कोरोना कहरपछि मानसिक स्वास्थ्यको बारेमा छलफल

कौशी थिएटरमा बाँच्ने बहानाको खोजी- ‘हरेक बबाल कुरा’

आमाको पहिलो आत्महत्याको प्रयासपछि एउटा ७ वर्षको बालक कापीमा लिस्ट बनाउन थाल्छ, ‘बबाल कुराहरु’ को । संसारका हरेक बबाल कुरा जसले उसलाई बाँच्ने आधार दिन्छ।

१. आइसक्रिम
२. पानीमा भिज्नु
३. राती अबेरसम्म नसुतेर टि.भी हेर्न पाउनु
४. पहेँलो रंग,
५. धर्के लुगा
६. रोटेपिङ
७. मान्छे चिप्लेर लड्नु

उसलाई सात वर्षको हुँदा यी कुरा बाँच्नको लागि ऊर्जा दिन काफी थियो तर जीवनसँग हार मानेर आफ्नै ज्यान लिन तम्सिएकी उनकी आमालाई यो सूचीले खासै फरक पारेन। त्यसैले त पटक पटकको प्रयासमा बालककी आमाले आफ्नो ज्यान लिएरै छाड्छिन्।

आमाको आत्महत्याको प्रयास अनि मृत्युप्राप्तिको त्यो प्रक्रियामा एउटा बाल मनस्थिति कसरी बिग्रन्छ ? अहिलेको अवस्थाले भविष्यमा दूरगामी प्रभाव के हुन्छ ?

अभिभावकको मानसिक स्वास्थ्यमा समस्या हुँदा उनीहरुका सन्तानको बालमनोस्वास्थ्य कस्तो हुन्छ ? अभिभावकले आफ्ना समस्यालाई केन्द्रमा राख्दा बालबालिकाको मनोवैज्ञानिक स्वास्थ्य कसरी छाँयामा पर्छ र त्यसले दीर्घकालीन असर कसरी निम्त्याउँछ ?

कलाकार सुदाम सिके यही विषयमा छलफल गर्दैछन् । शुक्रबार साँझ साढे ५ बजेदेखि कौशी थिएटरमा प्रदर्शन हुँदै गरेको नाटक ‘हरेक बबाल कुरा’ मा मानसिक स्वास्थ्यको जटिल पाटाहरु केलाइँदै छ।

एकल नाटक प्रस्तुति ‘हरेक बलाल कुरा’ अंग्रेजी नाटक ‘एभ्रि ब्रिलियन्ट थिङ्ग’ को नेपाली अनुवाद हो। यो नाटकलाई लेखकद्वय जोनि डोनाहो र डुन्चन माचमिनलले सन् २०१३ मा लेखेका हुन्। विश्वका धेरै ठाउँमा अनुवाद भई मञ्चन भएको यो नाटकको नेपाली अनुवाद आकांक्षा कार्की र क्षितिज पराजुलीले गरेका हुन् । नाटकको निर्देशन आकांक्षाले नै गरेकी छन् भने मञ्चमा सुदाम सिकेले प्रस्तुति दिँदैछन्।

‘मञ्चमा हरेक दिन फरक फरक दर्शक हुन्छन्, सुदामजी ‘फ्ल्यासब्ल्याक’ मा जान्छन्, त्यहाँ भएका दर्शकसँग मिलेर आफ्नो स्मृतिलाई ‘रिक्रिएट’ गर्नेछन्।’ आकांक्षाका अनुसार त्यहाँ उपस्थित दर्शक कहिले उनका पिता, कहिले साथी, कहिले उनको डाक्टर त कहिले उनका प्रेमिका बनिदिन्छन्।

‘हामीले थोरै मानिसहरुको माझमा यो शो गर्न लागेका हौँ। धेरै मानिस जम्मा गर्ने अवस्था छैन। यो अहिलेको समयमा आर्थिक पाटो र विषय वस्तुको आधारमा पनि ठीक छ जस्तो लाग्यो,’ निर्देशक कार्कीले भनिन्, ‘मैले यो नाटक सन् २०१८ मा अमेरिका गएको बेलामा पढेको थिएँ, न्यूयोर्कको ड्रामा बुक सपमा पुगेको थिएँ। त्यही बेलामा १५,२० ओटा किताब बोकेर आएको थिए। त्यही प्रस्तुत गदैैछौँ।’

यो नाटक ‘सपोर्ट ग्रुप’ मा आफ्नो कुरा राखेको शैलीमा प्रस्तुत गर्न लागिएको छ जहाँ समस्यालाई ‘मेरो जस्तै’ भनेर सुन्ने, बुझ्ने गरिन्छ।

‘हाम्रो अभिभावकले आत्महत्याको प्रयास गरेको भन्दा हामीलाई लाज लाग्छ। हामी कसैले आत्महत्या गरेको विषयमा छलफल कुराकानी गर्दैनौँ। आत्महत्या यसरी गरेको भन्दा असहज महसुस हुन्छ,’ सिके भन्छन्, ‘त्यसलाई सामान्य रुपमा लिऔँ, आत्महत्या गर्ने परिवारका व्यक्तिहरु र विषेशगरी बालबालिकाको मनोविज्ञान जसलाई आत्महत्याको त्यो नमिठो घटनाले भविष्यसम्म पिराल्ने गर्छ। त्यही पात्रको मनोदशाको कथा ‘हरेक बबाल कुरा’ हो।’

‘दर्शकले पनि नाटक हेरको भन्दा पनि अनुभूति बताएको भन्ने बुझोस् न,’ कार्की भन्छिन्, ‘कथा स्क्रिप्टेड भएपनि केही क्षणहरु सर्प्राइजिङ हुन्छ। किनकि सुदामजीले दर्शकसँग कुराकानी गर्दा दर्शकले बोल्ने संवाद हामीले लेखेका हुँदैनौँ। म आफू पनि दर्शकको प्रतिक्रिया कस्तो हुन्छ भन्नेमा धेरै उत्साहित छु।’

मञ्चमा प्रस्तुति दिने सुदामसँग नाटकलाई लिएर उत्साह अनि डर छ। सन् २०१७ मा ‘म्याड म्यान्स डायरी’ मा एकल प्रस्तुति गरेका थिए उनले। नाटक प्रडक्शनको काममा सहयोगी बनेका क्षितिजले नाटकका पात्रको ७ वर्षदेखि ३६ वर्ष उमेर जीवन यात्राका दौरानमा आउने भावनात्मक परिवर्तनलाई लेख्न सहयोग भएको कार्कीले बताइन्।

नाटकले उठान गरेको विषय जति जटिल छ, त्यसको प्रस्तुति त्यत्ति नै सरल बनाउने प्रयत्न भएको कार्कीले बताइन्। ‘प्रस्तोताले विभिन्न भावमा दर्शकलाई हसाँउँछन्, रुवाउनेछन्। समग्रमा मानसिक स्वास्थ्यलाई सामायीकरण गर्नुपर्छ भन्ने कुरामा जोड दिएको छ । मानिसलाई बाँच्नको लागि के के चाहिन्छ त ! आइसक्रिमबाट शुरु भएको बबाल कुरा लिस्ट नाटकमा तन्कँदै जान्छ,’ उनी भन्छिन्, ‘‘हरेक बबाल कुरा’ यही आवश्यकताको उजागर हो।’

नियमित नाटकमा फर्कने प्रयास

कौशी थिएटर डेढ वर्षदेखि फेरि खुलेको छ। कोरोनाको दोस्रो लहर सकिइसकेको छ, भ्याक्सिनका कार्यक्रमहरु पनि सञ्चालनमा छन्। बिस्तारै जीवन सामान्य भइरहेको छ। कोरोनाको पहिलो लहरमा ‘प्ले व्याक थिएटर’ मा कौशी थिएटरले काम गरेको थियो। अहिले पनि झण्डै मिल्दो ढाँचामा नाटक बनेको छ। नाटकको रिहर्सल गर्दागर्दै निषेधाज्ञा पूर्ण रुपमा हट्यो। त्यसपछि निर्देशक आकांक्षा झनै हौसिइन्।

आकांक्षा कार्की।

योजनामा रहेको नाटकलाई प्रस्तुतिको तयारी गर्न नाटक घर आउँदा सुदाम र आकांक्षालाई वर्षौपछि नाटकघर आएको जस्तो भयो। नाटकघरमा सरसफाइ, रिहर्सलको काम गर्दा रोमाञ्चित भइन् आकांक्षा। नाटकघरलाई केही परिवर्तन पनि गर्न भ्याएका छन् उनीहरुले।

‘मैले त धेरै मिस गरेको थिएँ। नाटकघरको धुलो हटाउँदा, यहाँ मान्छे आउजाउ गरेको देख्दा पनि रमाइलो लागिरहेको छ,’ कार्की भन्छिन्, ‘कौशीमा मानिसहरु बसेर चिया खाइरहेको, कुराकानी गरेर हाँसेको फेरि चाँडै हेर्न मन लागेको छ।’ हरेक बबाल कुरा’ को मञ्चन दर्शकलाई नाटकघरसम्म जोड्ने पुल बन्ने उनको आशा छ।

कोरोना महामारी अगाडि कौशी थिएटर ‘एनिमल फार्म’ नाटक निर्माणको तयारीमा थियो। अब यसपछि अवस्था सामान्य भए, यही नाटक मञ्चन गर्न पाइने आकांक्षाको आशा छ।

 

भदौ २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्