रोनाल्डोले सुरु गरे शानदार रुपमा म्यानचेस्टर युनाइटेडमा दोस्रो पारी

क्रिष्टियानो रोनाल्डोले शानदार रुपमा म्यानचेस्टर युनाइटेडमा आफ्नो दोस्रो पारी सुरु गरेका छन्।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले न्यूक्यासल युनाइटेडलाई ४–१ ले पराजित गर्दा रोनाल्डोले दुई गोल गरे । उनले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेट र ६२ औँ मिनेटमा गोल गरेका हुन् ।

यस्तै ब्रुनो फेर्नान्डेसले ८० औँ तथा जेसी लिङ्गार्डले इन्जुरी समयको दोस्रो मिनेट अर्थात ९२ औँ मिनेटमा गोल गरे ।

न्यूक्यासलका लागि म्यानक्वीलोले ५६ औँ मिनेटमा एक गोल फर्काए । जितसँगै म्यानचेस्टर युनाइटेड चार खेलबाट १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।

रोनाल्डोले अघिल्लो बसाईमा म्यानचेस्टर युनाइटेडका लागि गोल गरेको १२ वर्षपछि पुनः गोलको सुरुवात गरेका हुन् दोस्रो चरणमा । ३६ वर्षका रोनाल्डोले आफू खेलअघि निकै नर्भस रहेको बताएका छन् ।

उनले सन् २००९ मा युनाइटेड छोडेर रियल मड्रिडको यात्रा रोजेका थिए ।

खेलपछि पोर्चुगिज रोनाल्डोले भने, ‘मैले यो खेलमा दुई गोल गर्छु भन्ने लागेको थिएन । एक गोलसम्म आश गरेको थिएँ ।’

सन् २००३ देखि २००९ सम्म युनाइटेडमा रहँदा उनले २९२ खेलमा ११८ गोल गरेका थिए । त्यसपछिको १२ वर्षमा उनले रियल मड्रिड र युभेन्टसका लागि कुल ५५१ गोल गरे ।

भदौ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्