अट्वारी पर्व मनाउँदै थारु समुदाय

दाङ – दाङसहितका थारु बाहुल्य जिल्लामा आइतबार अट्वारी पर्व धुमधामका साथ मनाइँदै छ । भाद्र शुक्ल पक्षको पहिलो आइतबार अर्थात श्रीकृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबारलाई अट्वारी पर्वको रुपमा मनाउने चलन छ।

हरितालिका तीजपछिको शनिबार मध्यरातमा दर (भिन्सर्या) खाएर अट्वारी व्रतको तयारी सुरु हुन्छ। दुई दिनसम्म मानिने अट्वारी पर्वबारे थारू समाजमा विभिन्न मत एवं धार्मिक विश्वास रहँदै आएको छ।

द्वापर युगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एकजना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ।

अर्कोथरि मतअनुसार भीमले थारू राजा दंगिशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा, व्रत बस्ने चलन रहिआएको छ। दंगिशरण राजाले शत्रुमाथि विजय प्राप्त गरेकाले सोही दिनदेखि हरेक वर्ष भीमको पूजाआजा गर्ने चलन चलेको थारू समुदायको विश्वास छ।
अट्वारी पर्व थारु समुदायको दसैंपछिको ठूलो चाड भएकाले यसको महत्व धेरै रहेको थारु संस्कृतिका ज्ञाता शेरबहादुर चौधरी बताउँछन्।

‘चेलिबेटीको सम्मान गर्ने, सूर्य उपासनासँग जोडिएका भगवानहरुको पूजा र शक्तिशाली बलवान भीमको पूजा गर्ने चलन छ’, उनले भने, ‘यस पर्वमा मन प्रशन्न रहने, पारिवारिक समृद्धि हासिल हुने मान्यता छ।’

अट्वारी पर्वमा दाजुभाइ दिदीबहिनीको रक्षाको कामना गर्दै दिनभर निर्जल, निराहर व्रत बस्ने गर्दछन्। व्रत बसेका व्रतालुहरुले फलफूललगायतका पकवान खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग्ग राख्ने प्रचलन छ। त्यसरी छुट्याइएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीको रूपमा उपहार दिने गरिन्छ।

अट्वारीको दोस्रो दिन बिहान पतौला खरिया, खुर्मा, फुलौरी, भात, गब्दा र तामासहितका तरकारी र सात प्रकारका विभिन्न परिकार तयार गरी व्रतालुहरूले नुहाइधुवाइ पूजापाठ गर्ने गर्छन्।

तर पछिल्लो समय अट्वारीको मौलिकता लोप हुने अवस्थामा छ। यसको संरक्षण गर्न आवश्यक रहेको थारु कल्याणकारिणी सभा दाङ क्षेत्र नं. १ का अध्यक्ष चेतराम चौधरी बताउँछन्।

‘हाम्रा भाषा, कला संस्कृति लोप हुने अवस्थामा पुगेका छन्’, उनले भने, ‘यी लोक संस्कृति हाम्रा सम्पत्ति हुन्। यसको मौलिकता जोगाइराख्नु हामी सबैको जिम्मेवारी हो।’

अट्वारी पर्वमा थारु बाहुल्य रहेका जिल्लाका स्थानीय तहले सार्वजनिक बिदासमेत दिएका छन्। थारु समुदायले आफ्ना पर्व र परम्परा मौलिक तरिकाले मनाउने गर्छन्। तर पछिल्ला दिनमा संस्कृति मनाउने मौलिक शैलीमा परिवर्तन आउन थालेको छ।

भदौ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्