि मात्र यातायात सञ्चालनमा आएको थियो। सडक सञ्चालनमा आएसँगै दशैँका लागि सामान झिकाउन सहज भएको भन्दै स्थानीय र व्यापारीले खुसी व्यक्त गरेका छन्।

भदौ २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्