मोटा भन्थे फुल्दा गोडा गल्दै जान थाले
पाहुना भित्र पस्या छैन मल्दै जान थाले।।

उँधो हुँदा उँभो लाग्न ललाइ फकाइ गरे
इमान जमान एकातिर छल्दै जान थाले।।

पत्र लेख्छन् घोषणाको बाचा बाँधे कति
झरे खाउलाँ भनि कुर्दा टल्दै जान थाले।।

आआफ्ना रजाइ चल्दा सन्चो मानि बसे
अबसर पर्दा अर्काको जल्दै जान थाले।।

आफ्ना कोही छैन बाँकी धेरै लागे अन्तै
विश्वासिला जरो खन्दै चल्दै जान थाले।।

भैँसी पनि नदेखेका आफ्नो जिउको भने
आफ्नो मोसो उता तिर दल्दै जान थाले।।

झिल्को पस्यो मुलुक भित्र डढेलोको डर
निभ्ला भन्दा झनै राँका बल्दै जान थाले।।

नहल्लिने जबर जग बल्ल हाल्यौँ भन्थे
झट्का लाग्दा चर्किएर ढल्दै जान थाले।।

भदौ २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्