नेपालमा कोभिड प्यान्डेमिकको साप्ताहिक विश्लेषण (सेप्टेम्बर ५ देखि ११)

अनुशासित जीवनशैलीमात्र कोरोनालाई जित्ने हतियार

सन् २०२०को सुरुवातिसँगै सुरु भएको कोरोना प्यान्डेमिकको लहर दक्षिण एसियामा पछिल्लो पटक सन् २०२१को मार्च महिनाको अन्त्यतिर सुरु भएको थियो। उक्त लहर मे महिनाको मध्यतिर उच्च बिन्दुमा पुगी जुन महिनाको मध्यतिर केही नियन्त्रित भएको थियो।

उक्त लहरको बेला मुलतः भारत र नेपालको योगदान सबैभन्दा ठूलो रह्यो/ त्यति बेला दक्षिण एसियामा अधिकतम दैनिक ४२५००० सम्म नया संक्रमण देखा परेका थिए भने दैनिक ५००० जति दैनिक मृत्यु। उक्त लहरभन्दा अगाडि फेब्रुअरी महिनातिर दैनिक करिब २०००० नयाँ संक्रमण र ३०० मृत्यु मात्र देखिएका थिए।

तर  मे महिनाको लहरपछि जुलाई महिनाको उत्तरार्धमा पनि दक्षिण एसियामा सानो लहर आएको थियो जुन बेला बंगलादेश र श्रीलंकाको ठूलो भूमिका रह्यो। पछिल्लो अवस्थामा दक्षिण एसियामा समग्रमा कोरोना प्यान्डेमिकको अवस्था केही नियंत्रिक देखिएता पनि फेब्रुअरी महिनाताकाको जस्तो अझै भइसकेको छैन र हाल पनि औसतमा दैनिक ५५००० नया संक्रमण र ७०० दैनिक मृत्यु देखा परिरहेका छन्।

चित्र नं. १ ले दक्षिण एसियाको बिगत १५ दिनको समग्र दैनिक संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। पछिल्लो अवस्थामा दक्षिण एसियामा दैनिक संक्रमण र दैनिक मृत्यु दुवैमा क्रमिक कमी हुँदै आएको  देखिन्छ।

चित्र न. २ले दक्षिण एसियाका विभिन्न देशहरुमा पछिल्लो १५ दिनको दैनिक नया संक्रमणको प्रबृत्ति देखाएको छ। चित्रमा देखाइए जस्तै पछिल्लो अवस्थामा श्रीलंका र बंगलादेशमा दैनिक संक्रमणमा कमी हुँदै  आएको छ भने भारत, नेपाल र पाकिस्तानमा कोरोना सक्रमण स्थिर देखिन्छ।

त्यस्तै चित्र न.३ ले  दक्षिण एसियाका विभिन्न देशहरुमा पछिल्लो १५ दिनको दैनिक मृत्युको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइए जस्तै पछिल्लो अवस्थामा दक्षिण एसियाका सबै देशहरुमा दैनिक संक्रमणमा कमी हुँदै आएको छ।

यसरी पछिल्लो अवस्थामा दैनिक कोरोना संक्रमण र मृत्युमा कमी आउनुमा बंगलादेशको भूमिका प्रमुख देखिन्छ जहाँ बिगत एक महिना देखि दैनिक संक्रमण र मृत्युमा निकै कमी आएको छ। स्मरण रहोस्, बंगलादेशमा हालै मात्रै जुन महिनाको मध्यदेखि अगस्टको अन्त्यसम्म हालसम्मकै सबैभन्दा ठूलो कोरोना प्यान्डेमिक लहर आएको थियो जुन पछिल्लो समय बल्ल केही नियन्त्रित भएको देखिन्छ। त्यस्तै श्रीलंकामा पनि बिगत दुई हप्ता देखि दैनिक संक्रमणमा केही कमी आउन थालेको छ भने दैनिक मृत्यु पनि केही कम भएता पनि अझै यो उच्च नै देखिन्छ। पछिल्लो अवस्थामा दक्षिण एसियाको समग्र दैनिक मृत्यु दर औसतमा १.३% जति देखिन्छ भने श्रीलंकाको औसत दैनिक मृत्यु दर ४.५% जति रहेको छ। त्यस्तै अफघानिस्तानको पछिल्लो औसत दैनिक मृत्यु दर ८%, बंगलादेशको २.५%, भुटानको ०%, भारतको १%, माल्दिभ्सको ०.२%, नेपालको १.४% र पाकिस्तानको २.३% रहेको छ।

नेपालको दैनिक संक्रमणको कुरा गर्दा चित्र न. ४ले नेपाल र काठमाडौँ उपत्यकाको बिगत करिब दुई महिनाको दैनिक नया संक्रमण र सिंगो देशको दाँजोमा काठमाडौँको दैनिक संक्रमण अनुपात पनि देखाएको छ। चित्रमा देखाइए जस्तै श्रावणको उत्तरार्धमा दैनिक संक्रमणमा केही वृद्धि भएता पनि तत्पश्चात फेरि दैनिक संक्रमण केही घट्दै गएको देखिन्छ। बिगत दुई महिनामा सिंगो देश र काठमाडौँको दैनिक संक्रमण लगभग समानन्तररुपले अगाडि बढेको देखिएता पनि काठमाडौँ उपत्यकाको दैनिक संक्रमण सिंगो देशको दाँजोमा केही बढ्दै गएको कुरा चित्रमा पहेलो रेखाले देखाएको छ। श्रावण महिनामा ४०% भन्दा कम रहेको यस अनुपात भाद्र महिनामा ४०% भन्दा माथि देखिन्छ।

चित्र न. ५ ले दक्षिण एसियाली र अन्य केही देशहरुको पछिल्लो १५ दिनको जोन्स होप्किन्स विश्व विद्यालय (Johns Hopkins University) र आवर ओर्ल्ड इन डाटा (Our World in Data)का अनुसार, साप्ताहिक औसत  संक्रमण दरको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइए जस्तै पछिल्लो समय श्रीलंकाको संक्रमण दर अझै निकै उच्च देखिन्छ। अन्य दक्षिण एसियाली देशहरुको दैनिक संक्रमण दरमा भने क्रमसः कमी आएको देखिन्छ।

स्मरण रहोस्, बिगत २ महिनाभन्दा लामो समयदेखि श्रीलंकामा देखापरिरहेको हालसम्मकै सबैभन्दा ठूलो प्यान्डेमिक लहर पछिल्लो समय  बिगत करिब दुई हप्ता देखि कम हुँदै आएको देखिन्छ।

यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गतहप्ता सन् २०२१ सेप्टेम्बर ५ देखि ११ (बिसं २०७८  भाद्र २० देखि २६)  जम्मा ७ दिनको विश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उधृत गरिएका तथ्यांकहरु विभिन्न श्रोतहरुबाट लिइएका हुन् जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP), जोन्स होप्किन्स विश्वविद्यालय (Johns Hopkins University), WHO, ओर्ल्ड़ोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data), सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC) आदि। यस लेखको उद्ध्यश्य कोरोना सम्बन्धी तथ्यांकलाई सहिरुपमा पस्की विश्व र नेपालको  प्यान्डेमिकको सहि चित्रलाई पाठकवर्ग समक्ष पुर्याउनु हो।

गतहप्ता पनि प्यान्डेमिकका तथ्यांकहरु विश्वभरि र नेपालमा पनि  उताभचढ़ाभ हुने क्रम जारी रह्यो। निम्न केही तथ्यांकको आधारमा गएको हप्ता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरी हेरौँ।

दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने  नया संक्रमितहरुको संख्या हो। सन् २०२१ सेप्टेम्बर ५ देखि ११ (विसं २०७८  भाद्र २० देखि २६) जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण, नया संक्रमण र मृत्युको संख्या चित्र न. ६ मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परिक्षणलाई मात्रै गन्ति गरिएको छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ताको सात दिन, भाद्र २६ गते शनिबारसम्म, देशभरि जम्मा ८०३०  जना नया संक्रमित थपिई जम्मा संक्रमितको संख्या ७७६३२५ पुगेको छ। साप्ताहिक नया संक्रमण दुई हप्ताअघि १०२८७ थियो। त्यस्तै, साप्ताहिक मृत्यु पनि गत हप्ता ११८  रह्यो जुन दुई हप्ताअघि १२८ थियो। गतहप्ता जम्मा ६१२४१ पीसीआर परिक्षण गरियो जुन दुई हप्ताअघि ६६०६४ थियो।

गतहप्ता काठमाडौँ उपत्यकाको दैनिक संक्रमण समग्र नेपालको तुलनामा औसतमा ४१.३६% जति देखिएको छ जुन दुई हप्ताअघि ४३.३६% थियो। पछिल्लो समय कोरोना संक्रमण उपत्यका बाहिर कास्की, झापा, रुपन्देही, सुनसरी आदि ठाउंहरुमा बढेको देखिन्छ।

दैनिक संक्रमण (पोजिटिभिटी) दर (Positivity Rate)

प्यानडेमिकको मापदण्डहरु मध्ये पोजिटिभिटी (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएका मध्ये कति जनामा संक्रमण  पोजिटिभ देखियो भन्ने देखाउँदछ।

चित्र न. ७ ले  नेपालको गतहप्ताको दैनिक संक्रमण दर देखाएको छ जुन बिस्तारै केही घट्दै गएको देखिन्छ। गतहप्ता पोजिटिभिटी दर न्यूनतम ११.२४% देखि अधिकतम १८.८८% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर १३.४४% रह्यो जुन दुई हप्ताअघि १५.६% थियो। नेपालको कोरोना संक्रमण दर बिगत चार हप्तादेखि केही कम हुँदै गएको छ।

संक्षेपमा, पछिल्लो समय नेपालमा दैनिक संक्रमण, मृत्यु र संक्रमण दरमा कमी आइरहेको देखिन्छ जुन सुखद कुरा हो। गत वैशाख, जेष्ठ महिनाको प्यान्डेमिक लहर उच्च बिन्दुमा पुगेको बेलाको दाँजोमा हाल दैनिक संक्रमण र दैनिक मृत्युमा क्रमसः करिब ६०% र ८०% ले कमी आएको छ जुन आशा लाग्दो लक्षण हो। तर त्यति बेलाभन्दा हाल परिक्षण पनि करिब ५०%ले घटेको छ। त्यस्तै दक्षिण एसियामा पनि समग्ररुपमा दैनिक संक्रमण र मृत्युमा कमी आएको छ। तर त्यसो भन्दैमा बिगतको तितो सत्यलाई बिर्सेर लापरबाही गर्ने बेला पक्कै पनि भएको छैन। पर्वको बेला भिडभाड बढ्ने समयमा निशेधाज्ञा हटाउनु सहि कुरा होइन, बरु नियन्त्रित तथा बैज्ञानिक निशेधाज्ञा हुनु जरुरी थियो। सरकारी नियम जेसुकै भए पनि नागरिकले आफ्नो तर्फबाट कडाईका साथ होसियारी तथा साबधानीका उपाय अपनाउनु पर्ने देखिन्छ। आफू बच्ने उपाय मात्रै गरे पनि त्यसले अरुलाई पनि बचाउन सकिन्छ।

प्यान्डेमिकको यस्तो नाजुक र अनिश्चित अवस्थामा अनुशाषित जीवनशैली नै एक मात्र यस्तो हथियार हो जसले विश्वलाई कोरोनामुक्त बनाउन सक्दछ। तसर्थ तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसाथ गर्नु पर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दुरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भिडभाड नगर्ने आदि साबधानीका कुराहरु कडाईका साथ अपनाउनु पर्ने देखिन्छ। पछिल्लो समय अन्य देशहरुमा संक्रमण फेरि बढ्ने प्रबृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिदैन।

भदौ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्