अफगानिस्तान संकट

प्रदर्शनकारीमाथि बल प्रयोग गरेको भन्दै संयुक्त राष्ट्रसंघद्वारा तालिबानको निन्दा

भिन्न मत राख्नेहरुमाथि हिंसात्मक रुपमा प्रस्तुत भएको भन्दै संयुक्त राष्ट्रसंघले तालिबानको निन्दा गरेको छ । तालिबानले गएको अगस्ट १५ मा अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको थियो ।

अहिले तालिबानले अफगानिस्तानमा अन्तरिम सरकार पनि गठन गरेको छ । पछिल्ला दिनहरुमा तालिबानविरोधी प्रदर्शन भइरहेका छन् काबुलसहित विभिन्न क्षेत्रमा ।

विशेषगरी महिलाहरुले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा तालिबानले बल प्रयोग गरेको तथा त्यसको रिपोर्टिङ्गका लागि पुग्ने पत्रकारहरुमाथि कुटपिट गरेको खबर आइरहेका बेला संयुक्त राष्ट्रसंघले भर्त्सना गरेकाे हाे।

पछिल्ला प्रदर्शनको क्रममा तालिबान लडाकुले चारजनाको हत्या गरेको संयुक्त राष्ट्रसंघले बताएको छ ।

महिला अधिकारको सम्मान तथा स्वतन्त्रताको मागसहित अफगानिस्तानका विभिन्न क्षेत्रमा प्रदर्शन हुँदै आएको छ ।

तालिबान लडाकुले प्रदर्शनकारीमाथि लौरी, डोरी तथा गोलाबारुदले आक्रमण गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तका प्रवक्ताले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउनु पर्ने अधिकारको प्रयोग गरिरहेका सर्वसाधारण तथा त्यसको खबर संकलन गरिरहेका पत्रकारमाथि भइरहेको बल प्रयोग तत्काल रोक्नका लागि हामी तालिबानसँग माग गर्छौँ ।’

संयुक्त राष्ट्रसंघकी प्रवक्ता रविना शम्दासनीले शुक्रबार पत्रकार सम्मेलनको क्रममा तालिबानले प्रदर्शनकारीमाथि गरिरहेको व्यवहारको आलोचना गरेकी हुन् ।

भदौ २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्