मुटु रोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीकाे सुझाव

न्यून रक्तचापको समस्या कसरी समाधान गर्ने?

सामान्यतया रक्तचाप ९०/६० वा त्यो भन्दा कम छ भने न्यून रक्तचाप भएको बुझिन्छ। मुटुको भल्भमा समस्या तथा हृदयघातले पनि रक्तचाप कम हुनसक्छ। थाइराइड, रक्तअल्पता, लो ब्लड सुगर र कहिलेकाहीँ मधुमेहले गर्दा पनि रक्तचाप न्यून हुनसक्छ।

यसै सन्दर्भमा हामीले उच्च रक्तचापका लक्षण, कारण तथा समाधानका बारेमा मुटु रोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीसँग कुराकानी गरेका छौँः

१) न्यून रक्तचाप भनेको के हो? यो कसरी हुन्छ?

— यदि मानिसको ब्लड प्रेसर १०० का मुनि ७० (१००/७०) भन्दा तल गयो भने त्यसलाई हामी न्यून रक्तचाप भन्छौँ, अर्थात आवश्यकभन्दा तल गएको ब्लड प्रेसरलाई हामी न्यून रक्तचाप भन्छौँ।

लो ब्लड प्रेसरको पछाडि कारण हुन्छ कतिपय अवस्थामा। र कतिपय अवस्थामा कारण नहुन पनि सक्छ।

२) न्यून रक्तचापका लक्षणहरु के–के हुन्?

— यदि केही पनि कारण रैनछ भने मान्छेलाई खासै लक्षण पनि केही हुँदैन। कुनै लक्षण छैन, कुनै कारण छैन, तर ब्लड प्रेसर नाप्दाखेरि न्यून छ भनेको मतलब १०० का मुनि ७० भन्दा तल छ भने त्यस्ता व्यक्तिहरुले आत्तिनु पर्दैन उपचार पनि गर्नु पर्दैन।

कारण छैन, लक्षण पनि छैन तर नाप्दाखेरि एकदम न्युन हुन्छ धेरैजसो मान्छेहरुलाई।

अर्काथरी हुन्छन्, जस्तो ब्लड प्रेसर न्यून हुन्छ त्यसको पछाडि कारण हुन्छ र लक्षण पनि हुन्छ।

कारणहरु जस्तै कि त कतैबाट रगत गइरहेको हुन्छ, कि त पखाला चलिराखेको हुन्छ, कि त उल्टी भएको हुन्छ कि त ठूलो ज्वरो आएको हुन्छ, कि त शरीरमा इन्फेक्सन भएको हुन्छ।

कुनै रोगको कारणले ब्लड प्रेसर घट्यो भने त्यो चाहिँ फेरि खतरा हो। त्यस्तो बेलामा लक्षण हुन्छ मान्छेलाई।

चक्कर लाग्ने, कहिलेकाहीँ बेहोस नै हुने हुन्छ। मृत्युसमेत हुन्छ भने ब्लड प्रेसर घट्नुको कारण खोज्नुपर्छ हामीहरुले।

कतैबाट रगत ह्वालह्वाल्ती गयो भने पनि प्रेसर घट्छ, धेरै पसिना गयो भने त्यसको साथमा नुन पनि जान्छ, त्यस्तो अवस्थामा पनि प्रेसर कम हुन्छ।

यस्तै नुन धेरै घटेर मान्छेको प्रेसर कम भयो भने पनि त्यो मान्छेलाई लठ्ठ पर्ने, बेहोस हुने, चक्कर लाग्ने, टाउको दुख्ने त्यस्तो लक्षण देखिने हुन्छ।

३) न्यून रक्तचापको समस्या कसरी समाधान गर्न सकिन्छ?

— कुनै कारणले गर्दाखेरि ब्लड प्रेसर घटेको छ र ब्लड प्रेसर घटेको लक्षण मानिसलाई छ भने त्यो खतरा हो। तत्काल त्यसको उपचार गरिनुपर्छ।

जस्तो धेरै झाडापखाला भएकोलाई सलाइन चलाउनुपर्छ, कतैबाट रक्तस्राव भइरहेको छ भने त्यसलाई रोक्नु पर्‍यो।

धेरै ज्वरो आएको मान्छेको उपचार गरिनुपर्छ। इन्फेक्सन भएको मान्छेको उपचार गरिनुपर्छ। धेरै पसिना आएकोले पनि नुन पानी खानु पर्‍यो।

प्रेसर धेरै न्यून भयो भने हामी जीवनजल खान्छौँ नि त्यो खाएको राम्रो हो। त्यसैले हामीले यति कुरा बुझौँ न्यून रक्तचापको बारेमा कि न्यून रक्तचाप भनेको आत्तिनु पर्ने कुरा होइन तपाईंलाई केही लक्षण छैन भने।

तर कुनै कारणले गर्दा तपाईंको प्रेसर घटेको छ भने त्यो चाहिँ खतरा हो। त्यसको तत्काल उपचार गरिनुपर्छ।

भदौ २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्