रेमिट्यान्स वालेट ट्रान्सफर प्लेटफर्म सार्वजनिक

काठमाडौँ – नेपाल पेमेन्ट सोलुसन प्रालिले सिटी एक्सप्रेस मनी ट्रान्स्फरसँग सहकार्य गरेर रेमिट्यान्स वालेट ट्रान्सफरका लागि प्लेटफर्म सार्वजनिक गरेको छ।

यस कार्यका लागि नेपाल पेमेन्ट सोलुसन प्रालिका चिफ एक्सपेरियन्स अधिकृत प्रताप श्रेष्ठ र सिटी एक्सप्रेसका चिफ बिजनेश अफिसर श्याम लामिछानेले आ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका हुन्।

यो प्रयासबाट सेवाग्राहीले रेमिट्यान्सको क्षेत्रमा आफू अनुकूल जहाँकहीँबाट कुनै पनि समय जुनै पनि वालेटमा विद्युतीय रेमिट्यान्स कारोबार गर्नका लागि सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ।

यो प्रणालीले सेवाग्राहीलाई डिजिटल रेमिट्यान्सको प्रविधि प्रदान गर्ने र भौतिक रेमिट्यान्सभन्दा धेरै सहज, छिटो र सुरक्षित पनि हुने कम्पनीले जनाएको छ।

रेमिट्यान्स वालेट ट्रान्सफरको बढ्दो प्रयोगसँगै रेमिट्यान्स कम्पनी र बैंक तथा वित्तीय संस्थाहरु आफ्नो प्लेटफर्म तथा ग्राहकहरुलाई सशक्त बनाउन लागिपरेका छन्।

नेपाल पेमेन्ट सोलुसनले बैंक तथा वित्तीय संस्थाहरु तथा विभिन्न भुक्तानी सेवा प्रदायकको नेटवर्क तयार गरी भुक्तानी एवं ट्रान्स्फरको क्लियरिङ तथा सेटल्मेन्टको कार्य गरी आफ्नो सेवा विस्तार गरिरहेको छ। कम्पनीले आईएमई पे, प्रभु पे, खल्ती, नमस्ते पे जस्ता भुक्तानी सेवा प्रदायकहरुलाई पनि इन्टिग्रेट गरी थप सेवा दिने तयारीमा रहेको जनाएको छ।

भदौ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्