बाँकेमा ११ जना कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु

नेपालगञ्ज– नेपालगञ्जको भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार रुकुम पश्चिम र दाङका एक/एक जनाको मृत्यु भएको हो।

रुकुम पश्चिम काफिकोट गाउँपालिका वडा नं. ९ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ। भदौ २४ गते नेपालगञ्ज मेडिकल कलेजमा पीसीआर गरेपछि त्यही दिन नै भेरी अस्पताल भर्ना गरिएका उनको शुक्रबार राति १० बजे मृत्यु भएको हो।

यस्तै दाङ लमही नगरपालिका वडा नं. ५ की ६५ वर्षीया महिलाको पनि शुक्रबार राति ११ः३० बजे मृत्यु भएको छ। भदौ ७ गते दाङमा पीसीआर गरिएका उनलाई १९ गते भेरीमा भर्ना गरिएको थियो।

योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा चार सय आठ जनाको मृत्यु भइसकेको छ।

यस्तै शनिबार बाँकेमा ११ जना नयाँ संक्रमित थपिएका छन्। जिल्लाका तीन वटा ल्याबमा एक सय ६५ जनाको परीक्षण गर्दा ११ जनामा कोरोना देखिएको हो।

भेरी अस्पतालमा ५६ जनाको परीक्षण गर्दा ९ जना, बागेश्वरी ल्याबमा ७४ जनामा दुई जनामा कोरोना देखिएको थियो। कोहलपुर मेडिकल कलेजमा ३५ जनाको जाँच गर्दा कसैलाई पनि कोरोना देखिएन।

बाँकेमा अहिले ७९ जना सक्रिय संक्रमित रहेका छन्। उनीहरुमध्ये ७० जना होम आइसोलेसनमा र नौ जना अस्पतालमा रहेका छन्।

भदौ २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्